सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सोमबार भैरहवाबाट काठमाडौं जानुपर्ने थियो। प्यूठानको गौमुखी गाउँपालिकामा आईतवारदेखि संचालित मिडिया सम्मेलनको उद्घाटन गरेर गुल्मी, अर्घाखाँची, कपिलवस्तु र रुपन्देहीहुँदै आएका मन्त्री बाँस्कोटा सँगै नेकपाका नेता सूर्य थापा पनि थिए।
भैरहवा–काठमाडौंको लागि बुद्ध एयरको साँझ ६ बजेको टिकट लिएका बाँस्कोटा ६ बजेसम्म गौतमबुद्ध विमानस्थल भैरहवामा जसरी पनि पुग्नु थियो। बाटोमा खाजा खाँदा धेरै समय लाग्ला र जहाज छुट्ला भन्ने डरले बाटोमा दालमोठ, चाउचाउ र पानी खाँदै आएका मन्त्री बाँस्कोटा विमानस्थलमा त समयमा पुगे, तर जहाज चढ्न पाएनन्।
‘पाँच वटा जिल्ला घुम्दै आउँदा बाटोमै धेरै समय लाग्यो, जहाज छुट्ने डरले अर्घाखाँचीको चाक्ला आईपुगेपछि दालमोठ, चाउचाउ र पानी किनेर गाडीमै खाँदै आयौं।’ यात्रामा मन्त्री बास्कोटा संगै रहेका थापाले शुरुमै यात्राको प्रसंगमा सुनाएका थिए।
बाटोबाटै जहाज उडेको र अवतरण गरे नगरेको जानकारी लिँदै आएका उनीहरूलाई कहिले जहाजको उडान केही ढिलो भएको जानकारी गराईन्थ्यो त कहिले अब उड्दै छ भनिन्थ्यो। विमानस्थलमै लामो समयको पर्खाईपछि विमान नउड्ने जानकारी दिईयो र बुद्ध एयर आफैंले होटल सम्म छोडिदियो।
फर्किएर होटलमा आईपुगेका के थिए, फेरि जहाज आजै उड्दै छ भन्ने खबर आयो। उनी हतारहतार होटलबाट विमानस्थल पुगे। तर, उनी पुग्दा विमान उड्यो भन्ने जानकारी दिईयो। अन्ततः उनी सोमबार रुपन्देहीमै बसे।
सञ्चारमन्त्री रुपन्देहीमा रहेको मौका छोपी प्रेस चौतारी र प्रेस सेन्टर रुपन्देहीले मंगलबार मणिग्राममा पत्रकार भेटघाट कार्यक्रम राख्यो।
पत्रकार भेटघाटको शुरुमै आफ्नो रुपन्देही बसाईको सन्दर्भ कोट्याउँदै मन्त्री बास्कोटाले बुद्ध एयरले आफूलाई दिएको धोकाबारे आक्रोश पोखे।
‘यो बुद्ध एयर भन्नेले गर्नु गर्यो, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने पूर्व जानकारी नै नदिई उड्नेबेलामा जहाज उड्दैन भन्यो, उनले ठट्यौली शैलीमा भने, ‘लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो अवस्था छ।’
सरकारको पछि मात्र नलागी यात्राको क्रममा यात्रुहरु ठगिएका विषयलाई पनि उठाउन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे। ‘तपाईंहरू सधै सरकारको पछि लाग्नुहुन्छ, यस्ता विषयलाई पनि उठाउने गर्नुहोस्।’
‘तपाईहरु पनि विज्ञापनमा मात्रै नअल्मिनु होला, विज्ञापन पनि त्यसले तपाईंहरुलाई के दिन्छ.........खैर छोडिदिउँ ती कुरा, एयरलाईन्सको कारणले जहाज छुट्यो, जहाज छुटेका कारण आज भेट भयो,’ उनले भने।
बिना योजना रुपन्देही बस्नुपरेको प्रशंग कोट्याएका मन्त्री बाँस्कोटाले यसलाई समाचारको विषय बनाउनैपर्ने नभएको बताए पनि यति प्रसंग कोट्याउनुको उद्देश्य भने समाचारको विषय बनोस् भन्ने नै थियो।