संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस पाँच न्यायाधीशविरूद्ध उजुरी आह्वान गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध पनि एउटा उजुरी दर्ता भएको छ।
प्रधानन्यायाधीश राणाविरूद्ध दर्ता भएको उजुरीमा उनीमाथि अनियमितताको आरोप लगाउँदै सिफारिस खारेज गर्न माग गरिएको छ। सर्वोच्चमा न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्छन्।
यसअघि राणालाई प्रधानन्यायाधीश बनाउन नहुने दलिलसहित उजुरी गर्ने व्यक्तिले नै यसपटक पनि उजुरी दिएका हुन्। ‘अनियमितता गर्नेबाट भएको सिफारिस रद्द गरिपाउँ,’ उजुरीकर्ताले लेखेका छन्।
ती उजुरीकर्ताले चोलेन्द्रशमशेरले झगडियाको मुद्दा हेरेको, भ्रष्टाचार गरेको लगायत आरोप लगाएका छन्। वीरगन्जको छपकैया पोखरी व्यक्तिको नाममा दर्ता गराइएको विषयसमेत उजुरीमा छ।
सर्वोच्चमा सिफारिस न्यायाधीशका हकमा भने पाँचमध्ये दुई जनाविरुद्ध उजुरी परेको छ। सर्वोच्चमा प्रस्तावित उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र वरिष्ठ अभिवक्ता हरि फुयाँलविरुद्ध उजुरी परेको हो।
वरिष्ठ अधिवक्ता शम्भु थापा र पूर्ण राजवंशीले न्यायाधीश नियुक्ति प्रक्रियाप्रति नै आपत्ति जनाउँदै सैद्धान्तिक उजुरी दिएका छन्।
न्यायाधीशमा प्रस्तावित फुयाँललाई एक उजुरीकर्तले झूटा प्रमाण प्रयोग गरी आफ्नो सम्पत्ति नगरपालिकाको नाममा गरिदिएको आरोप लगाएका छन्।
ती उजुरीकर्ताले चितवनस्थित पदमपुरको आफ्नो जग्गा नगरपालिकाको नाममा कायम गर्न झूटा विवरण पेस गरेको आरोप लगाएका छन्। ‘खेतीपाती भइरहेको र निर्माणाधीन घर भएकै जग्गामा वडा कार्यालयको बोर्ड टाँस्ने अयोग्य र असक्षम व्यक्तिलाई न्यायाधीश नबनाऊँ,’ धादिङ, सल्यानटारका उजुरीकर्ताले लेखेका छन्।
त्यस्तै, पाटनका मुख्य न्यायाधीश ढुंगानालाई ६० लाख घुस खाएको आरोप छ। पञ्चकन्या ग्रुपमा कार्यरत आफ्ना श्रीमानलाई न्यायाधीशले घुस खाएर जेल पठाएको उजुरीकर्ताले दाबी गरेकी छन्।
‘मुख्य न्यायाधीशका रूपमा ढुंगानाले तीनपटक एउटै न्यायाधीशलाई बेन्च तोकेका थिए,’ उजुरीकर्ताले लेखेका छन्, ‘न्याय परिषदमा समेत उजुरी गरेको तर छलफलमा ल्याइएन।’
ढुंगानाविरुद्ध पुनरावेदन अदालत पाटनका रजिस्ट्रार हुँदा आर्थिक प्रलोभनमा परी आफ्नो बढुवाको अंक घटाइदिएको आरोप पनि अर्का एक उजुरीकर्ताले लगाएका छन्।
ढुंगानालाई लक्ष्य गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले समेत सैद्धान्तिक उजुरीमार्फत् टिप्पणी गरेका छन्।
‘उच्च अदालतका केही माननीय मुख्य न्यायाधीशज्यूहरू पनि सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनुभएको छ। बेन्च फिक्सिङ र केस सपिङजस्ता विकृति न्यायालयमा बारम्बार सुनिने गरेको अवस्थामा यसले के कस्तो परिस्थिति सिर्जना हुन सक्छ?’ उजुरीमा भनिएको छ।
थापा र राजवंशीले राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्त गर्ने प्रचलन मौलाएको पनि उजुरीमा उल्लेख गरेका छन्। न्यायाधीश सम्मेलनको घोषणापत्रमा उल्लिखित योग्यताको विषय उठाउँदै उनीहरूले सिफारिस भएकाहरूको योग्यतामाथि प्रश्न गरेका छन्।
सर्वोच्चमा सिफारिस उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र मनोजकुमार शर्माविरुद्ध कुनै उजुरी परेको छैन।
न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग समितिले बुधबार छलफल गर्दैछ। न्यायाधीशको सुनुवाइ भने सम्भवत: बिहीबार हुनेछ।