प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा विभिन्न शासकीय अव्यवस्थाका कारण मुलुक पछाडि परेको बताएका छन्।
‘हामी विगतमा भएको शासकीय अब्यवस्थाका कारण पछाडि पर्यौं अहिले जनतको शासन व्यवस्था ल्याएका छौं अब अगाडि बढ्छौं’, प्रधानमन्त्रीले भने ।
बुटवलमा आयोजित बुटवल जितगढी उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको बाटोमा अगाडि बढेको र अब कतै नअल्मलिने दाबी गरे।
प्रधानमन्त्रीले केही वर्षभित्रै मुलुकको पहिचान फेरिने बताउँदै पुर्खाहरूको ‘सर्वे भवन्तु सुखिन सर्वेसन्तु निरामया ......’ को अपेक्षा पूरा हुने दाबी गरे।
संघीयता प्रणाली नयाँ भएकोले तालमेल मिलाउन र अभ्यस्त हुन समय लागेको बताउँदै अब संरचनाहरू तयार भएकोले सबै तहका सरकारहरू विकास निर्माणमा जुटेको प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीले बिप्लव नेतृत्वको नेकपालाई संकेत गर्दै जनताले बनाएको संविधानविरूद्ध लागेको आरोप लगाए ।
‘हामीले निरंकुशता फालेर लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। जनताको संविधान ल्यायौं, जनप्रतिनिधि चुनेका छौं अब भाइ बहिनीहरू त्यतातिर लाग्न आवश्यक छैन’ प्रधानमन्त्रीले सुझाए ।
जितगढीमा निर्मित कर्णेल उजिर सिंहको पूर्णकदको शालिक अनावरण गरेका प्रधानमन्त्रीले नेपाली बहादुर र विद्धान पुर्खाका सन्तती रहेको बताए।