तपाईंहरूले आफ्ना छोराछोरीलाई स्कुल भर्ना गर्न यो वर्ष कति पैसा खर्च गर्नुभयो?
सरकारी स्कुलमा पढाउनेले भन्नुहोला, पैसै लागेन। निजी भए जवाफ आउँछ, हजारदेखि लाखसम्म।
लमजुङमा एउटा यस्तो सरकारी स्कुल छ, जहाँ छोराछोरी पढाउने अभिभावकले उल्टै पैसा पाउँछन्। त्यो पनि महिनाको पाँच सय दरले।
लमजुङ दोर्दी गाउँपालिका-१, भारतेको महादेव आधारभूत विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्न थालेपछि भएका विद्यार्थी टिकाउन र नयाँलाई प्रोत्साहित गर्न पैसा दिने निर्णय गरिएको हो।
गएको वर्ष यो स्कुलमा २६ जना पढ्थे। अहिले २४ मा झरेको छ। यो संख्या थप नघटोस् भनेर प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक मिलेर मासिक पैसा दिने नियम बनाएका हुन्।
पढ्न आएबापत् विद्यार्थीले पाउने पैसा खाजामा खर्च होस् भन्ने विद्यालयको अपेक्षा छ।
विद्यार्थी घटेपछि चिन्तित प्रधानाध्यापक वेदप्रसाद अधिकारीले सोमबार अभिभावक भेला राखेका थिए। भेलामा जनप्रतिनिधिदेखि शिक्षाप्रेमी र गाउँका गन्नेमान्ने थिए। उनीहरूले सामूहिक रूपमा 'विद्यार्थी टिकाउन मासिक ५ सय दिने' निर्णय गरे।
पैसा दिने निर्णयले नयाँ विद्यार्थी भर्ना गर्न आउने सम्भावना भने छैन। गाउँमा विद्यालय नजाने बालबालिका नै छैनन्। ‘यहाँ २ सय घर होलान्, तीमध्ये आधा घरका ढोका बन्द छन्,’ उनले भने, ‘अहिले भएका विद्यार्थी पनि छिमेकका अरू स्कुलले लैजालान् कि भन्ने पो चिन्ता छ।’
अहिले केन्द्रदेखि गाउँसम्म देशव्यापी रूपले विद्यार्थी भर्ना अभियान चलेको छ। सरकारले नै वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्दैछ। नेतादेखि समाजसेवी समेतले गाउँका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर उनीहरूलाई स्कुल भर्ना गराइरहेका छन्।
शैक्षिक सत्र सुरु भएको दस दिनमा यो विद्यालयमा भने एक जना पनि भर्ना हुन आएका छैनन्।
‘तल्ला कक्षामा विद्यार्थी नै छैनन्। ४ र ५ कक्षामा दुई जना छन्,’ प्रधानाध्यापक अधिकारीले सेतोपाटीसँग भने, ‘६, ७ र ८ मा गरी २२ जना छन्।’
कक्षा ६ देखि ८ सम्म पढ्न छिमेकका चारवटा विद्यालयबाट यहाँ बालबालिका आउँछन्।
विद्यार्थी संख्या नघटोस् भनेर प्रोत्साहन निम्ति पैसा दिने निर्णय गरेको अधिकारीले बताए। ‘यो गाउँ दुर्गममा छ। मान्छे सुगम खोज्दै सहर पसे। त्यसैले, बर्सेनि विद्यार्थी घट्दै गएका छन्,’ उनले भने, ‘शिक्षकहरू गुणस्तरीय शिक्षा दिन सक्ने खालका हुनुहुन्छ। तै विद्यार्थी घट्दै गए। भएकालाई टिकाउन सकिन्छ कि भनेर पैसा दिन खोजेका हौं।’
विद्यार्थी घटेपछि सरकारले नजिकका दुई विद्यालय गाभ्छ। यहाँ भने नजिकको सूर्योदय माध्यमिक विद्यालयमा पनि विद्यार्थी बर्सेनि घटेका छन्। फेरि विद्यालय गाभ्दा छिमेकका जालपादेवी प्रावि, इन्द्रपुरी प्रावि, सर्वोदय प्रावि र दीपेन्द्रज्योति प्राविबाट ५ कक्षा पास गरेका विद्यार्थी मर्कामा पर्छन्। उनीहरूलाई विद्यालय आउजाउ गर्न टाढा पर्छ।
महादेव आधारभूत विद्यालयमा विद्यार्थी मात्र होइन, शिक्षक पनि घटेका छन्। ६ जना शिक्षक भए पनि अहिले केही दरबन्दी खाली भइसकेको छ। ‘विद्यार्थी छैन, दरबन्दी पाउँदैनौं भनेका छन्,’ प्रधानाध्यापक अधिकारीले भने।
विद्यार्थी टिकाउन पैसो दिने बताएको विद्यालयले यसको निम्ति आर्थिक स्रोत भने कहाँबाट जुटाउँछ?
प्रधानाध्यापक अधिकारीले यसको बेलिविस्तार लगाए।
२०५१ सालमा यो विद्यालयलाई निमावि बनाउने भनेर अभिभावकले चार लाख रूपैयाँ उठाएका थिए। त्यो पैसा विद्यालयमा मूलकोष स्थापना गरेर राखियो। ५० हजार निमावि खोल्न धरौटी बुझाइयो। अहिले पनि त्यो पैसा धरौटीमै छ।
'बाँकी ३ लाख ५० हजार रूपैयाँ व्याज कम आउला भनेर बैंकमा राखिएन। गाउँलेलाई वार्षिक १८ प्रतिशतका दरले व्याजमा दिएका छौं। व्याजमा लगाएको पैसा पनि मूलकोषमै जम्मा भइराखेको छ,' उनले भने, 'सालाखाला चार लाख रुपैयाँ विद्यालयमा रहेकाले त्यही पैसाबाट विद्यार्थीलाई मासिक ५ सय दिने निर्णय गरेका हौं।'
यो विद्यालय विसं २०१० सालमा स्थापना भएको हो। ०५१ सालमा निमावि चलाउँदा २ सय विद्यार्थी पुगेका थिए। कक्षा ८ मा मात्रै ५२ जना।
अहिले सिंगो विद्यालयमा २४ विद्यार्थी छन्। ‘विद्यालयमा मौजुदा रकमले कम्तिमा चार वर्ष विद्यार्थीलाई पैसा दिन पुग्ने रहेछ,’ अधिकारीले भने, ‘यो वर्ष पैसा दिएर हेरम्, कत्तिको प्रभावकारी हुने रहेछ।’
अब विद्यालयमा पढ्ने २४ जनाले मासिक पैसा पाउँछन्। यसले कोषबाट मासिक १२ हजार रुपैयाँ घट्दै जान्छ। दोर्दी गाउँपालिका-१ ले पनि विद्यार्थी टिकाउन दिवा खाजा लागू गर्ने कार्यक्रम ल्याएको छ। त्यसले पनि विद्यालयलाई थप सहयोग पुर्याउँछ।