नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले वर्तमान सरकार भ्रष्ट प्रशासनको कारण असफल भइरहेको बताएका छन्।
सरकारले समाजवाद उन्मुख नीति लिए पनि माफिया र भ्रष्ट प्रशासनको जालोमा फस्दा सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भइरहेको दाबी गरे ।
बुटवलमा बिहिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री सिंहले सरकारले भ्रष्टाचार, हत्या हिंसा र बलात्कारका घटना रोक्न नसकेको र त्यस्ता अपराधमा संलग्नहरूलाई पनि कारबाही गर्न नसक्दा आफ्नो उचाइ घटाउँदै लगेको बताए ।
राष्ट्रियताप्रति लिएको अडानकै कारण सत्तासिन दल नेकपाले बहुमत प्राप्त गरेपनि सरकारमा पुगेपछि भने सरकार राष्ट्रियता पक्षमा पनि कमजोर देखिएको नेता सिंहले बताए ।
उनले यसअघिको सरकारले ल्याएका राष्ट्रियताको विषयसँग जोडिएका कतिपय मुद्दाहरूमा अडान राखेको दलकै नेतृत्वको सरकारले नागरिकता विषयलाई खुकुलो बनाएर राष्ट्रियताको अडान त्याग्दै गएको आरोप लगाए।
महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताका विषयमा भने सरकारको नीति स्पष्ट भएको बताए। कतिपय शक्ति हिन्दु राज्य स्थापना गर्ने नाममा राजतन्त्र फर्काउने चलखेलमा लागेको भन्दै नेपाल धर्मनिरपेक्ष घोषणा भइसकेकोले हिन्दु राज्य हुनै नसक्ने बताए।
उनले वर्तमान सरकारलाई असफल बनाउनु भनेको गणतन्त्रलाई कमजोर बनाएर प्रतिगामी तत्वलाई स्थान दिनु भएकोले आफ्नो पार्टी सरकारलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
नेता सिंहले सरकारको नेतृत्व गरेको नेकपाको एकतालाई आफ्नो पार्टीले स्वागत गरेको उल्लेख गर्दै तर एकीकरण कम्युनिस्ट पार्टीको एकीकरण भने नभएको बताए। उनले तत्कालीन एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार त्यागिसकेको भन्दै नेकपा संसदीय स्वाद र शक्तिमा रुमलिसकेको बताए ।
नेता सिंहले सरकारले मुलुकको विखण्डनको पक्षमा लागेको सिके राउत समूहलाई वार्तामार्फत् मुलधारको राजनीतिमा ल्याउनु सकारात्मक रहे पनि सिके राउत समूहलाई मूलधारमा आएको हो भन्नेमा भने आशंका रहेको बताए।
उनले जनमत संग्रहको माध्यमबाट तराई क्षेत्रलाई नेपाललाई अलग गराउने सिके राउतको अन्तिम योजना रहेको बताए। उनले संघीयताले मुलुकलाई बलियो नभइ कमजोर बनाउने भएकाले संघीयता खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।