केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ६.८१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।
योसँगै नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुगेको छ।
भुँइचालो पछि आर्थिक वर्ष २०७३/७४ मा ७.७४ प्रतिशतले बढेको थियो। त्यसपछिको वर्ष २०७४/७५ मा ६.३ प्रतिशतले बढेको अर्थतन्त्र यो वर्ष ६.८१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
नेपालको आर्थिक बृद्धिदरको इतिहासमा पहिलोपटक लगातार तीन वर्ष ६ प्रतिशत माथिको बृद्धि भएको हो।
चालु वर्षको नौ महिना भित्र देशको आर्थिक गतिविधिका आधारमा आर्थिक बृद्धिदरको प्रक्षेपण विभागले गरेको हो।
अर्थतन्त्रको संरचनामा कृषि तथा वन, माछा तथा खानी उत्खनन् क्षेत्रको हिस्सा २७.५९ प्रतिशत रहेको छ। यो क्षेत्रको बृद्धिदर अघिल्लो वर्षको तुलनामा ५.१० प्रतिशतले हुने विभागको अनुमान छ। अघिल्लो वर्ष यो क्षेत्रको २.८७ प्रतिशतले बढेको थियो।
थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियलस्टेट तथा व्ययवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक सेवा हुने सेवा क्षेत्रको वृद्धिदर ७.२९ प्रतिशतले बढेको छ।
५७.८१ प्रतिशत योगदान भएको यो क्षेत्रमा अघिल्लो वर्षको तुलनामा सामान्य बृद्धि देखिएको छ। अघिल्लो वर्ष ७.१६ प्रतिशतले बढेको थियो।
गैर कृषि क्षेत्र (उद्योग, निर्माण, ग्याँस, विद्युत तथा पानी) को योगदान १४.६० प्रतिशत छ। यो वर्ष यो क्षेत्रको बृद्धिदर ८.१० प्रतिशतले हुने अनुमान गरिएको छ। अघिल्लो वर्ष यो क्षेत्रको बृद्धि ९.६२ प्रशितले भएको थियो।
विभागका अनुसार यो वर्ष राम्रो मौसमका कारण धान उत्पादनमा भएको बृद्धिसँगै कृषि क्षेत्रमा दोब्बर बृद्धिले त्यसको प्रभाव समग्र बृद्धिदरमा परेको छ। कृषि तथा वन क्षेत्रको अर्थतन्त्रमा २६.५० प्रतिशत योगदान रहेको छ।
यो वर्ष कृषि क्षेत्रको बृद्धिदर ५.०३ प्रतिशतले भएको छ। अघिल्लो वर्ष यो क्षेत्रको बृद्धिदर २.७९ प्रतिशतले भएको थियो। यसमा सबैभन्दा धानको मूल्य अभिबृद्धि ८.८९ प्रतिशतले भएको छ। दलहनबाहेक अरू सबै उत्पादनको बृद्धि भएको छ।
मत्स्यपालनको बृद्धि यो वर्ष ५.०२ प्रतिशतले भएको छ। अघिल्लो वर्ष यसको बृद्धि ६ प्रतिशतले भएको थियो।
त्यस्तै खनिजजन्य उत्खनन् क्षेत्रको बृद्धि यो वर्ष ९.४७ प्रतिशतले हुने अनुमान छ। अघिल्लो वर्ष यसको बृद्धिदर ८.८८ प्रतिशत थियो।
उत्पादन क्षेत्रको बृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिनो अनुमान गरिएको छ। अघिल्लो वर्ष ९.१७ प्रतिशतले विस्तार भएको यो क्षेत्रमा ५.७८ प्रतिशतले मात्र बढ्ने अनुमान विभागको छ।
विद्युत, ग्याँस र पानीको उत्पादन यो वर्ष १२ प्रतिशतले बढ्ने अनुमान विभागको छ। जुन अघिल्लो वर्ष ९.८० प्रतिशतले बढेको थियो।
निर्माणको बृद्धिदर पनि यो वर्ष कम हुने बताइएको छ। अघिल्लो वर्ष १०.०२ प्रतिशतले बढेको यो क्षेत्रमा यो वर्ष ८.९४ प्रतिशतलेमात्र बृद्धि हुने विभागको अनुमान छ।
त्यस्तै कुल ग्राहस्थ उत्पादनमा १४.३७ प्रतिशत योगदान भएको थोक तथा खुद्रा व्यापारको बद्धिदर पनि यो वर्ष १०.८९ प्रतिशतले हुने अनुमान गरिएको छ।
कृषिजन्य उत्पादनमा आएको बृद्धि, उद्योग क्षेत्रको उत्पादन र आयातमा भएको बृद्धिले व्यापार तथा बजारलाई पनि बढाएको छ।
त्यस्तै होटल तथा रेष्टुरेन्ट क्षेत्रको ८.३३ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ। पर्यटक आगमनमा उत्साहजनक बृद्धि भएकाले अर्थतन्त्रमा २.०५ प्रतिशत हिस्सा भएको यो क्षेत्रमा निरन्तर बृद्धि कायमै रहने विभागको प्रक्षेपण छ। तर अघिल्लो बर्षको तुलनामा यसवर्ष वृद्धिदरमा भने गिरावट आएको छ। अघिल्लो बर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ९.७७ वृद्धिदर कायम भएको थियो।
यातायात तथा सञ्चार क्षेत्रको बृद्धिदर यो वर्ष ५.९० प्रतिशतले बढ्ने छ। अघिल्लो वर्ष यो क्षेत्रमा ४.६४ प्रतिशतले बृद्धि भएको थियो।
वित्तीय मध्यस्थता क्षेत्रमा यो वर्ष ६.१८ प्रतिशतले बृद्धि हुने छ। यो बृद्धिदर पनि अघिल्लो वर्षको तुलनामा न्यून हो। अघिल्लो वर्ष यो क्षेत्रमा ६.१८ प्रतिशतले बृद्धि भएको थियो।
घरजग्गा क्षेत्रको बृद्धिदर यो वर्ष ६.१२ प्रतिशतले हुने प्रक्षेपन छ। अघिल्लो वर्ष यसमा ५.२४ प्रतिशतले बद्धि भएको थियो।
सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको बृद्धिदर पनि अघिल्लो वर्षको जस्तै रहेको छ। अघिल्लो वर्ष ५.०७ प्रतिशतले बढेको यो क्षेत्र यो वर्ष ५.५६ प्रतिशतले हुनेछ।
शिक्षा क्षेत्रको पनि यस्तै बृद्धिदर रहेको छ। अघिल्लो वर्ष ५.०२ प्रतिशतले बढेको क्षेत्र यो वर्ष ५.१७ प्रतिशतले बढ्ने अनुमान छ।
स्वास्थ्य र सामाजिक क्षेत्रको बृद्धिदर पनि सामान्य रहेको छ।