रौतहटको राजपुरमा कांग्रेसले आयोजना गरेको आमसभामामा सभापति शेरबहादुर देउवा अनुपस्थित रहे।
कार्यक्रममा पनि आयोजकले सोचे जस्तो न नेता आए न जनता सहभागी भए। कार्यक्रममा पार्टीका तीन शीर्ष नेता सभापती शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई प्रमुख वक्ता राखिएको थियो। तर, सभामा सभापती देउवा सहभागी भएनन्।
देउवा सहभागी नभएपछि नेता कार्यकर्तासमेत खिन्न देखिन्थे।
‘तीन नेतालाई एउटै मञ्चमा राखेर पार्टी एक छ भन्ने सन्देश दिन सभा आयोजना गरिएको दाबी आयोजकले गरे पनि त्यो सम्भव देखिएन’, एक नेताले भने।
सभामा देउवासँगै उनी निकटका जिल्ला तहका नेता कार्यकर्तासमेत उपस्थित भएनन्। देउवा निकट मानिएन कांग्रेसबाट जितेका मेयरहरू समेत सभामा गएनन्।
यसैबीच जिल्ला अध्यक्ष कृष्ण यादवले पार्टीको आधिकारीक कार्यक्रम नभएकाले नगएको प्रतिक्रिया दिए।
जिल्ला समितिलाई थाहा नै नदिइ कार्यक्रम गरेकाले नगएको उनको भनाइ थियो।
कतिपयले आमसभा गर्ने समय नमिलेको बताए। धेरै मानिस कृषि कर्ममा ब्यस्त रहेको समयमा आम सभा राख्न नहुने उनीहरूको भनाई थियो।
अत्याधिक गर्मीमा कारण सोचे जस्तो मान्छे सभामा थिएनन्। मञ्च व्यवस्थापनमा मात्रै १५ लाखभन्दा बढी खर्च गरिएको थियो। एक सय भन्दा बढी बसको व्यवस्था थियो। सयौं जीपको व्यवस्था थियो।
यद्यपी आयोजकले एक लाख मानिस सहभागी भएको दाबी गरे पनि सभामा मुस्किलले ५ हजार हाराहारी मानिस सहभागी थिए।
कार्यक्रममा गएका बसहरू खाली जस्तै देखिन्थे। रौतहटका पार्टी सभापति यादव र सांसद आलम बिच गुटको चरम विवाद छ।
कतिपय नेता कार्यकर्ताले तीन जना केन्द्रीय नेताहरुको फोटो भन्दा सांसद आलमले आफ्नो फोटो ठूलो राखेर व्यानरमा प्रचार गरेको प्रतिकृया दिएका छन्।
स्वागतद्धार, व्यानर र प्रचार सामाग्रीमा कांग्रेसका स्वर्गिय नेताहरुको फोटो त्यसपछि सभापती देउवा, बरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको फोटा राखिएका थिए।
यता जिल्ला सभापति कृष्णा यादवले पाटीको नियम बिपरीत कार्यक्रमम गरेकाले आफू नगएका दाबी गरे।
केही महिनाअघि नेकपाले रौतहटको गरूडामा आमसभा गरेर पार्टीका शीर्ष नेताहरू सहभागी गराइ मधेशमा शक्ति प्रर्दशन गरेपछि नेपाली कांग्रेसले पनि रौतहटमा आमसभाको आयोजना तयारी गरेको थियो।
सभापति देउवा आउने पक्का भएपछि काठमाडौं सिमराको प्लेनको टिकट व्यवस्था गरिएको थियो। शनिबार बिहानसम्म टिकट रद्ध गरिएको थिएन।
कार्यक्रमका वक्ताहरुले पार्टी एक भएर जानुपर्ने बताए। पार्टी एक नहुँदा कमजोर हुने धारणा राखेका थिए।