प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सन्तुलित विकासमा बजेट खर्च गर्ने गरी प्रदेश सरकार अघि बढेको बताएका छन्। प्रदेशले पालिका, जिल्ला र निर्वाचन क्षेत्रस्तरमा बजेट विनियोजन गरेर सन्तुलित विकासको मोडल अघि बढाएको उनले बताए ।
जिल्ला समन्वय समिति रोल्पाले सदरमुकाम लिवाङमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै मन्त्री पोखरेलले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक पालिकामा खेल मैदान र बहुउद्देश्यीय भवन बन्ने गरी बजेट विनियोजन गरेको बताए। आगामी आर्थिक वर्षको बजेट पनि राम्रो नतिजा दिने ढंगको आउने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे ।
उनले प्रदेशको आवधिक योजना तयार भएको र आगामी वर्षको बजेट यही आवधिक योजनाले तय गरेको प्राथमिकताका आधारमा आउने भन्दै सोहि अनुरुप अगाडी बढ्न स्थानीय तहहरुलाई आग्रह गरे।
स्थानीय तहलाई पनि आवधिक योजना बनाएर अघि बढ्न र बजेट छर्ने भन्दा नतिजा दिने हिसाबले विनियोजन गरेर अघि बढ्न उनले आग्रह गरे । ‘समपुरक अनुदान अन्तर्गत बजेट विनियोजन गरेर अघि बढ्नुस, त्यसो गर्दा तपाईहरुले जति पैसा त्यसमा राख्नुहुन्छ, त्यत्ति नै प्रदेश सरकारले दिन्छ’, उनले भने, ‘चालु आर्थिक वर्षको बजेट बनाउँदा कतिपय पालिकाले यतातिर ध्यान नदिदा समपुरक अन्तर्गत पाउनुपर्ने बजेट पाउन सकेनन् ।’
मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरवको आयोजना पाभल्पा—रोल्पा सडकले रोल्पाको पहुँचलाई अझ बढाउने दावी गरे । ‘यो सडक कालीगण्डकी करिडोरबाट शुरु भएर राप्ती राजमार्गमा अन्त्य हुन्छ, रोल्पाको धेरै गाउँ भएर अघि बढ्छ, यो सडकबाट रोल्पाले धेरै फाइदा पाउँछ,’ उनले भने ।
उनले रोल्पाको चुनवाङबाट पूर्वी रुकुमको सदरमुकाम जोड्ने सडक प्राथमिकतामा परेको र शहिद मार्ग स्तरोन्नतीलाई पनि प्राथमिकतामा पारिने बताए ।
अहिले स्थानीय तहले कर्मचारी अभाव झेलिरहेको जानकार रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लोकसेवा विधेयक छिट्टै पारित हुने र प्रदेश लोकसेवा आयोग गठनपछि कर्मचारी पूर्तिको बाटो खुल्ने बताए । रिक्त शिक्षक केन्द्र सरकारले करारमा नियुक्त गर्ने काम गलत भएको र रिक्त शिक्षक नियुक्तिको काम पालिकालाई दिनुपर्ने उनको भनाई थियो ।
‘तपाईहरुको यो मागसंग प्रदेश सरकार साथमा छ ।’ उनले भने । शिक्षक सेवा आयोगले प्रक्रियागत रुपमा काम अघि बढाएर नियुक्ति गर्ने हो भने ठिकै भएपनि सिधै केन्द्र सरकारले करारमा नियुक्ति गर्ने काम बेठिक भएको उनले बताए ।
चालु आर्थिक वर्षमा ७ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुन लागेको भन्दै मुख्यमन्त्री पोखरेलले यो मुलुकका लागि सुखद पक्ष भएको बताए । आर्थिक सुचकाङ्कमा औषत रहेको प्रदेश पाँच चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबैभन्दा उच्च भएको भन्दै यो प्रदेशका लागि खुशीको कुरा भएको उनले बताए ।