प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आसन, भाषण र काममा पुरुषसरह महिलाको सहभागिता हुनुपर्ने आवाज उठेको छ।
देशव्यापी राष्ट्रिय जनजागरण अभियान आउन एक साता बाँकी हुँदा आसन र भाषण छोट्याउने नाममा पार्टीले महिलालाई पछि पार्न नपाउने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन्।
जनजागरण अभियान घोषणा गर्दै कांग्रेसले विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो। जागरण अभियानका कार्यक्रममा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिकोमात्र आसन ग्रहण र उनीहरूकैमात्र भाषण हुने तालिकामा उल्लेख छ।
पार्टीले केन्द्रदेखि गाउँसम्म पठाएको यो तालिकाअनुसार आसन र भाषणमा महिला सहभागिता शुन्य हुने देखेपछि नेपाल महिला संघलगायत पार्टीमा सक्रिय महिलाहरुले विरोध जनाएका छन्। मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम बहिष्कार गर्नेसम्मका कुरा उठीरहेको महासमिति सदस्य निमा गिरिले जानकारी दिइन्।
‘मञ्चमा आसन, भाषणमा महिला नभए कार्यक्रम बहिष्कार गर्ने भन्ने आइरहेको छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘कांग्रेसले समावेशीतालाई त ख्याल गर्नुपर्ने हो। विधानमा लेखेको समावेशीता कार्यान्वयन गर्न हामी किन चुक्ने?'
गिरि लगायत यूवा महिला नेतृहरूले लोकतान्त्रिक पार्टी कांग्रेसले समावेशीता भुल्न नहुने भन्दै सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
‘संविधान कार्यान्वयन र विधानबारे कांग्रेस जागरण अभियान चलाउँदैछ। विधानमै महिला सहभागिता सुनिश्चित छ। जागरण अभियानमा महिला समावेशीता कार्यान्वयन हुने देखिएन,’ गिरिले भनिन्, ‘तीन जना आसनग्रहण गरेर कार्यक्रम गर्दा जिल्लामा ‘टप थ्री’ मा एक जना महिला पनि पर्नुहुँदो रहेनछ।’
तालिका हेर्दा महिला समावेशीतालाई कांग्रेसले अंगीकार गरेको छ भन्न पनि अप्ठेरो हुने उनले बताइन्।
तीन जनाले आसन गर्ने ठाउँमा एक महिला अनिवार्य गराएर चार जनाले आसन र भाषण गर्दा केही फरक नपर्ने बरु समावेशी हुने उनले तर्क गरिन्। ‘एक महिला अनिवार्य भनिदिनुस् ता की जिल्लामा कार्यक्रम गर्न सभापतिलाई पनि सजिलो होस्,’ उनले भनिन्।
गिरिसहितको टोलीले कोषाध्यक्ष सीतादेवी यादव, नेतृहरु डिला संग्रौला, पुष्पा भुसाललाई पनि आसन, भाषण र काममा महिलाको सहभागिता सुनिश्चित गराउन पार्टीभित्र पहल गरिदिन आग्रह गरेको छ।
‘पार्टीले कि समावेशीता मान्दिनँ भन्न सक्नुपर्यो,’ उनले भनिन्, ‘कांग्रेसले समावेशीता मान्दिनँ भन्न सक्दैन। त्यसैले कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ भनेर रहेका पुरूष र महिला नेताहरुको ध्यानकर्षण गरायौं।’
महासमिति सदस्य गिरि नेतृत्वको महिला नेतृहरुले चलाएको यो अभियानलाई युवा छात्रा कांग्रेसले पनि साथ दिएको छ। उनीहरुले उपसभापति निधिलाई बुधबार भेटेर पार्टीका कार्यक्रम समावेशी बनाउन माग गरेका छन्।
सभापति देउवाले राष्ट्रिय जनजागरण अभियानलगायत पार्टीले गर्ने सबै कार्यक्रममा संविधान र विधानअनुसार समावेसी बनाउन निर्देशन दिइसकेका छन्।
देउवाले उपसभापति निधि र प्रवक्ता शर्मालाई समावेशी हुने गरी कार्यक्रम तालिका बनाउन निर्देशन दिएका हुन्। ‘सभापतिले हाम्रै अघि उपसभापति र प्रवक्तालाई फोन गरेर कार्यक्रम समावेशी बनाउन भनिसक्नुभयो,’ गिरिले भनिन्।
कांग्रेसले विधानअनुसार सभावेशी हुने गरी नै केन्द्रदेखि गाउँसम्मका कार्यक्रम गर्नेगरि तालिका बनाएर पार्टीका निकायमा पत्राचार गर्ने जनाएको छ।