सरकारले नीति तथा कार्यक्रम मार्फत् एक दर्जन बढी आयोजना र कार्यक्रमहरु बर्षदिनभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। यी मध्ये केही भने सरकारले पोहोर सालकै प्रतिबद्धता पुरा नभएपछि दोहोर्याइएको छ।
सरकारले नीति तथा कार्यक्रममा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा आगामी बर्ष भित्र जोडिसक्ने उल्लेख गरेको छ। गत बर्षको बजेटमा पनि यो आयोजना एक बर्ष भित्र सक्ने दाबी थियो।
त्यस्तै सरकारले 'आगामी आर्थिक बर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न' गर्ने जनाएको छ। गतबर्ष पनि मेलम्चीको पानी राजधानीमा ल्याउने दाबी बजेटमा थियो। तर इटालीको ठेकेदार कम्पनीले छाडेपछि मेलम्ची आयोजनाको हेडवर्क्सको काम सुरु नै हुन सकेको छैन। सुरुङ समेत सम्पन्न हुन बाँकी छ।
सरकारले गत बर्ष नै प्रधानमन्त्री रोजगार कार्यक्रमम सुरु गरेको थियो। यसबर्ष सरकारले यही कार्यक्रम मार्फत् रोजगारी सिर्जना गर्ने दाबी गरेको छ। 'सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी बर्ष थप ५ लाख रोजगारी सिर्जना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
सरकारले यो बर्ष भित्रै हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्याउने वाचा दोहोर्याएको छ। अघिल्लो बर्षमासमेत हुम्ला र डोल्पा सदरमुकामलाई सडक सञ्जालमा जोड्ने वाचा बजेटमा गरिएको थियो।
सरकारले नीति तथा कार्यक्रममा 'आगामी बर्ष १ हजार मेगावाट विद्युत थप गरिने' जनाएको छ।
त्यस्तै सबै वडा स्वास्थ केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने कार्यक्रम आगामी बर्षभित्र सम्पन्न गर्ने जनाएको छ।
नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमामा समेट्ने सरकारको योजना छ।
'आगामी आर्थिक बर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,' स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ केन्द्रहरुबाट उपलब्ध गराइनेछ।’ सरकारको बिमा कार्यक्रम भने महत्वकांक्षी देखिन्छ। अहिलेसम्म ४२ जिल्लाका १६ लाख नेपालीको मात्र स्वास्थ्य बिमा भएको छ। ३ करोड नेपालीलाई स्वास्थ्य बिमा भित्र बर्षदिन भित्र समेट्ने सरकारको प्रतिबद्धता छ।
सरकारले आगामी आर्थिक बर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहरुमा कम्तिमा एक चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाएइको छ। साथै सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ सेवा उपलब्ध गराउने जनाएको छ।
सरकारले प्राथमिकताका साथ 'नयाँ सरकार गठन भएपछि निर्माण सुरु गरिएको अमलेखगञ्ज रक्सौल मोतिहारी खण्डको पेट्रोलियम पाइपलाइनबाट आगामी बर्षदेखि पेट्रोलियम पदार्थको आयात गर्ने व्यवस्था मिलाउने जनाएको छ।
त्यस्तै एक बर्ष भित्रै काठमाडौं उपत्यकामा ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने जनाएको छ।
'भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुननिर्माणको बाँकी कार्य आगामी आर्थिक बर्षमा प्राथमिकताका साथ सम्पन्न गरिने', नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै सरकारले आगामी बर्ष 'युवा वैज्ञानिक सम्मेलन आयोजना' गर्ने वाचा नीति तथा कार्यक्रममा गरेको छ।
सरकारले वित्तीय सेवाको विस्तार गरी आगामी एक बर्षभित्र थप ५० हजार युवालाई स्वरोजगार बनाउने दाबी गरेको छ। साथै आगामी बर्ष यूवा परिचालन बर्षका रुपमा सञ्चालन गर्ने जनाएको छ।
सरकारले बर्षभित्र गर्ने काममा तातोपानी नाका सञ्चालनमा ल्याउने समेत उल्लेख गरेको छ। तातोपानी नाका आउँदो महिना भित्रै सञ्चालनमा ल्याउने तयारी भैरहेको छ।