संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बन्ने नयाँ पार्टी दुई जना ‘पाइलट’ले चलाउने भएका छन्।
सोमबार घोषणा हुने नयाँ समाजवादी पार्टी नेपालमा बाबुराम भट्टराई उपेन्द्र यादव अध्यक्ष बन्ने टुंगो लागेको हो।
गत वर्ष तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले दुई अध्यक्षता प्रणाली सुरू गरेको थियो। त्यतिबेला एउटा पार्टीमा दुइटा अध्यक्ष किन भन्ने प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी जेट विमान भएकाले दुई पाइलट चाहिने जवाफ दिएका थिए।
नेकपामा ओली र पुष्पकमल दाहाल अध्यक्ष छन्।
समाजवादी पार्टीका दुई पाइलटको भूमिका नेकपाका पाइलटको जस्तो नहुने नयाँ शक्तिका एक नेताले सेतोपाटीलाई बताए।
‘नेकपामा त एउटा पाइलटको हात बाँधिएको छ। तर नयाँ बन्ने समाजवादी पार्टीमा त्यस्तो हुँदैन,’ ती नेताले भने, ‘हाम्रा पार्टीका दुबै पाइलटको काम कर्तव्य र अधिकार स्पष्ट पारिएको हुन्छ।’
अध्यक्षको कार्यविभाजनमा विवाद नआओस् भनेर नयाँ पार्टी बनेसँगै उनीहरूको जिम्मेवारी पनि तोकिएको छ।
नयाँ पार्टीमा उपेन्द्र यादव केन्दीय समितिको अध्यक्ष बन्नेछन् भने संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई बन्नेछन्। संघीय परिषद्लाई केन्द्रीय समितिभन्दा शक्तिशाली बनाइएको छ भने कार्यकारी भूमिका भने केन्द्रीय समितिलाई दिने सहमति भएको छ।
पार्टीको संघीय तहको अध्यक्ष भने दुबै जना रहनेछन्। संघीय तहले वडादेखि प्रदेश कमिटिसम्मलाई हेर्नेछ।
अहिले फोरममा २ सय ७८ जना केन्द्रीय सदस्य छन् भने नयाँ शक्तिमा १ सय ५१ जना केन्द्रीय सदस्य छन्। दुबैतर्फका केन्द्रीय सदस्य नयाँ पार्टीको केन्द्रीय सदस्य बन्नेछन्। नयाँ बन्ने पार्टीमा २ अध्यक्ष, ८ उपाध्यक्ष, ३/३ महासचिव/उपमहासचिव र ५ जना सचिव पदाधीकारी रहनेछन्।
वरियतामा भने बाबुराम भट्टराई पहिलो नम्बरमा हुनेछन् भने यादव दोस्रोमा।
‘सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हो। त्यसपछिको ठूलो निकाय संघीय परिषद् हो। संघीय परिषदपछि केन्द्रीय समिति हो,’ संघीय समाजवादी फोरमका नेता रकम चेम्जोङले सेतोपाटीसँग भने, ‘केन्द्रीय समितिले गरेका निर्णयको मूल्यांकन र समीक्षा गर्ने र आवश्यक निर्देशन दिने काम संघीय परिषदले गर्दछ।’
आवश्यक भए केन्द्रीय समितिका निर्णय संघीय परिषदले उल्ट्याउन सक्ने चेम्जोङले बताए ।
संघीय परिषदमा दुबै पार्टीका संघीय परिषद् सदस्य रहनेछन् । नयाँ शक्तिले संघीय परिषद नै गठन गरेको छ भने संघीय समाजवादी फोरमको राष्ट्रिय परिषद रहेको छ। संघीय परिषदमा १ हजार सदस्य रहनेछन्। दुबै दलले आफ्ना पार्टीमा त्यो तहका कार्यकर्ता ४ सय देखि ५ सयको हाराहारीमा रहेको बताएका छन्।
‘संघीय परिषद्का सदस्य कति हुन्छन भन्ने पार्टी एकता घोषणा गर्दा नै थाहा हुन्छ,’ नयाँ शक्तिका नेता गंगा श्रेष्ठले सेतोपाटीसँग भने, ‘संघीय परिषद्को काम कर्तव्य र अधिकार कति भन्ने विधानले तय गरे अनुसार हुनेछ।’
‘समुन्नत संघीय समाजवाद’ पार्टीको विचार हुने भन्दै श्रेष्ठले सोही विचारअनुसारको पार्टीका नीति तथा घोषणापत्र तयार हुने बताए।
सरकारमा रहने नरहने विषयमा भने अहिलेसम्म कुनै नयाँ धारणा बनिसकेको छैन। संघीय समाजवादी फोरमका १६ जना सांसद छन् र यो पार्टी सरकारमा छ। पार्टीका तर्फबाट तीन जना मन्त्री रहेका छन्। नयाँ शक्तीबाट भने भट्टराईमात्रै संघीय सांसद छन्।
तत्काल सरकारमै रहने भएपनि नयाँ पार्टीले पार्टी एकतापछि संविधान संशोधनका बुँदाहरू सरकारलाई बुझाउने र कार्यान्वयन नभएमा सरकारबाट बाहिरिने नयाँ शक्तिका एक नेताले बताए ।