बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज एकता भएको छ। यो एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान पनि सकिएको छ।
यादवसँग कोपाइलट भएर नयाँ बनेको समाजवादी पार्टी नेपालको जहाजमार्फत भट्टराईले अबको यात्रा तय गर्नेछन्।
२०५२ सालमा सुरू भएको सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रिया, संविधान निर्माण, नयाँ शक्ति गठन हुँदै माओवादी सशस्त्र द्वन्द्वका बेला एकै पार्टीका रहेका यादवसँग एकताको बिन्दुमा पुग्दा भट्टराईको यात्रामा निकै उतारचढाव देखिन्छ। त्यसमा पनि पछिल्लो तीन वर्षमा झन् उखाडबखाडयुक्त छन्।
संवैधानिक राजनीतिक संवाद समितिको संयोजक भई संविधान लेखनमा भूमिका खेलेका भट्टराईले संविधान जारी भएको (२०७२ असोज ३) को छ दिनपछि तत्कालिन एमाओवादी पार्टी परित्याग गरे।
९ असोज २०७२ मा बाबुरामले भनेका थिए- एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो। त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ।
तत्कालीन एमाओवादीमा सैद्धान्तिक विचलन आएको र नेताहरू सत्ताकेन्द्रीत भएकाले त्यो पार्टी जतिबेला पनि ढल्न सक्ने भएकाले रातो स्टिकर पाएको घरमा बस्नुभन्दा बरू झुपडी बस्नु उपयुक्त हुने भट्टराईको तर्क थियो।
त्यतिबेला नयाँ संविधानले मधेशी, जनजाति, थारूलगायतलाई अधिकार दिन नसकेकोमा भट्टराईले त्यतिबेला असन्तुष्टि जनाएका थिए। उनी ‘जसको नीति उसको नेतृत्व’ सिद्धान्तअनुसार आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्न चाहन्थे।
एमाओवादी परित्याग गरेको आठ महिनापछि २०७३ जेठ ३० मा उनले नयाँ पार्टी घोषणा गरे- नयाँ शक्ति पार्टी नेपाल। युद्ध लडेका थोरै सहयोद्धा लिएर उनले नयाँ शक्ति खोलेका थिए।
पार्टी घोषणाका लागि बनाइएको एक भिडिओ सन्देशमा भट्टराईले ‘आजसम्म हामी व्यवस्था फेर्न लड्यौं अब फेर्नुछ आर्थिक अवस्था’ भनेका थिए।
भट्टराईले नयाँ शक्तिको औचित्यबारे ‘गरिवी, युवाशक्ति विदेश पलायन, परनिर्भता, भ्रष्टाचार’ बदल्न हो भनेर कयौंपटक दोहोर्याए। उनले ‘आर्थिक क्रान्तिमा जुटौं। समृद्धि सम्भव छ, हाम्रो पालामा। अबको निकास, आर्थिक विकास’ जस्ता नारा तय गरे।
वैकल्पीक राजनीतिक शक्तिको रूपमा नयाँ शक्ति उदाएको र २५ वर्षमा देशलाई समृद्ध बनाइछाड्ने अठोट भट्टराईको थियो। उनले भाषणमा ‘समृद्धिको सगरमाथा नचढेसम्म विश्राम नलिने’ भन्थे।
नयाँ शक्ति कसरी नयाँ हुन्छ भन्नेबारे उनले दस्तावेजमै लेखेका थिए- नयाँ शक्ति बन्ने प्रक्रिया नयाँ हुनुपर्छ। विभिन्न पृष्ठभूमिबाट आएका तर एउटै नयाँ विचार भएकाहरूको संगठित रुप नयाँ शक्ति हो।
भट्टराईले गठन गरेको नयाँ शक्तिमा राजनीतिक पृष्ठभूमिका अनुहारभन्दा पनि निवृत्तिभरण लिइसकेका कर्मचारीदेखि सेना, प्रहरीसम्म र चर्चित कलाकार थिए।
पार्टीले बोक्ने सिद्धान्त र जाने बाटो प्रष्ट नहुँदा एकपछि अर्को गर्दै नयाँ शक्ति छाड्नेहरू बढ्दै गए। पार्टी गठन भएको चार महिनामै मुमाराम खनालले नयाँ शक्ति छाडे। त्यसपछि पूर्वअर्थ सचिव रामेश्वर खनाल, जनयुद्ध लडेका देवेन्द्र पौडेल, रामचन्द्र झा, खिमलाल देवकोटालगायतले पार्टी छाडे।
भट्टराईलाई पत्नी तथा नेतृ हिसिला यमी, गंगा श्रेष्ठ, देवेन्द्र पराजुलीलगायतले साथ दिए। पार्टी निरन्तर कमजोर हुँदै गएको अवस्थामा स्थानीय चुनाव ‘फेस’ गरेका भट्टराईले अपेक्षा गरे अनुसार नतिजा ल्याएनन्। चुनाव चिन्ह नपाउँदा र अर्को पार्टीको चिन्ह (संघीय समाजबादी फोरमको मसाल) लिएर चुनावमा जाँदा भट्टराईले अपेक्षा गरेअनुसार पार्टीले मत पाएन।
स्थानीय तह निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने छलफलमा जुटे। आफैंले परित्याग गरेको र रातो स्टीकर टाँसेको घरको संज्ञा दिएको माओवादी र एमालेले चुनावी गठबन्धन गर्ने भएपछि भट्टराई पनि त्यो छलफलमा भाग मात्रै लिएनन्, एमालेको सूर्य चिन्ह लिएर चुनाव उठ्न राजी भए।
तर गोरखा-२ मा नारायणकाजी श्रेष्ठलाई छाड्नु पर्ने भएपछि उनी भोलिपल्टै गठबन्धनबाट बाहिरिए र नेपाली कांग्रेससँग चुनावी तालमेलमा लागे। यसबीचमा नयाँ शक्तिले आफ्नै चुनाव चिन्ह आँखा पाइसकेको थियो।
नयाँ शक्ति-कांग्रेस गठबन्धनबाट गोरखा २ मा भट्टराई र एमाले-माओवादी गठबन्धनबाट श्रेष्ठ चुनावमा उत्रिए पनि भट्टराईले सात हजार बढी मतान्तरले श्रेष्ठलाई हराए।
तर उनीबाहेक अन्य क्षेत्रबाट संघीय संसदमा नयाँ शक्तिको उपस्थिति भएन। नयाँ शक्तिले देशभरबाट जम्मा ८२ हजार मत पायो, जुन मतले राष्ट्रिय पार्टी हुनलाई पर्याप्त भएन।
नयाँ शक्तिले प्रत्यक्षतर्फ प्रदेश सभामा गोरखा र रसुवामा चुनाव जित्यो भने समानुपातिकमा गोरखाबाट एक सिट हात पार्यो। चुनावी परिणाम र पार्टीभित्र नेता/कार्यकर्ता नटिक्दा भट्टराई कहिले युरोप, अमेरिका भ्रमणमा गए त कहिले विश्वविद्यालयका कक्षा पनि चहारे।
पछिल्लो पटक भट्टराईले माघ १५ देखि फागुन १५ सम्म मध्यपहाडी लोकमार्ग भएर पार्टीको अभियान चलाए। त्यसपछि काठमाडौं फर्केका भट्टराईले नयाँ शक्तिलाई यो अवस्थाबाट माथि उकास्न संघीय समाजवादी फोरमसँगको एकतालाई अघि बढाए र सार्थक बनाए।
यो तीन वर्षमा भट्टराई फेरि उही रातो स्टिकर टाँसेको घरमा आइपुगेका छन्। किनकी तत्कालीन माओवादीजस्तै समाजवादी फोरम पनि आदर्श र सिद्धान्तबाट टिकीरहेको दल होइन।
संविधान जारी भएपछि विभेदकारी भन्दै आन्दोलन र नाकाबन्दीको समर्थनमा रहेको संविधानमा कुनै फेरवदल नगरी नै बनेको अहिलेको सरकारमा सामेल छ। मधेसवादी दलको पहिचान बनाएको फोरमले केही समयअघि पहाड चढ्न अशोक राईको तत्कालीन पार्टीसँग एकता गरेको थियो। गत चुनावमा अर्को मधेसवादी दल राजपासँग चुनावी तालमेल गरेको फोरम अहिले नयाँ शक्तिसँग एक हुँदैछ।