प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको भुलचुकमा नभई जानीबुझिकन भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्नु एकदमै ठीक भएको तर्क गरे।
‘निरंकुशतन्त्रमा मात्र होइन लोकतन्त्रमा पनि मेरो सरकार भन्न पाइन्छ, दुनियाँभर यस्तो अभ्यास छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पोहोर परार थिएन भने अहिलेदेखि नयाँ अभ्यास सुरू भयो। अर्को वर्ष अर्को नयाँ कुरा सुरू गर्छौं।’
उनले भारतका राष्ट्रपतिले पनि मेरो सरकार भन्ने गरेको उदाहरण दिँदै नेपालको राष्ट्रपति केही होइन भन्ने व्याख्या उचित नभएको बताए।
‘संसदले बनाएका विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुपर्छ। सेना परिचालनजस्ता निर्णय गर्ने राष्ट्रपतिलाई केही पनि होइन भन्नेजसरी व्याख्या गर्नुहुन्न,’ ओलीले भने,‘राष्ट्रपति भनेको देशको सर्वोच्च र सम्मानित संस्था हो। जनताले मेरो सरकार भन्न पाउँछन् भने जनप्रतिनिधिले मेरो सरकार भन्न किन नपाउने?’
उनले कुनै व्यक्तिलाई तिमी भन्न नमिल्ने तर तपाईं भन्न मन नहुँदा लटरपटर गरेर टारेजस्तो राष्ट्रपतिले बीचको भाषा प्रयोग गरेर टार्न नमिल्ने बताए।
उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेरो सरकारबारे गरेको टिप्पणीले मित्र राष्ट्र बेलायतसँगको सम्बन्धमा पनि असर पर्ने बताए।
‘बेलायतको आफ्नो चलन छ। त्यहाँकी महारानीजस्तो भनेर उता एकदमै नराम्रो छ, यहाँ पनि त्यस्तै भयो भन्नु कूटनीतिक रूपमा नसुहाउने कुरा हो,’ ओलीले भने।
देश बनाउने सपना दिउँसै देखेको हो
प्रधानमन्त्री ओलीले देश बनाउने सपना दिउँसो जागा भएकै बेला सपना देखेको बताए।
‘यो सपना भनेको राती मात्रै देखिने कुरा भन्ने कतिपयलाई लागेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘निदाएका बेला देखिने सपना, सपना होइन। दिउँसै देखेको सपनाले मात्रै देश बनाउँछ।’
सहिदले निदाएको र धुरेको बेला सपना नदेखेको बताएका उनले निदाएर देख्ने सपनाले देश विकास नहुने बताए। दिउँसै सपना देख्यो भन्ने सांसदहरुलाई प्रधानमन्त्रीले भने, ‘दिउँसै सपना देख्यो भन्ने? यो सपना देश बनाउने अठोटको कुरा हो।’
उनले सपना मात्रै नदेखेको भन्दै अठोट पूरा गर्न संकल्प पनि रहेको बताए। जननिर्वाचित प्रतिनिधि स्वघोषितभन्दा सम्मानित र गरिमामय हुने प्रधानमन्त्रीको भनाइ छ।
नीति तथा कार्यक्रमलाई सुन्दर नमूना भन्ने सांसदलाई प्रधानमन्त्रीले आलोचना गर्ने ठाउँ नभेटेकोसमेत बताए।