नेपाली कांग्रेसले आजदेखि देशैभर राष्ट्रिय जागरण अभियान सुरू गरेको छ।
पार्टी संगठनलाई सुदृढ गर्न कांग्रेसले तीन चरणमा केन्द्रदेखि गाउँसम्म कार्यक्रम गर्न लागेको हो। आजदेखि जेठ २५ गतेसम्म एक महिना पहिलो चरण अन्तर्गत ७७ जिल्लामा जागरणका कार्यक्रम हुनेछ।
प्रदेश र संघको चुनावमा अपेक्षाअनुसार जित हासिल नगरेपछि कांग्रेसभित्र गाउँदेखि सहरसम्म केन्द्रित रहेर संगठन विस्तारका अभियान चलाउन आवाज उठेको थियो।
‘हिमाल, पहाड, तराई-मधेश, नेपाली कांग्रेस’ नारासहित कांग्रेसका केन्द्रीय प्रतिनिधि जिल्लामा हुने जागरण अभियानका कार्यक्रममा खटेका छन्। संसद चलिराखेकोले सांसद रहेका केन्द्रीय सदस्यलाई भने जिल्ला प्रतिनिधिको रूपमा नखटाएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
कांग्रेसले दोस्रो चरणको जागरण अभियान प्रदेश सभा क्षेत्र केन्द्रित गरेर भदौ २४ गतेदेखि असोज १० सम्म सञ्चालन गर्ने र पुस ७ देखि १६ गतेसम्म तेस्रो चरणको अभियान चलाउने पनि निर्णय गरेको छ।
कांग्रेसले गर्ने जागरण अभियान मुख्य गरी पार्टीले तयार पारेको संघीय विधानबारे पार्टीका सबै निकायमा जानकारी गराउने, केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका जनहितविपरीतका कार्यक्रमबारे जनतालाई जानकारी गराउने छन्।
प्रवक्ता शर्माका अनुसार देशैभर एकै समयमा जागरण अभियान सुरू भएको छ। काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् भने सातै प्रदेशमा हुने कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका नेताहरू पुगेका छन्।
सभापति देउवा प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौंको कार्यक्रममा, वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर २ को धनुषामा, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १ सुनसरीमा, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेशको पोखरामा, अर्का महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ५ को रुपन्देहीमा, कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशको सुर्खेतमा र उपसभापति विमलेन्द्र निधि सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने कार्यक्रममा खटिएका छन्।
नयाँ के छन्?
यसपटक कांग्रेसले आसन र भाषणमा समय खेर नफाल्ने भएको छ। आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य गरिएको प्रवक्ता शर्माले बताए। ‘स्वागत र विसर्जनबाहेक केवल ३ वक्ताले भाषण गर्नेछन्,’ उनले भने, ‘कम्तिमा एक जना महिला वक्ता अनिवार्य बोल्नुपर्नेछ।’
कार्यक्रममा विषय प्रवेश, महिला वक्ता र प्रमुख अतिथिको भाषण रहने गरी कांग्रेसले पार्टीका सबै निकायमा एउटै प्रकृतिको कार्यक्रमको तालिका पठाइसकेको छ। महासमिति सदस्य निमा गिरिलगायतले महिला वक्ता पनि राख्न माग गरेपछि कांग्रेसले पहिले पठाएको तालिका सच्याउँदै महिला वक्ता अनिवार्य राखेको हो।
यतिमात्र होइन कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशब्यापी रूपमा एकै प्रकृतिको छ।
‘व्याच वितरण र किलोका किलोमा चर्चा हुने गरी माला लगाउने परम्पराको अन्त्य गर्छौं,’ उनले भने।
नेताहरूले सयौं किलोका माला लगाएर आलोचना हुने भएकोले कांग्रेसले नेतालाई माला नलगाउन भनेको हो।
१२ भाषामा गीत
जागरण अभियानका कार्यक्रममा आफूखुसी गीत बजाउन पाइने छैन।
प्रवक्ता शर्माका अनुसार मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारु, राजवंशी, देउडा भाका र नेपाली भाषाका गरी १२ भाषामा पार्टीका गीत बनाइएको छ।
कांग्रेसले सबै जिल्लामा गीत पठाइसकेको जनाएको छ।
पार्टी हितविपरीत अभिव्यक्ति दिए कारबाही!
पार्टीको केन्द्रीय अनुशासन समितिले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउन कार्यक्रमको अनुगमन गर्ने गरी संरचना बनाएको छ। कानुन व्यवसायीहरूले जागरण अभियानका कार्यक्रम नजिकबाट निहाल्नेछन् र पार्टी हितविपरीत अभिव्यक्ति दिए कारबाहीका लागि अनुशासन समितिमा जानकारी गराउनेछन्। साथै प्रशिक्षण प्रतिष्ठानले पनि यही अवधिमा पार्टीका नेता/कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ।
जागरण अभियानभर कांग्रेसले भ्रष्टाचारको भण्डाफोर गर्न भन्दै नेपाल तरुण दललाई जिम्मेवारी दिएको छ।
तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल दलितसंघलगायत भातृ तथा शुभेच्छुक संस्थालाई कांग्रेसले यो वर्षभर चल्ने जागरण अभियानमा सक्रियतापूर्वक परिचालन गर्न लागेको हो।