प्रतिनिधि सभाका सांसदहरूमा उच्च रक्तचापको समस्या देखिएको छ। टिचिङ अस्पतालमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थी र संघीय संसदको स्वास्थ्य शाखाले आइतबार सांसदहरूको ब्लड प्रेसर नापेको हो।
संघीय संसद सचिवालयका चिकित्सक पुष्प रिजालका अनुसार ७२ जना सांसदको ब्लड प्रेसर जाँच गर्दा धेरैमा उच्च रक्तचाप देखिएको हो।
‘सभामुखलाई पनि उच्च रक्तचापको समस्या रहेछ,’ रिजालले भने, ‘उहाँले औषधी खाइरहनुभएको रहेछ। त्यसले जाँचमा भने सामान्य नै देखियो।’
जाँच गरिएकामध्ये कतिपय सांसदले पहिलादेखि नै उच्च रक्तचापको औषधी सेवन गरिरहेको पाइएको उनले बताए। स्वास्थ्य जाँचसँगै विद्यार्थी र चिकित्सकहरुले सांसदहरुलाई चिया, कफी कम पिउन तथा नुन कम खान सुझाव दिएका छन्।
‘हामीले लिखित रूपमै एउटा पेपरमा नुन कम खाने, खानामा चिल्लो र बोसो कम खाने, हरियो सागपात खाने, चिया कफी कम गर्ने र तनाव कम गर्न सुझाव दिएका छौं,’ रिजालले भने, ‘दैनिक आधा घन्टा व्यायाम गर्न पनि सुझाएका छौं।
उनले सन् २०१९ को मे महिनामा मात्र नेपालभर २२ हजारको ब्लड प्रेसर नापिएको बताए। ‘तथ्याङ्कमा हेर्दा २२ हजार मध्ये ३१ प्रतिशतलाई उच्च रक्तचाप भेटियो', रिजालले भने।
उच्च रक्तचापले संसारभर धेरैको मृत्यु हुने गरेको रिजालले उल्लेख गरे।
‘वार्षिक ३३ हजार उच्च रक्चतापले ज्यान गुमाउँछन्,’ रिजालले भने, ‘तर आधाभन्दा बढी नेपालीलाई आफ्नो रक्चाप थाहा छैन।’
उनले विश्वमा नसर्ने रोगको प्रकोप बढेका कारण मे महिनामा ब्लड प्रेसर मापनको अभियान सञ्चालन भैरहेको बताए।
‘ब्लड प्रेसरले किड्नीमा समस्या देखिन्छ, आँखामा पक्षघात समस्या हुन्छ', उनले भने, 'नुन कम खाने र कसरत गर्दा मात्र पनि यसलाई नियन्त्रणमा राख्न सकिन्छ।’
फोटो सौजन्य : अपिल पोखरेल