राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी र बुद्धसँग जोडिएका क्षेत्रहरू जोडेर निर्माण गर्न लागिएको बुद्ध परिपथलाई छिटो निर्माण गर्न आग्रह गरेकी छिन्।
उनले बुद्धपरिपथ निर्माण गरी लुम्बिनीलाई विश्वकै साँस्कृतिक पर्यटकीय क्षेत्र बनाउन आग्रह गरिन्।
उनले शान्ति, अहिंसा र करुणाका प्रतिमूर्ति गौतमबुद्धको जन्मस्थल लुम्बिनी र लुम्बिनीसँग जोडिएका क्षेत्रहरूको विकासको लागि बुद्धपरिपथ सहयोगी सिद्ध हुने बताइन्।
२५६३ औं बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को लुम्बिनीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वशान्तिको मुहान लुम्बिनीबाटै विश्वबन्धुत्वको भावना जागृत गराउन सकिने बताइन्।
राष्ट्रपति भण्डारीले समाजको विकासको लागि दिगो शान्ति आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताइन्।
उनले ४० वर्षसम्म पनि लुम्बिनी विकास गुरुयोजना पूरा हुन नसकेको भन्दै सरकारलाई लुम्बिनी विकास गुरुयोजनाको काम छिटो सम्पन्न गर्न आग्रह गरिन्। देशको भौतिक पूर्वाधार विकास गर्दै पर्यटन विकास गर्न सके देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै विकास निर्माणका काम हरियालीमैत्री र वातावणमैत्री बनाउन आग्रह गरिन्।
राष्ट्रपति भण्डारीले स्थानीय स्रोतसाधनको प्रयोग गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छिटो सम्पन्न गर्न पनि सरकारलाई आग्रह गरिन्।
राष्ट्रपति भण्डारीले बुद्धपूर्णिमालाई ‘अन्तर्राष्ट्रिय वैशाख डे’ को रूपमा मनाउनुपर्ने बताइन्।
उनले बौद्धदर्शनको अध्ययन अध्यापनका लागि सञ्चालन गरिएको बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्थलको उत्कृष्ट संस्थाको रूपमा स्थापित गर्नुपर्ने बताइन्।