प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालदेखि आफू सरकारमा आइसकेपछि लुम्बिनी विकासको कामले गति लिएको दाबी गरेका छन्।
२५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि ४९ वर्ष अघि १६ वटा देशको कमिटी निर्माण गरी योजना बनाइए पनि ४० वर्षसम्म पनि योजना पूरा नभएको भन्दै अब छिट्टै विकास गुरुयोजनाको काम पूरा गर्ने दाबी गरे।
लुम्बिनीको विकासमा सहयोग जुटाउने उक्त संस्थालाई सक्रिय बनाउने अभियानमा सरकार लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्रै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा आयोजना गर्ने योजना बनाइएको बताए।
लुम्बिनीको हरियाली मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई लुम्बिनी जस्तै बनाउन सिसौको जंगल नभइ फलफूलका बगैंचा र बुद्धकालीन बोटबिरुवा लगाइने बताए।
हरेक वर्ष सिसौको बिरुवा रोप्ने र त्यसैलाई फडानी गर्ने कार्यलाई रोकी फलफूलका बिरुवा लगाउन लुम्बिनी विकास कोषलाई आग्रह गरे।
उन्माद, स्वार्थ, हिंसा कसैको पक्षमा नलाग्न आग्रह गर्ने गौतमबुद्धलाई विश्व समुदायले भगवानको रूपमा मानेको उनले बताए।
प्रधानमन्त्री ओलीले विश्वभरबाट बौद्धमार्गी आउने बनाउने गरी लुम्बिनीको विकास गरिने प्रतिवद्धता व्यक्त गर्दै जीवनमा एकपटक भए पनि लुम्बिनी आउन बौद्धमार्गीहरूलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले लुम्बिनीलाई पवित्रस्थलसँगै स्वच्छ, सफा, हराभरा, पुण्यभूमी, ज्ञानभूमि र ध्यानभूमी बनाउने गरी विकास गर्न सरकारको ध्यान गएको बताए।
उनले कपिलवस्तुलाई अब फरक ढंगले विकास गर्न जरुरी रहेको र त्यसतर्फ पनि सरकारले योजना बनाउने बताए ।
अब नेपालले द्वन्द्वको बाटो जान नहुने भन्दै प्रधानमन्त्री ओलीले बुद्धको जन्मथलो लुम्बिनीबाटै शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन पनि बुद्धको सन्देशले सघाउ पुर्याउने बताए।
कार्यक्रममा प्रदेश पांच सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीबाटै प्रदेश सरकार समृद्धिको यात्रामा अगाडि बढ्ने बताए।
उनले विश्वशान्तिको मुहान लुम्बिनी पाँच नं. प्रदेशमै रहेकोले लुम्बिनीबाटै प्रदेशलाई समृद्ध बनाउन सकिने बताए।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले लुम्बिनीसँगै अरु क्षेत्रहरूको विकास र प्रचारप्रसारको लागि योगदान पुग्ने गरी सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन सुरू गरेको भन्दै एकपटक लुम्बिनी आइ अवलोकन गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रदेश पाँच सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनी भ्रमणवर्ष नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को सहायक बन्ने विश्वास व्यक्त गरे।
उनले भ्रमण वर्षको अवधिमा लुम्बिनी तथा आसपासका बौद्धसम्पदाहरूसँगै यस क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटन विस्तारमा टेवा पुर्याइने बताए। मन्त्री गिरीले लुम्बिनी भ्रमणवर्षको १ वर्षको अवधीमा २० लाख भन्दा बढि पर्यटक लुम्बिनीमा भित्र्याउने लक्ष्य रहेको बताए ।