शुक्रबार बिहान कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको उडान नम्बर क्युआर ६४४ मा तीन जना पाकिस्तानी नागरिक पनि यात्रु थिए। ४९ वर्षीय मोहम्मद अख्तर, ३९ वर्षीया नादिया अनबर, ६७ वर्षका नसिर उदिनले दुई सुटकेस ल्याएका थिए। तर ती सुटकेसमा लुगाफाटो र मालसामान थिएन, पैसाका नोटले भरिएका थिए। भारतीय रूपैयाका नक्कली नोटहरूले भरिएका सुटकेस बोकेर उनीहरू नेपाल आएका रहेछन्।
विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई विमानस्थलबाट पक्राउ गर्यो। विशेष ब्युरो र विमानस्थल प्रहरीले उनीहरूलाई रिसिभ गर्न नेपालबाट मान्छेहरू विमानस्थल आएको सूचना पाएको थियो। ललितपुरका युनिस अन्सारी, उनका साला रौतहट बस्ने सुयल खान र अन्सारीका गाडी चालक भक्तपुरका सुदन रानाभाटलाई प्रहरीले पक्राउ गर्यो।
यीमध्ये अन्सारी यसअघि पनि नक्कली भारतीय नोटको कारोबार मुद्दामा जेल परिसकेका मानिस हुन्।
उनीहरूको समूहले ७ करोड ६७ लाख ९४ हजार ब्रिफकेसमा हालेर ल्याएको प्रहरीले जनाएको छ। सबै नोट दुई हजार भारूका छन्।
महानगरीय प्रहरी कार्यालय काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका सबै छ जनालाई सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा पाँच जनाको अनुहारमा मास्क लगाइएको थियो भने अन्सारले भने मास्क लगाएका थिएनन्।
युनिस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।
पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।
५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए। उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।