नेपाली सेनाले भ्रष्टाचार अभियोगमा कर्णेल केशवराज कार्कीलाई जेल चलान गरेको छ। सैनिक अदालतले कर्णेल कार्कीले सरकारी रकम हिनामिना गरेको ठहर गरेपछि उनी जेल चलान भएका हुन्।
‘कार्कीले सरकारी रकम हिनामिना गरेको, अनुशासनविपरित र ओहोदा नसुहाउँदो काम गरेको ठहर अदालतको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने, ‘अदालतको फैसला प्रधान सेनापतिबाट सदर भएपछि उहाँलाई जेल चलान गरिएको छ।’
सैनिक अदालतले पाण्डेबाट ४९ लाख २९ हजार ८ सय ८८ रुपैँया असुल उपर गर्ने निर्णय समेत गरेको छ।
कालिसिद्धी गण उदयपुरका प्रमुख कार्कीलाई वैशाख २३ गतेबाट सेना आफैंले पुर्पक्षका लागि थुनामा राखेको थियो।
उनको मुद्दाको छिनोफानो गर्न २३ गते नै सैनिक अदालत गठन गरेको थियो।
कर्नेल सोभित अधिकारीले नेतृत्वमा गठन भएको अदालतले जेठ २ गते कार्कीलाई दोषी ठहर गरेको थियो।
‘सेनाको युनिटको रकम दुरूपयोग भएको अदालतबाट ठहर भएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘कार्कीले राष्ट्रपति चुरे कार्यक्रमको रकम दुरूपयोग गरेको भन्ने ठहर भएको होइन।’
‘नियन्त्रणमा लिइएपछि कार्कीले राष्ट्रपति चुरे संरक्षणको १ लाख ६७ हजारको काम गर्न नभ्याएको देखिएकाले त्यो रकम पनि असुल उपर गर्ने निर्णय भएको हो,’ पाण्डेले भने।
कार्कीलाई कारबाही गर्ने निर्णय जेठ ५ गते प्रधानसेनापातिले सदर गरेका थिए। लगत्तै सैनिक अदालतले कार्कीलाई जेठ १० गते फैसला सुनाएको थियो।
‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी तीन महिना कैद र ४९ लाख २९ हजार ८ सय ८८ असुल उपर गर्ने फैसला भएको छ,’ पाण्डेले भने, ‘उहाँलाई केन्द्रीय कारागार चलान गरिएको छ।’