आइतबार अपराह्न विप्लव माओवादीका पाँच जना कार्यकर्ता सुकेधारास्थित सैलुन पसलेको भान्सामा छिरे।
सैलुन सञ्चालक महोत्तरी साबिक रामनगर गाविस- ३ का जीवकुमार ठाकुर पनि मिसिँदा छ जना भए।
५४ वर्षीय ठाकुरसहित त्यहाँ विप्लव माओवादीका कार्यकर्ता महावीर र दीपेन्द्र (दुबै जनाको थर नखुलेको), माओवादी नेवा मुक्ति मोर्चाका अध्यक्ष ५४ वर्षीय सुरेन्द्र महर्जन र माओवादीकै हरि खड्का थिए। कपन निवासी ४४ वर्षीय खड्काको माओवादीमा के हैसियत छ, खुलेको छैन। अर्का एक जना व्यक्ति पनि त्यहाँ थिए। उनको नाम खुलेको छैन।
प्रहरीका अनुसार ठाकुरसहितका व्यक्तिले भान्सामा बम बनाउन थालेका थिए। महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृत भन्छन्, ‘फिट गर्दागर्दै पड्किँदा छमध्ये तीन जनाको त्यहीँ मृत्यु भएको हो।’
ती अधिकृतका अनुसार सुकेधारामा बिस्फोट भएको सिलिण्डर बम थिएन।
‘टाइम बम’मा परिणत गरिएको प्रेसर कुकर थियो।
बममा ‘टाइम फिट’ गर्न खोज्दाखोज्दै पड्केको भनिए पनि सोको यकिन हुन नसकेको प्रहरी बताउँछ। ‘त्यहाँ बम फिट गरेर अन्यत्रै राख्ने उनीहरूको योजना थियो,’ महाशाखाका ती अधिकृतले भने, ‘घाइतेहरूसँग बयान लिन सकिइरहेको छैन, त्यसकारण योजना कहाँ के थियो, स्पष्ट खुलेको छैन।’
उनका अनुसार ठाकुरको भान्सामा दुई वटा ग्यास सिलिण्डर थिए, ती दुबै सकुशल छन्। त्यसकारण सुकेधारामा ‘सिलिण्डर बम’ पड्केको होइन।
‘बम बिस्फोट भएपछि भान्सा ध्वस्त भयो। सिलिण्डर बम पड्केको अनुमान गरियो,’ ती अधिकृतले भने, ‘तर, भान्सामा रहेका दुबै सिलिण्डर सकुशल देखिएपछि हाम्रो अनुमान गलत भयो।’
बम बिस्फोटपछि महाशाखाको टोली विस्तृत अनुसन्धानमा जुटेको छ। तथापि, टोलीले ‘टाइम बम’को पुष्टि भने गरिसकेको छैन। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले भने, ‘टाइम बम हो कि भन्ने शंका हो, तर घटनास्थलमा त्यसको कुनै पनि उपकरण फेला परेको छैन।’ यो अनुसन्धानकै क्रममा रहेकाले अहिले विस्तृत आउन बाँकी रहेको थापाले बताए।
महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीका अनुसार सबै मृतकको अनुहार पहिचान हुने अवस्था छैन, घाइते बोल्न सक्ने अवस्थामा छैनन्। त्यसकारण मृतक र घाइतेको स्पष्ट विवरण संकलन गर्न नसकिएको हो।
सुकेधारा बिस्फोटमा महावीर, दीपेन्द्रको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ। सुकेधारा बिस्फोटमा मृत्यु हुने तेस्रो व्यक्तिको नाम र पहिचान भने खुलेको छैन।
उनको अनुहार चिन्न नसकिने गरी क्षतविक्षत भएको छ।
सुकेधारा बिस्फोटमा परेका सैलुनका सञ्चालक ठाकुर, महर्जन र खडकाको भने अस्पतालमा उपचार भइरहेको छ।
घट्टेकुलोमा विस्फोटमा परेका विप्लव माओवादीका प्रज्जवल शाहीको पनि मृत्यु भएको छ। विप्लव माओवादीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य शाहीको डेरामा नै बम पड्केको हो। प्रज्जवलसँगै रहेका रुकुम सानीभेरीका रविन केसी भने गम्भीर घाइते भएका छन्। उनको ओम अस्पतालमा उपचार भइरहेको छ। घट्टेकुलोमा पनि ‘टाइम बम’ राखिएको प्रहरी स्रोत बताउँछ। घटनास्थलमा रिमोट फेला परेको थियो।
एसएसपी सुवेदीका अनुसार बम बिस्फोटपछि काठमाडौको नरेफाँटबाट प्रहरीले सात जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
सोमबारको बन्दमा काठमाडौंबाट कोही पनि पक्राउ परेका छैनन्। राजधानीलगायत देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु ‘बम’ फेला परे पनि मानवीय क्षति भएको छैन।
बिस्फोट घटनापछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालित छन्।
कसरी बन्छ टाइम बम?
प्रेसर कुकरलाई ‘टाइम बम’मा परिणत गर्न त्यसमा डेटोनेटर चाहिन्छन्। ब्याट्री, घडी, अमुनियम नाइट्रेट र तार चाहिन्छन्।
प्रेसर कुकरभित्र डेटोनेटर राखेर त्यसलाई ‘टाइम सेट’ गरेर वा रिमोटले बिस्फोट गराउने गरिन्छ।
अन्य चिजहरू नेपाली बजारमै सहज उपलब्ध भए पनि डेटोनेटर जुटाउन भने सजिलो छैन। खुला सीमाका कारण भारतबाट डेटोनेटर भित्र्याइने गरिएको छ। डेटोनेटरको अर्को स्रोत ठूला विकासे परियोजना हुन्। पहाड तथा ठूला ढुंगा फोर्न बिस्फोट गराउँदा डेटोनेटर प्रयोग गरिएको हुन्छ।
‘त्यस्ता ठाउँबाट धम्क्याएर डेटोनेटर मागिएको हुन सक्छ, भारतबाट भित्र्याइएको हुन सक्छ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने। यस्ता उपकरणहरू ओसारपसार नियन्त्रण किन हुँदैन भन्नेचाहिँ देशको सुरक्षा व्यवस्थासँग भर पर्छ। सीमा नाकाहरूमा प्रहरीको उपस्थिति बलियो बताइए पनि त्यहीँबाट डेटोनेटर भित्रिरहने क्रम जारी छ। र, विकासे परियोजनामा सुरक्षा निकायको निगरानी भए पनि डेटोनेटर कसरी बाहिरिन्छ प्रहरीले पत्ता लगाउन सकेको छैन।
पूर्वदेखि पश्चिमसम्म प्रहरीले विप्लव कार्यकर्ताबाट डेटोनेटर बरामद गरिरहेकै छ। भोजपुरमा गोली लागेर मृत्यु भएका षडानन्द नगरपालिका–२ का तीर्थ घिमिरेको साथबाट प्रहरीले चार थान डेटोनेटर बरामद गरेको थियो। घुँडामा गोली लागेका घिमिरेको मृत्युको बिरोधमा विप्लव माओवादीले सोमबार बन्द गराएको हो। त्यसैको पूर्वसन्ध्यामा आइतबार बम बनाउँदै गर्दा बिस्फोट भएर विप्लव कार्यकर्ताको मृत्यु भएको हो।