नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समाज बदल्नेगरी राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने अभियानमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार बुटवलमा आयोजित नेकपा रुपन्देही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले पार्टी र सरकारका विरुद्ध योजनाबद्ध प्रहार भईरहेको आरोप लगाए।
समारोहमा नेकपाका महासचिव बिष्णु पौडेलले गरिबी, आर्थिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, शैक्षिक विषमता, पर्यावरणको क्षयीकरण र बेरोजगारीको चरम समस्यामा रहेको मुलुकलाई वर्तमान सरकारले योजनाबद्ध तवरले सुधार गर्दै लगेको दावी गरे।
जनतालाई न्याय, विवेकपूर्ण निर्णय, सुरक्षा र आत्म सम्मानको अनुभूति दिलाउनेतर्फ तीनै तहका सरकारहरु केन्द्रित रहेको महासचिव पौडेलले बताए।
नेपाल कम्युनिष्ट पार्टीको यो सरकार कसैको कृपा र वरदान नभई नागरिकको मतबाट कारण स्थापित भएको उनले दावी गरे। महासचिव पौडेलले पार्टीमा गुट उपगुटको अन्त्य जरुरी रहेको बताए।
महाधिवेशनका बेला मात्र कार्यकर्ता तहसम्म पुगेर बहस गर्न उपयुक्त हुने उल्लेख गर्दै उनले भने ‘महाधिवेशन घोषणा भएपछि २१ औं सताब्दीको जनवाद वा नयाँ जनवाद वा जनताको बहुदलीय जनबाद वा माओवाद कुन उपयुक्त भन्नेबारे खुलेर बहस गरौँला, अहिले बेला भएको छैन।’
नेकपाका स्थायी कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटिका ईन्चार्ज शंकर पोखरेलले समाजको रुपान्तरण नभएसम्म पार्टी एकता सफल भएको मान्न नसकिने बताए।
‘दुई पार्टीको एकताले देशले शक्ति आर्जन गर्न सक्छ सक्दैन, समाजको रुपान्तरण हुन सक्छ सक्दैन भन्ने बिषय महत्वपुर्ण हो, देशले शक्ति आर्जन नगरे पार्टी एकताको कुनै अर्थ रहँदैन’ उनले भने।
पोखरेलले विचार र नारा मात्रै क्रान्तिकारी बनाउने तर काम भने फिटिक्कै नगर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताए । ‘नकरात्मक कुराहरु मात्रै गर्ने, सुन्ने र त्यसैका आधारमा धारणा बनाउँदा अविश्वास र भ्रम सिर्जना हुन्छ, यसतर्फ सचेत रहन जरुरी छ’ उनले भने।
पोखरेलले कमजोर रहेको क्षेत्रहरुमा संगठनलाई बलियो बनाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए। ‘जनतालाई कम्युनिष्ट पार्टीसँग विच्छेद गरेर समाज विकास हुँदैन, कम्युनिष्ट पार्टीसँग जनतालाई जोड्ने अभियान मर्चवारबाटै शुरु गर्नुस्’ उनले भने ।
कार्यक्रममा नेकपाका स्थायी समितिका सदस्य घनश्याम भुसालले विचार र कार्यशैलीमा प्रष्ट भएर अगाडि बढ्न जरुरी रहेको बताए। उनले समाज बदल्ने काममा केन्द्रित हुनुपहिले आफुहरु पनि रुपान्तरित हुन जरुरी रहेको भन्दै एकता र सहकार्यका आधारमा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए।
उनले पार्टीभित्र गुटबन्दी रहेको भन्दै गुटबन्दी हुने परिस्थितिको अन्त्य गर्नुपर्ने बताए। ‘कुन व्यक्ति मेरो पछाडि लाग्छ लाग्दैन, मेरो चाकडी गर्छ गर्दैन भनेर नलागौँ, गुटबन्दी हुने यस्तै परिस्थिति रहुन्जेल गुटबन्दी भईरहन्छ’ उनले भने।
कार्यक्रममा पार्टीका स्थायी समितिकै अर्का सदस्य छविलाल विश्वकर्माले चुनौति, समस्या र अन्यौलताको भूमरी सिर्जना गर्ने र त्यसैका आधारमा सरकारलाई कमजोर बनाउन खोज्न तत्वहरु सक्रिय रहेको भन्दै सचेत रहन सुझाव दिए। प्रदेश कमिटीका सचिव शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वय गरेर जनताका समस्यालाई समाधान गर्नेगरी केन्द्रित हुन आग्रह गरे।
नेकपा रुपन्देहीको जिल्ला कमिटीमा सचिव सहित एकसय ७३ जनाले सोमबार सामूहिक सपथ ग्रहण गरेका हुन्। अध्यक्ष शिवराज सुवेदीको भने यसअघि नै सपथ ग्रहण भइसकेको थियो।