प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतामा आतंक र त्रासको राजनीति गरेर पैसा असुल्ने माध्यम नबनाउन हिंसारत पक्षलाई आग्रह गरेका छन्।
मुलुकले लामो समय हिंसा भोग्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिसकेको भन्दै उनले अब हिंसाको राजनीति आवश्यक नभएको बताए ।
बाह्रौं गणतन्त्र दिवसको अवसरमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मुलुकको परिवर्तन र राजनीतिको नाममा हिंसाको आवश्यकता नभएको र हिंसाको बाटो छोडेर जनताको मन जित्न आग्रह गरे।
‘नेपालको संविधानले सबै परिवर्तनको बाटो खुला गरेको छ भने हिंसा केका लागि ?,’ उनले प्रश्न गरे ।
‘हिजो निरंकुश राणा शासन, पञ्चायती व्यवस्था र तानाशाहको अन्त्य गर्नु थियो, निरंकुश राजतन्त्र फाल्नु पर्ने थियो, तर हिजोको आधार देखाएर आज हिंसाको सहारा लिनु आवश्यक छैन,’ उनले भने।
जनताका बीचमा गएर विश्वास जित्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले जनताले दिन्छन् भने मुलुकको हरेक परिवर्तनको बाटो संविधानले नै खुला गरेको दाबी गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं. ५ दुई अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने पहिलो प्रदेश बन्ने दाबी समेत गरे।
केन्द्र सरकारले यस वर्ष ५ नं. प्रदेशको आर्थिक वृद्धिद्धर ७ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको उल्लेख गर्दै उनले दुई अंकको आर्थिक वृद्धिदर पनि सबभन्दा पहिले ५ नं. प्रदेशले प्राप्त गर्ने र पाँच नं. प्रदेशबाटै मुलुक निर्माणको बाटो तय गरिने दाबी समेत गरे।
‘नेपाली जनताले लामो समयदेखि देख्दै आएको दुई अंकको विकास दरलाई सबभन्दा पहिले हामीले प्राप्त गर्ने छौं,५ नं. प्रदेश बन्छ भन्नुको मतलब मुलुक बन्छ,’ उनले भने ।
उनले गौतमबुद्धको जन्मस्थलको रूपमा रहेको ५ नं प्रदेशलाई जनताको मुहारमा खुसी ल्याउने प्रदेशको रूपमा जनतालाई बाटो देखाउने प्रदेशका रूपमा स्थापित गरिने समेत बताए।
मुख्यमन्त्री पोखरेलले यो उपलब्धि केन्द्र सरकार, स्थानीय तह र प्रदेशका नागरिकले श्रम र पसिनाद्वारा आर्थिक क्रियाकलापमा दिएको योगदानको प्रतिफल स्वरूप प्राप्त भएको बताए।
यसअघि ३ देखि ४ प्रतिशतको हाराहारीमा रहेको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६ प्रतिशतभन्दा माथि पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारले अलमलायो भन्ने मान्यताहरू गलत रहेको बताए ।
ख्यमन्त्री पोखरेलले विकास र समृद्धिको दिशामा मुलुकलाई अगाडी बढाउन र जनताको बीचमा रहेको गरिबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई निर्मूल गर्नका लागि गणतन्त्रलाई नेपाली समाजको जीवनपद्धतिका रूपमा स्थापित गर्नु जरुरी रहेको बताए ।
‘गणतन्त्रलाई राजनीतिक प्रणालीका रूपमा मात्र होइन समाजको आर्थिक सामाजिक प्रणालीका रूपमा जीवन पद्धतिका रूपमा स्थापित गर्न आवश्यक छ,’ उनले भने, ‘गणतन्त्रलाई जति मौलिक सवल र सक्षम बनाउन सक्छौं हाम्रो गणतन्त्र वास्तविकरूपमा जनताको गणतन्त्रको रूपमा स्थापित हुने छ।’
बुटवल उपमहानगरपालिका र प्रदेश ५ सरकारको संयुक्त आयोजनामा आयोजित गणतन्त्र दिवस समारोहमा प्रदेश ५ का प्रमुख उमाकान्त झा, सभामुख पूर्णबहादुर घर्ती मगर प्रदेशका मन्त्रीहरूलगायत सर्वसाधारणको सहभागिता रहेको थियो।
समारोह अघि बुटवलको राजमार्ग चौराहबाट विभिन्न साँस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।
तस्बिरहरू :