प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यले आफूहरूलाई पनि निर्वाचन क्षेत्र विकासका लागि रकम छुट्याउनु पर्ने माग गरेका छन्।
आइतबार प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सदस्य तुलाराम घर्तीमगरले केन्द्र सरकारले संघीय सांसदलाई ६ करोड रुपैयाँ दिएजस्तै प्रदेश सरकारमार्फत् आफूहरूले पनि पाउनु पर्ने बताएका हुन्।
एउटै क्षेत्र र जिल्लाबाट निर्वाचित संघीय सांसद पैसा बोकेर जिल्लामा जाँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने उनको तर्क छ।
‘केन्द्रका सांसदहरू ६ करोड रुपैयाँको पोको बोकेर निर्वाचन क्षेत्रमा रमाइरहँदा प्रदेशका सांसदहरू टुलुटुलु हेरेर बस्ने अवस्था सृजना किन गर्ने?,’ उनले भने प्रश्न गरे।
सांसद घर्तीमगरले सांसदहरूको सहयोग नभए सरकार सफल हुन नसक्ने भन्दै सांसदसँगको दूरी नबढाउन आग्रह गरे।
‘सरकार सांसदसँग भिड्ने होइन, सांसदको सहयोगबिना सरकार सफल हुँदैन,केन्द्रका सांसदले माग्दा केन्द्र सरकारले दियो, प्रदेश सांसदले माग्दा प्रदेश सरकारले भने किन नदिने?, उनले भने, ‘सरकारको निजी सम्पत्ति पनि होइन, सांसदको निजी सम्पत्ति पनि होइन, सरकार र सांसदबीचको दूरी नबढाइयोस्।’
सांसद घर्तीमगरले कि केन्द्रका सांसदले पाउने ६ करोडलाई खारेज गर्नुपर्ने होइन भने प्रदेशका सांसदलाई पनि सांसद विकास कोषको रकम दिनुपर्ने बताए।
उनले संघीयताको सिद्धान्तविपरीत संघीय सरकारले प्रत्येक सांसदलाई ६ करोड दिने निर्णयको असर प्रदेश सांसदहरूलाई पनि पर्ने भएकोले संघीय सांसदले पैसा पाइरहँदा प्रदेशका सांसदहरू रित्तो हुनुपर्ने अवस्थालाई राष्ट्रिय रूपमै अन्त्य गर्नुपर्ने बताए।
‘प्रदेशका सांसदहरू पनि संघीय सांसदहरूले लिएको आधा भोट लिएर जितेका हुन्, उनीहरूले जिल्लामा पैसाको पोको बोकेर गएर मैले यहाँ दिएको छु, त्यहाँ दिएको छु भनेर गफ लगाउँदा प्रदेशका सांसद निरिह भएर बस्न सक्दैनन्, यस्तो अवस्था राष्ट्रिय रूपमा अन्त्य गरियोस्,’ उनले भने।
यसअघि पनि प्रदेश सांसदहरूले आगामी बजेटमा संसद विकास कोषको व्यवस्था गर्न सरकारलाई दबाब दिँदै आएका छन्। यसअघि संघीय सरकारले प्रतिसांसद ४ करोड बजेट व्यवस्था गरेअनुरूप प्रदेश सांसदहरूलाई पनि २ करोडका दरले विकास बजेट उपलब्ध गराउन उनीहरूले माग गर्दै आएका थिए।
अर्को बैठक आगामी जेठ ३० गते दिनको १ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको छ।