उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीमा कम्युनिष्टका कुनै सिद्धान्त नभएको टिप्पणी गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा भएको समाजवादी पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट पार्टी नभई ‘कमाउनिष्ट’ पार्टी भएको व्यंग्य गरे। त्यही पाटीले सत्ता सम्हालेकाले देश उभो नलाग्ने उनले बताए।
‘विगतमा सत्तामा रहेको काँग्रेसबाट पनि कुनै परिवर्तन सफल भएन,’ उपप्रधानमन्त्री यादवले भने, ‘पछिल्लो समय कम्युनिष्ट पार्टीले देशमा शासन चलाए उनीहरुबाट पनि परिवर्तन सफल भएन, यिनीहरु कम्युनिष्ट नभई कमाउनिष्ट भए।’
उनले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको एकताले सबै समुदाय र भुगोललाई समेट्ने कार्य गरेको बताए। नयाँशक्ति र संघीय समाजवादी फोरमबीचको एकता उदाहरणीय भएको भन्दै उनले अब राष्ट्रिय एकता बलियो बनाउन एकीकृत पार्टीले संघर्ष गर्ने बताए। ‘यो एकता समावेशिताको उदाहरण हो,’ अध्यक्ष यादवले भने, ‘देशमा अन्याय र असमानता अन्त्य गर्न समाजवादीले संघर्ष गर्छ।’
उनले विगतमा अन्य पार्टीले परिवर्तन ल्याउने तर टिकाउन कुनै कसरत नगर्ने गरेको आरोप लगाए। अहिलेको संविधान अपूर्ण रहेकोले यसलाई संसोधनसहित पूर्णता दिनुपर्ने धारणा पनि यादवले राखे।
कर्णाली प्रदेश राज्यबाट उपेक्षित र विभेदमा परेकोले नै पछि परेको उपप्रधानमन्त्री यादवको भनाई छ। ‘यहाँका नेताहरु यहाँकै जनताबाट मत पाएर जित्ने अनि काठमाडौं गएपछि हराउने, आफ्नो जमिनलाई विर्सने प्रवृत्ति विगतदेखि नै रह्यो’ यादवले भने, ‘नेताको यही प्रवृत्तिकै कारण यो क्षेत्र अत्यन्त पिछडिएको हो।’ उनले कर्णाली प्रदेश र मधेशलाई सँधै राज्यले उपेक्षा गरेको बताए। यी क्षेत्रमा राज्यका तर्फबाट विकासमा लगानी नपुगेको उनको भनाई छ।
उपप्रधानमन्त्री यादवले संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको बताएका छन्। आफ्नै स्रोतसाधन परिचालन गर्ने अधिकार संघीय सरकारले नदिनु र प्रदेशको काम गर्ने आफ्नै ईकाई नहुँदा समस्या देखिएको उनले औंल्याए।
उदाहरणीय एकता: बाबुराम
सो कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भौगोलिक, सामुदायिक र लैङ्गिक समावेशितका दृष्टिकोणले आफूहरुको एकता फरक चित्रका रुपमा उजागर भएको बताएका छन्।
यसअघिका कुनै पनि पार्टीले भूगोल, समुदाय, लैङ्गिक समावेशितालाई ख्याल नगरेको भन्दै उनले अहिलेको एकताले यसको उदाहरण दिएको बताए। ‘यसअघिका कुनै प्रजातन्त्रवादी, कम्युनिष्ट पार्टीले एकताका क्रममा समावेशितालाई ख्याल नगरेको अवस्थामा हामीले यसमा ध्यान दियौं,’ भट्टराईले भने, ‘अब यो पार्टी नेपाललाई अग्रगामी दिशामा लिन भूमिका खेल्नेछ।’
भ्रष्टाचार अन्त्य गरेर देशमा सुशासन कायम गर्ने समाजवादी पार्टीको अभियान हुने उनले बताए । उनले वर्तमान सरकारबाट पनि विकास र समृद्धिको कुनै सम्भावना नरहेको टिप्पणी गरेका छन्।