नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एक महिनादेखि गाउँमा छन्।
पहिलो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत ७७ जिल्लामा वैशाख २५ गतेदेखि केन्द्रीय सदस्यले पार्टी संगठन बलियो बनाउन लागिपरेका छन्। कांग्रेसले गाउँदेखि केन्द्रसम्म पार्टीको अवस्था बुझ्न, संगठन विस्तार गर्न र पार्टीको नयाँ विधानबारे जानकारी गराउन केन्द्रीय सदस्यलाई जिल्लामा खटाएको थियो।
कांग्रेसले यस पटक गाउँ गएका केन्द्रीय सदस्यलाई आसन र भाषण छोटकरी बनाउन लिखित निर्देशन नै दिएको छ भने आसन र भाषणमा महिला अनिवार्य छ। नेतालाई गलाभरि माला नलगाउन भनेको छ।
गाउँदेखि सहरसम्म कार्यकर्ता भेट्न पुगेका केन्द्रीय सदस्यलाई स्थानीय स्तरमा झ्यांगिएको गुट निमिट्यान्न गर्नेदेखि सञ्चारमाध्यममा पार्टीका समाचार कभरेज भए/नभएको हेरेर केन्द्रलाई प्रतिवेदन दिनुपर्ने जिम्मेवारी छ।
डेढ वर्षअघि प्रदेश र केन्द्रको चुनावमा धेरै सिट गुमाएपछि पार्टीभित्रबाटै जागरण अभियान सुरू गर्न नेतृत्वलाई दबाब थियो। तर कांग्रेसले ढिला गरी जागरण अभियान गरेकोमा बरिष्ठ नेता रामचन्द्र पौडेल पनि रूष्ट छन्। जागरण अभियानका लागि विभिन्न जिल्ला पुगेका कांग्रेस केन्द्रीय सदस्यलाई सेतोपाटीले गाउँका नेता/कार्यकर्ता के भन्छन् भनेर सोधेको छ।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे (ललितपुर)
पार्टीभित्रको झगडा, गुट, उपगुट अन्त्य हुनुपर्यो भन्ने नेता/कार्यकर्ताको भनाइ सुनें।
चुनावमा पार्टीका उम्मेद्वारलाई अन्तरघात भएका कुरा पनि उठेका छन्। अन्तरघात गर्नेलाई कारबाही गर्नुपर्यो भन्ने छ। पार्टीका गतिविधि कम भए, बढाउनुपर्यो पनि भनेका छन्। पार्टीलाई केन्द्रमा गतिशील बनाउनुपर्यो, कार्यकर्ता त यसै पनि जागरूक छँदै छन् किन जागरण अभियान चाहियो र भन्ने पनि सुनेँ।
जागरण केन्द्रका नेतालाई हुनुपर्यो भन्ने कार्यकर्ताको भनाइ छ। धेरैजसोले पार्टीभित्रको एकतामा जोड दिएका छन्। केहीले पार्टीले खोई अनुशासन कायम गरेको भनेर पनि प्रश्न गरे। पार्टीभित्र छलफल गर्नुपर्ने कुरा मिडियामा छताछुल्ल पारेको र पार्टीभित्रका छलफल बाहिर होहल्ला गरेकोमा पनि चित्त बुझेको रहेनछ।
पार्टीलाई गुनासो त हुने नै भयो। सरकारबारे पनि गुनासा रहेछ। सरकार निरंकुश हुँदै गएको हो कि भन्ने चिन्ता रहेछ। पार्टीले सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्यो किन नगरेको भनेर पनि सोध्नेहरू भेटेँ। ललितपुरका नेता/कार्यकर्ताले जनता जागरण कार्यक्रम लिएर जानुपर्छ भन्ने कुरा गरेका छन्।
केन्द्रीय सदस्य कमला पन्त (लम्जुङ)
म त आज पनि लमजुङ जाँदै छु। गाउँमा एकपछि अर्को कार्यक्रम छ। जनताले कांग्रेसबाट धेरै अपेक्षा लिएका छन्, त्यो स्वभाविक पनि हो। तर शीर्ष नेताको झगडाले कार्यकर्तामा निराशा रहेछ। भातृ तथा शुभेच्छुक संघसंस्थालाई समयमै महाधिवेशन होस् भन्ने चाहेका छन्। यो नराम्रो होइन जायज माग हुन्। म जहाँ जान्छु त्यहाँका साथीहरूले नेताहरु एक हुनुपर्यो भन्छन्। पार्टीका विभाग गठन गरेर संगठनलाई चुस्तदुरूस्त राख्न पनि सुझाव दिएका छन्।
केही साथीहरूले महासमिति बैठकका कुरा उठाएर चित्त दुखाउनुभएको रहेछ। महासमितिले केन्द्रीय सदस्य हुन चुनाव जितेर आउनु पर्ने कुरा उठाए पनि पार्टीले त्यो मानेको थिएन त्यही विषय सेलाएको छैन। खास भन्ने हो भने जनता कम्युनिष्ट सरकार देखेर बडो दंग रहेछन्। महंगी बढाएको छ, कर बढाएको छ।
यस्तो अवस्थामा जनतालाई सम्बोधन गर्ने खालको कार्यक्रम अलि बलियोसँग ल्याउन साथीहरूको आग्रह छ। सोझो भाषामा भन्ने हो भने साथीहरुले हामी त जागरूक नै छौं पहिले नेतालाई जागरण चाहिएको छ भनेका छन्। अनि केन्द्रकै झगडा मिलाउनुपर्यो भन्ने पनि छ।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ (पर्वत)
जागरण अभियान लिएर गाउँ आउनुभयो भनेर साथीहरू खुसी छन्। तर जागरण अभियान कार्यकर्तालाई भन्दा पनि नेतालाई आवश्यक छ भन्छन्। शीर्ष नेता पहिला ठीक ठाउँमा आउनुपर्यो एक हुनुपर्यो अनि जागरण गर्दै हिडेको सुहाउँछ भनेका छन्।
नेताहरु ६०/४० को भागबन्डामा झगडा गरेको मन परेको रहेनछ। भागबन्डामा आफ्ना मान्छे घुसाउन भएन, गुट उपगुट खडा गर्नु भएन भनेका छन्। सबैजसोको एउटै कुरा छ, जागरण नेतालाई चाहियो हामीलाई होइन भनेका छन्।
यतिमात्रै हो र? सरकारबारे पनि गुनासो रहेछ। महंगी बढ्यो सरकारले नियन्त्रण गरेन भन्ने छ। कर बढेकोमा पनि मानिसहरु खुसी छैनन्। सरकारले वाइड बडी भन्छ, निर्मला हत्या भन्छ के हो यो भनेर सोध्छन्, म त बुझाउँदै हिडेंको छु। सभा, सम्मेलन भएको छ। फुर्सदमा घरदैलो पनि गएको छु।
कार्यकर्तालाई सरकारको चिन्ता रहेनछ। पार्टी एक भयो भने ढिलोचाँडो सरकार आइहाल्छ भन्नेमा ढुक्क देखें। पार्टीलाई माया गर्नेहरू, हिजोदेखि संगठनमा बसेर दु:ख गरेका साथीहरूलाई सरकारभन्दा पार्टीको चिन्ता छ, यो राम्रो पक्ष हो।
धनराज गुरुङ (सदस्य अनुशासन समिति)
म अनुशासन समितिमा छु। कहीँकतै खटिएको छैन, तर म गाउँ गएको छु। हिजो सिन्धुली गएर आएको हुँ। म जहाँ गएको छु त्यहाँ पार्टीबारे सोधिखोजी गरेको छु। पार्टीको कुरा निकालेपछि सरकार जोडिन आउँछ। यो सरकारप्रति मानिसहरू खुसी रहेनछन्। हाम्रा कार्यकर्ता त खुसी भएनन् भएनन् जनता पनि खुसी हुन नसक्नु त राम्रो होइन नि!
सबै क्षेत्रमा सरकार असफल भए पनि कांग्रेसले कडा ढंगले प्रतिवाद नगरेको, संसद अवरुद्ध नगरेको, संसदमा आवाज बुलंद नगरेको कार्यकर्ताको गुनासो सुनेँ। सँगसँगै कांग्रेसले प्रतिपक्षमा भएर भ्रष्टाचारको काण्ड हुँदा पनि संसदमा किन आवाज उठाएन? भनेका छन्।
कांग्रेस किन चुपचाप बस्यो भनेर मानिसहरु गुनासो गर्छन्। जागरण अभियानबारे पनि गुनासो नहुने कुरा भएन। कांग्रेस नेताहरु आफैं जाग्नुस् भन्ने छ। तपाईंहरु केन्द्रमा नजाग्ने अनि हामीलाई जाग्नुस्, जाग्नुस् भन्दै हिड्ने? किन नजाग्या? विभाग गठन किन नगरेको? नेविसंघ किन गठन नगर्या? नेतृत्व जागेन, नेतृत्व सुतेर बस्ने अनि गाउँमा जनता जागेनन् भन्ने? यस्ता कुरा सुनेर म राजधानी फर्किएको छु। फेरि अरू जिल्लामा पनि जानु छ।
यति हुँदाहुँदै पनि जागरण अभियानको सकरात्मक पक्ष भनेको देशैभर कांग्रेसका कार्यक्रम भएको छ। चहलपहल भएको छ। केही मानिस पार्टी प्रवेश गरेका छन्। सकरात्मक-नकरात्मक सुझाव कांग्रेसलाई काम लाग्छ। सरकार र प्रतिपक्षप्रति गाउँमा जनताको गुनासो छ। सरकार र कांग्रेस दुवैले गुनासो नआउने गरी काम गर्नुपर्यो।