रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईको ब्यस्तता हिजोआज बढेको छ।
कार्यालय जान विहान ६ बजे घरबाट निस्किएका उनी साँझ अबेर फर्कंन्छन्। आर्थिक वर्ष २०७५/०७६ को अन्त्यतिर आईपुग्दा योजना कार्यान्वयनको पक्ष हेर्ने र नयाँ आ.ब.का लागि योजना बनाउने काममा पनि समय दिनुपर्दा उनको ब्यस्तता बढेको हो।
यतिमात्र कहाँ हो र?
उनी दुइटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छन्। गएको पुसमा छोडेर आएको रुपन्देहीकै रोहिणी गाउँपालिकाको काम पनि पाँच दिनदेखि उनकै काँधमा आइपरेको छ।
रोहिणीमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी हेर्न भट्टराईलाई नै खटाइदिएको हो।
रोहिणीका प्रशासकीय अधिकृत दामोदर भण्डारी विरामी भएकोले उनको ठाउँमा पनि हेर्ने गरी भट्टराईलाई जिम्मेवारी आएपछि उनको ब्यस्तता बढेको छ।
‘पहिले पनि दुई वर्ष रोहिणी गाउँपालिकामा काम गरेको थिएँ। अप्ठेरो पर्दा जान्न भन्न मनले मानेन,’ उनले सेतोपाटीसँग भने, ‘गाउँपालिका अध्यक्षले नै मन्त्रालयमा पत्र लिएर गएपछि अर्को ब्यवस्था नहुञ्जेलका लागि जिम्मेवारी स्वीकारेको हुँ।’
आ.ब. सकिनै लाग्दा विकास निर्माण, अनुदान र दैनिक कामकाज नै ठप्प हुने भएपछि प्रशासकीय अधिकृत छिटो पठाइदिन गाउँपालिका अध्यक्ष सनोजकुमार यादव मन्त्रालय गएका थिए।
एक महिना प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही मर्कामा परेका थिए। उनले सेवा सुविधा भने एउटा गाउँपालिकाबाट मात्रै लिएको बताए।
‘सेवा दुइटा गाउँपालिकामा दिए पनि सेवासुविधा भने सियारीबाट मात्रै लिन्छु,’ उनले भने। यी दुई गाउँपालिकाबीचको दुरी ३० किलोमिटर छ।