नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक सच्चिने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार रुपन्देही आएका भुसालले आइतबार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै पार्टीमा छलफलबिना नै मिडिया विधेयक ल्याइएकाले त्यसलाई पार्टीले नचिन्ने बताए।
सरकारले असावधानीवश विधेयक ल्याएकाले त्यो सच्चिाउनुपर्ने उनले बताए।
भुसालले पत्रकारिता पेसालाई साँघुर्याउने गरी कुनै पनि विधेयक पास नहुने दाबी गरे।
‘संसदमा दर्ता भएको विधेयक पार्टीले चिन्दैन, नेकपाले यो विधेयक चिन्दैन’, उनले भने, ‘सरकारले असावधानीवश ल्यायो होला अब करिब/करिब जस्ताको तस्तै यो विधेयक पारित हुँदैन भन्नेमा सरकारकै मानिसहरू पनि भन्दै हुनुहुन्छ त्यसैले खासगरी पत्रकारहरू त्रसित नहुनुस्, पत्रकारिता पेशा र पत्रकार जगतलाई साँघुर्याएर कुनै पनि विधेयक पारित हुँदै हुँदैन।’
नेता भुसालले पार्टी विधिले नचलेको समेत बताए। लामो समय बैठक नबस्नु, कार्यकर्ताको मूल्यांकन पद्धति नहुनु, एउटा व्यक्तिले टीका लगाएर दिएर कमिटीहरू गठन हुनु पार्टीभित्रको समस्या भएको उनको भनाइ थियो।
उनले पार्टीभित्र अन्तरविरोधको ठूलो समस्या रहेको भन्दै पार्टी विधिले चल्नेकी स्वेच्छचारिताले चल्ने भन्ने विषय नै अहिले मूल मुद्दा रहेको बताए।
‘बैठक बसिराखेको छैन नेकपाभित्र समस्या छ, अहिले विशाल नेकपाभित्रको सबभन्दा ठूलो समस्या भनेको अन्तरविरोध हो, पार्टीलाई विधिले चलाउने कि केही मानिसका इच्छाले चलाउने पार्टी विधिले चल्छ कि स्वेच्छाचारिताले चल्छ,’ उनले भने।
उनले पार्टीको आफ्नो परम्परा र त्यसका मूल्य मान्यताहरू भए पनि कोही व्यक्तिले तोकेर टीका लगाएर दिएकै भरमा विभिन्न कमिटीहरू निर्माण भएको बताए।
‘पार्टीमा कार्यकर्ताको मूल्यांकनको पद्धति हुन्छ तर यहाँ कसैले तोकेर टीको लाएर दिएकै भरमा विभिन्न तहका कमिटीहरु निर्माण भएका छन्,’ भुसालले भने।
भुसालले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्ने कुरा पार्टीलाई जानकारी नभएको बताए।
उनले ढोका लगाएर गरिएको सहमतिले पार्टीभित्र विधि स्थापित नहुने भन्दै जे सहमति भए पनि पार्टीभित्र पहिले नै छलफल जरुरी रहेको बताए।
पार्टीमा ९५ प्रतिशत बहुमत विधिले पार्टी सञ्चालन हुनुपर्ने भए पनि पार्टी विधिमा जान नसकेकाले यसको जवाफ दुवै अध्यक्षले दिन सक्नुपर्ने उनको भनाइ छ। राम्रो राष्ट्र बन्न राम्रो पार्टी बन्न सक्नुपर्ने र पार्टी व्यवस्थित भएमात्रै मुलुकको व्यवस्था व्यवस्थित हुने उनले बताए।
भुसालले आफ्नो निर्वाचन क्षेत्रको एकीकृत विकासका लागि आफू लागि परेको भन्दै सिद्धार्थनगरको विकासका लागि गुरुयोजना नभएकाले छिमेकी गाउँपालिकासँग समन्वय गरी एक अर्कालाई सहयोगी हुने गरी गुरुयोजना बनाउन पहल गर्ने पनि बताए।