जेठ २२ गते बुधबार, साँझ ६ बजेतिर।
धादिङ बेनीघाट रोराङ गाउँपालिका-३ स्थित मलेखु ताल्ती कच्ची सडकमा गुन्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ समूह गैरकानुनी कर उठाइरहेको थियो।
राधे समूहले सडकमा अवैध कर उठाइरहँदा स्थानीय पिकनिकबाट फर्किंदै थिए। बेनीघाट रोराङ गाउँपालिका-८ का २६ वर्षीय जनक मगर र अन्य केही वृद्ध महिला र बालबालिकालाई राधे समूहले बीच सडकमा रोक्यो। उनीहरूसँग पनि राधे समूहले पिकनिक खाएको ठाउँको पैसा मागेको थियो।
किन कर दिने? को हो तपाईंहरू? स्थानीयले प्रतिवाद गर्न खोज्दा राधे समूहले धारिलो हतियार देखायो। झगडा पर्यो। मगर घाइते भए।
झगडै परेपछि नजिकबाट प्रहरी गयो। प्रहरीमाथि ‘राधे’ समूह उल्टै जाइलाग्यो। प्रहरी कर्मचारीमाथि हातपात गरी युनिफर्म नै च्यातेर अभद्र व्यवहार गरेको धादिङ प्रहरी जनाएको छ।
सो घटनामा राधेसहित धादिङ निलकण्ठ नगरपालिका ३ का सुजन लामा, विमल शाही ठकुरी, समीर थापा, काजी शाक्य पक्राउ परे।
मगरले दिएको ज्यान मार्ने उद्योगको मुद्दामा प्रहरीले अभद्र व्यवहारसमेत थपेर शुक्रबार पाँचै जनालाई अदालतबाट म्याद थप गरेको छ।
‘तत्काल प्राप्त प्रमाणका आधारमा सोही मुद्दा लैजानु पर्ने देखियो, राधे समूहबाट भएको अन्य अपराधबाट अनुसन्धान भइरहेको छ,’ धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले भने, ‘घटनाबारे अनुसन्धान जारी छ, अहिले यति नै भनौं।’
नेपालमा ज्यान मार्ने उद्योग मुद्दा सार्वजनिक अपराधको मुद्दासरह मानिन्छ। यो प्रकरणमा राधे समूह अदालतमा मुद्दा पेश भएलगत्तै छुट्न सक्ने प्रहरी अधिकारीहरू नै बताउँछन्।
‘ज्यान मार्ने उद्योगको मुद्दा प्रहरीको कर्मकाण्डी कारबाहीजस्तो हो,’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘गुन्डागर्दी नियन्त्रण गरिएजस्तो देखिए पनि आपराधिक कार्यमा संलग्नहरू सक्रिय नै छन् भन्ने यो घटनाले देखाउँछ।’
राधेको समूहले धाकधम्की दिने, चन्दा उठाउने, फिरौती उठाउने गरेको प्रहरी भनाइ छ।
उक्त समूहले गैरकानुनी कर उठाएको हो भन्ने चाहिँ प्रहरीले ठ्याक्कै भन्न सकेन। ‘यो चाहिँ हामी अनुसन्धान गरेर पत्ता लगाउँदैछौं,’ डिएसपी रूपक खड्काले भने।
ठेक्कपट्टा, टेन्डर, निकासी कर, ढुंगा, बालुवा खानीलगायतमा गैरकानुनी असुली गरिरहेको ‘राधे’ समूहलाई चलाउन धादिङ यसअघि प्रहरीले हिम्मत गरेको थिएन। कांग्रेसनिकट ‘राधे’ तरुण दलका धादिङ जिल्ला उपाध्यक्ष हुन्।
उनको नेतृत्वमा हुने आपराधिक गतिविधिसँग प्रहरी जानकार छ, तर कारबाही गर्न भने डराउँछ। त्यसैको परिणाम थियो, २२ गतेको घटना। घटना भएको चार दिन बितिसक्दा पनि ‘राधे’ समूहबारे प्रारम्भिक जानकारी दिन सकेको छैन।
यता ‘राधे’ पक्राउ पर्नेबित्तिकै तरुण दल केन्द्रीय समिति उनको ‘ढाल’ बनेर उभिएको छ। राधेलाई नछोडे देशव्यापी आन्दोलन गर्ने चेतावनी तरुण दलले दिएको छ।
को हुन् राधे?
अहिले धादिङमा कुनै पनि सडक बनाउँदा ‘राधे’लाई नसोधी हुन्न। कर उठाउँदा यो समूहलाई भाग छुट्याउनुपर्छ। खोलानाला तथा ढुंगा र बालुवाखानी ‘राधे’ समूहको मुख्य आम्दानीको स्रोत नै हो।
अपराध महाशाखामा कार्यरत प्रहरी अधिकारीका अनुसार धादिङ निलकण्ठ नगरपालिका-३ का राधे इन्काउन्टरमा मारिएका अर्का गुन्डा नाइके दिनेश अधिकारी चरीका चेला हुन्।
२०६५ सालबाट चरीकै समूहबाट ‘राधे’ले आपराधिक गतिविधि थालेका हुन्।
केपी ओलीका विश्वासपात्र मानिने ‘चरी’ एमालेमा आवद्ध भएर एकछत्र राज गर्थे। ‘चरी’ समूहलाई तह लगाउने बहानामा ‘राधे’ समूह बनेको हो।
‘राधे’लाई कांग्रेसले च्याप्यो। तरुण दलले आफ्नो संगठनमा आवद्ध गरायो।
त्यसपछि धादिङमा ‘चरी’ वा ‘राधे’ को शक्तिशाली बन्ने होड नै चल्यो। २०७० साल असार २१ गते धादिङबाट काठमाडौं फर्किने क्रममा ‘राधे’ समूहले ‘चरी’लाई गोली नै हानेका थिए। त्यसपछि धादिङमा ‘राधे’लाई ‘चरी’को बलियो प्रतिद्वन्द्वीका रूपमा चिनिन थाल्यो।
‘चरी’ र अर्का गुन्डा नाइके कुमार घैंटे कुनै समय एकै समूहमा रहेर आपराधिक गतिविधि गर्थे। धादिङ ‘चरी’ले र काठमाडौं घैंटेले सम्हालेका थिए।
बाफलका स्थानीय समीरमानसिंह बस्नेत घैंटेसँग नजिक थिए। आपराधिक धन्दामा घैंटे र ‘चरी’बीच विवाद भएपछि टिम फुट्यो।
बस्नेत घैंटे समूहमा लागे। बस्नेतले ‘चरी’का दुश्मन राधेसँग सम्पर्क बढाए। यसपछि ‘चरी’ र ‘राधे’बीच मारामारको स्थिति बनेको थियो।
२०७० साल साउन ३१ गते ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि बस्नेतले घैंटेसँग मित लगाए। २०७२ भदौ ३ गते घैंटे मारिएपछि बस्नेतले घैंटेको सम्पत्तिमा दाबी गरेका थिए।
अहिले समीरमान र ‘राधे’बीच सुमधुर सम्बन्ध छ। समीरमान निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा नख्खु कारागारमा छन्।
प्रहरीले राजधानीमा गुन्डाहरूमाथि आक्रामक कारबाही थालेकाले ‘राधे’ राजधानी छिरेर अपराध गर्न सकेका छैनन्। धादिङमा भने उनको बलियो प्रभाव छ।
‘पछिल्लो समय राधे र समीरमान दुबै प्रहरीको उच्च निगरानीमा थिंए, समीरमान जेलबाटै आपराधिक गतिविधि गर्ने चाँजो मिलाउँछन्, राधेमाथि राजधानी छिरेको मौकामा प्रहरीले कारबाही गर्ने योजना बनाएको थियो, तर राधे काठमाडौं आएका थिएनन्,’ महानगरीय अपराध महाशाखा स्रोतले भन्यो।
के भन्छ तरुण दल?
तरुण दलले शनिबार पत्रकार सम्मेलन गरी ‘राधे’लाई नियोजित रुपमा फसाउन खोजिएको बताउँदै छुटाउन देशव्यापी आन्दोलन गर्ने चेतावनी दियो।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेत प्रहरीले राधेमाथि नचाहिँदा आरोप लगाएको दाबी गर्छन्।
‘कसले भन्यो ऊ आपराधिक मान्छे हो भनेर? ऊ हाम्रो दलको धादिङ जिल्ला उपाध्यक्ष हो,’ बस्नेतले भने, ‘यहाँ सत्र हजार मान्छे मार्ने प्रधानमन्त्री हुने, आन्दोलनको नाममा टाउको काट्ने मान्छे प्रधानमन्त्री हुने, हाम्रो कार्यकर्ताको सानोतिनो कमजोरी औंल्याएर क्रिमिनल भन्ने?’
बस्नेतले प्रहरीले ‘राधे’लाई फसाएकाले उनलाई छुटाउन तरुण दल संघर्षरत रहेको बताए।
नेपालमा राजनीतिक दलका नेता र गुन्डाहरूबीच सुमधुर सम्बन्ध पुरानै रोग हो। आपराधिक गतिविधिका मान्छेसँग दलको ‘कनेक्सन’ राम्रै देखिन्छ।
शक्ति देखाउन, चुनाव जित्न, प्रतिस्पर्धी तह लगाउने बहानामा कयन् नेताले गुन्डाहरूको साथ लिइरहेका छन्। प्रहरीबाट हुने कारबाहीबाट जोगिन गुन्डा नेताको छहारी लिने गरेका छन्।
‘सिमावर्ती क्षेत्रको तस्करी धन्दा, ठेक्कापट्टा, टेन्डर र अवैध असुलीमा गुन्डाहरू सक्रिय छन्, तिनीहरूलाई कारबाही गर्नु प्रहरीको दायित्व हो, संरक्षण गर्नेलाई पनि कारबाही गर्न प्रहरी हिच्किचाउन हुँदैन,’ पूर्वएआइजी सुरेन्द्रबहादुर शाह भन्छन्, ‘केही मान्छेको खास केही गुन्डासँग सम्बन्ध, सम्पर्क छ, तर पूरै हैन, प्रहरी पनि केही खराब छन्, तर संगठन खराब हैन। त्यसकारण, मुख्य कुरा गुन्डालाई कारबाही गुर्नपर्छ।’
नेपालमा केही गुन्डाहरूको नामले राजनीति र राज्यको ‘सिस्टम’लाई चुनौती दिने गरेको छ। गुन्डा नाइके दीपक मनांगे राजनीतिको वैशाखी टेकेरै मनाङबाट प्रदेश सांसद जिते। स्वतन्त्र उम्मेदवार उनलाई नेकपाको साथ थियो।
गणेश लामा फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा उनी जेल परेका छन्। नेता विजयकुमार गच्छदार उनका संरक्षक मानिन्छन्। चक्रे मिलन पनि नेकपा निकटै मानिन्छन्। नेकपामै रहेर पूर्वका पर्शुराम बस्नेत आपराधिक गतिविधिमा ‘रजगज’ चलाउँछन्। कांग्रेस निकट अर्का गुन्डा नाइके अभिषेक गिरी जेलमा छन्। यी पाँच ‘हाई प्रोफाइल’ गुन्डाहरूले सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका छन्। लामाबाहेक सबैले विशेष अदालतबाट सफाइ पाएका छन्। उनीहरूको मुद्दाको पुनरावेदन प्रक्रिया चलिरहेको छ।