सरकारले गुठी विधेयकबारे बुधबार वार्ता गरी विज्ञप्ति निकाले पनि आन्दोलनरत गुठियारहरूले भने कुनै सहमति नभएको र आन्दोलन 'एक इन्च पछाडि नहटेको' बताएका छन्।
काठमाडौंका गुठियारहरूसँगको छलफलपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका नाममा विज्ञप्ति सार्वजनिक गरिएको हो। उक्त विज्ञप्तिमा धर्म, संस्कृति र स्थानीय मूल्य-मान्यतालाई प्राथमिकता दिँदै सरोकारवालाहरूको चासो, चिन्ता र सुझावका आधारमा अघि बढ्ने बताइएको छ।
गुठियारहरू भने यही आश्वासनका भरमा आन्दोलन छाड्न तयार छैनन्। उनीहरूले मन्त्रालयको विज्ञप्तिलाई 'भ्रमपूर्ण' भनेका छन्।
बिहीबार बिहानै बसेको गुठियारहरूको बैठकले संसदमा प्रस्तुत विधेयक फिर्ता लिएर सरोकारवाला र विज्ञहरू समेतको संलग्नतामा नयाँ विधेयक नबनाएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ।
'हामी आन्दोलनबाट एक इन्च पछि हटेका छैनौं,' सरकारसँगको वार्ता र बिहीबारको छलफलमा समेत सहभागी नरदेवी गुठीका सचिव रामकाजी महर्जनले सेतोपाटीसँग भने, 'यसलाई अझ चर्काएर लैजाने हाम्रो निर्णय भएको छ।'
‘यो विज्ञप्ति नै भ्रमपूर्ण छ, यसमा हाम्रो खेद छ। हाम्रो माग भनेको यो विधेयक खारेज गरेर पुनर्लेखन गर्नुपर्छ भन्ने हो। यसलाई गुठीसँग सम्बन्धित व्यक्ति, सरोकारवाला र कानुनविद् राखेर पुनर्लेखन गर्न हामीले माग राखेका छौं। त्यो पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,' उनले भने।
सरकारी पक्षले गुठियारहरूसँगको वार्तालाई वंग्याएर प्रस्तुत गरेको उनले आरोप लगाए। मन्त्रालयमा भएको छलफलमा गुठियार र सरकारबीच कुनै सहमति नभएको उनले उल्लेख गरे।
‘हाम्रो माग यथावत् छ। विधेयक निःसर्त फिर्ता लिनुपर्यो,’ उनले भने, ‘हामीले आन्दोलन चर्काएर लैजान संघर्ष समितिहरू परिचालन गरेका छौं। हाम्रो संगठनलाई अझ बढी विस्तार गरेर यो आन्दोलन गाउँ-गाउँसम्म पुर्याउने निर्णय गरेका छौं।'
सरकारले सडकको 'सेन्टिमेन्ट' नबुझेको आरोप लगाउँदै उनले भने, 'मध्यस्थता गर्ने नेताहरूले नै हामी गुठियारहरूको भावना नबुझेको देखियो। हामी अब उनीहरूको भ्रममा पर्ने छैनौं। काठमाडौं जागिसक्यो, विधेयक फिर्ता नभएसम्म चुप लाग्दैनौं।'
काठमाडौंबाट सुरू आन्दोलन अहिले उपत्यकाव्यापी हुँदै गएको छ। विधेयकको विरोधमा कीर्तिपुरका स्थानीयले बुधबार साँझ विरोध प्रदर्शन गरे भने बिहीबार साँझ ५ बजे पाटनको मंगलबजारमा विरोधसभा गर्ने कार्यक्रम छ।
यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन्।
यी पनि हेर्नुहोस्: