गुठी व्यवस्थापनका नाममा सरकारले संसदमा दर्ता गरेको विधेयकले धर्म, संस्कृति, जात्रापर्व कसरी मासिन्छ र गुठीका जग्गा कसरी ‘भू–माफिया’को हातमा पर्छ भनेर हामीले केही दिनदेखि शृंखलाबद्ध स्टोरी प्रकाशित गर्दै आएका छौं।
हेर्नुस्ः
यही क्रममा उक्त विधेयक जस्ताको तस्तै पारित भए काठमाडौंका मठ–मन्दिरमा हुँदै आएको पूजाआजा र रितिथिति कसरी बिथोलिन्छ भनेर नरदेवी मन्दिरको उदाहरण आज प्रस्तुत गर्दैछौं।
नरदेवीमा श्वेतकाली मन्दिर छ, जसलाई नरदेवी मन्दिर भनिन्छ। यही मन्दिरको नाउँबाट यो ठाउँलाई नै 'नरदेवी' भनिएको हो।
मन्दिरको रेखदेख नरदेवी श्रीश्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले गर्दै आएको छ। यसमा करिब १ सय ४० गुठियार आबद्ध छन्। यी गुठियारहरूले आलोपालो मन्दिरको नित्यपूजादेखि सरसफाइ र अन्य कामको जिम्मा लिन्छन्।
गुठियारमध्येबाट हरेक साता एउटा परिवारको भागमा मन्दिरको जिम्मा पर्छ। यसरी एउटा गुठियारको पालो करिब तीन वर्षमा आउँछ।
विधेयकले भनेझैं यो मन्दिरबाट गुठियारको अधिकार खोसेर प्राधिकरणलाई जिम्मा लगाउने हो भने अहिले जसरी मन्दिर व्यवस्थापन हुँदै आएको छ, त्यो कसरी रहला?
प्राधिकरणले नियुक्त गर्ने नयाँ गुठियारबाट श्वेतकालीको पूजा उस्तै विधिपूर्वक सम्पन्न हुन सक्ला त?
संस्कृति र सभ्यता आफैंमा अर्थहिन हुन्छ, जबसम्म त्यसमा स्थानीय बासिन्दा जोडिँदैनन्। काठमाडौंका मठ–मन्दिर र जात्रापर्व आजसम्म जीवन्त रहनुको कारण स्थानीय समुदायको सहभागिता हो। अर्थात्, गुठियारहरू जोडिएकाले।
गुठियारहरूको अधिकार खोसेर सरकारी कर्मचारीका हातमा थमाउने हो भने संस्कृति जीवन्त रहन सक्दैन।
हाम्रा मन्त्री, सांसद, राजनीतिक नेता र सर्वसाधारणले बुझ्नैपर्ने कुरा के भने, काठमाडौंका मठ–मन्दिर र जात्रापर्वलाई जोगाएर राखेको सरकारले होइन। सरकारी कर्मचारीहरूको यसमा एक पैसा पनि भूमिका छैन। बेलाबेला जात्राका नाममा केही पैसा सहयोग गर्दै आए पनि जात्रा चल्ने भनेको त्यो पैसाले होइन, स्थानीयको आस्थाले हो।
आज आएर उनीहरूले आफ्नो भूमिका खोज्नु भनेको स्थानीय बासिन्दाको पुर्खौं पुर्खादेखिको योगदान उपेक्षा गर्नु हो। काठमाडौंका जनता विधेयकको विरोधमा उर्लनुको कारण यही हो।
नरदेवी व्यवस्थापन समाजका सचिव रामकाजी महर्जनका अनुसार नित्यपूजाबाहेक हरेक १५ दिनमा यहाँ बलि चढाएर पूजा गर्नुपर्छ। यसबाहेक घोडेजात्राको एक दिनअघि चतुर्दशीका दिन नरदेवी डबलीमा देवी नाच पर्व गरिन्छ। यो पर्व नेवारहरूका लागि दसैं जत्तिकै महत्वपूर्ण छ।
यहाँ बाह्र वर्षको एकपटक विशेष पर्व पनि हुन्छ। त्यो बेला काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रका डबलीमा पनि यहाँको देवी नाच प्रदर्शन गर्नुपर्ने महर्जन बताउँछन्। पछिल्लोपटक २०६६ मा उक्त विशेष पर्व गरिएको थियो।
यो मन्दिरसँग केही किम्बदन्ती पनि जोडिएका छन्।
मन्दिरकी देवी श्वेतकाली आफैं प्रकट भएको जनविश्वास छ। सेतो वर्णकी भएकीले श्वेतकाली नाम रहेको हो। पछि दाताहरूले छानो हालेर मन्दिर बनाए। राजा गुणकामदेवको पालामा मन्दिर बनेको इतिहास छ। यो मूर्ति भने किराँतकालकै मानिन्छ।
अर्को किम्बदन्ती सिपाही भोटु पाँडेसँग जोडिन्छ। उनी नरदेवीका परमभक्त थिए। तिब्बतमा नजरबन्द हुँदा पाँडेले नरदेवीलाई सपनामा देखेछन्। उनैले मन्दिरमा सुनको छाना लगाएर संरक्षण गर्न गुठी बनाएको महर्जन बताउँछन्।
यस्तो परम्परागत मन्दिरमा हुँदै आएको पूजाआजामा राज्यको के भूमिका त?
महर्जनका अनुसार हरेक पन्ध्र दिनमा हुने पूजाका लागि गुठी संस्थानले सिन्दुर किन्न ५ पैसा र एउटा बोका दिँदै आएको छ। वर्षभरिका अन्य पूजाआजा सम्पन्न गर्न ५६ हजार ७ सय रुपैयाँ दिन्छ। यति रकम दिन थालेको पनि दुई वर्षअघिबाट हो। त्यसअघि वर्षको १८ हजार थियो।
यो भनेको यहाँ खर्च हुने रकमको एक अंश पनि होइन। नपुग रकम स्थानीय गुठियारहरूले नै जुटाउँदै आएका छन्।
‘सयौं वर्षअघि जस्तो दरबन्दी थियो, अहिले पनि त्यही छ। त्यो समय जति पैसा दिइन्थ्यो, अहिले पनि लगभग उस्तै छ,’ महर्जनले भने, ‘हामी गुठियारहरूले आफ्नै खल्तीबाट पैसा हालेर यहाँको परम्परा चलाइरहेका छौं।’
विधेयकको पक्षमा वकालत गर्दै आएका मन्त्रीदेखि सरकारी कर्मचारीहरू गुठी मातहतका जग्गाको कुरा बढी उठाउँछन्। सबै गुठीमा जग्गा अपचलन हुँदै आएकाले त्यसलाई व्यवस्थापन गर्न यो विधेयक ल्याउनुपरेको उनीहरूको भनाइ सुनिन्छ।
के सरकारले भनेजस्तै सबै गुठी र गुठियारहरूले आफ्नो जग्गा अपचलन गरेका छन् त?
नरदेवीकै उदाहरण लिउँ। यहाँ गुठीका नाममा पहिले ३६५ रोपनी जग्गा थियो। अहिले २०–२५ रोपनी मात्र बाँकी छ। ती जग्गाको ठूलो हिस्सा केही मोही लागेर र केही गुठी संस्थानले नै ‘रजिस्ट्रेसन पास’ गरेर लगेको उनले बताए। ती जग्गामा ठूल्ठूला व्यावसायिक कम्प्लेक्स ठडिएका छन्।
गुठी संस्थानले त्यही जग्गा बापतको रकमबाट गुठियारहरूलाई वार्षिक खर्च दिँदै आएको हो।
‘गुठी संस्थानबाट पाउने वार्षिक खर्चले अहिले नै हामीलाई जात्रा चलाउन र पूजाआजा गर्न गाह्रो परेको छ, यही क्रम रहे केही वर्षमै धौ धौ हुन्छ,’ उनले भने, ‘यस्तोमा गुठियारहरूको अधिकार नै खोसेपछि कसले के उत्प्ररेणाका आधारमा काम गर्ने?’
यही कुरा संशोधन गर्नुपर्यो भनेर बारम्बार माग गर्दा पनि सुनुवाइ नभइरहेको अवस्थामा नयाँ विधेयकले उल्टो अधिकारसम्पन्न प्राधिकरणको व्यवस्था गरेको महर्जनले बताए।
‘यसले सबै गुठियारको अधिकार खिचेर धर्म, संस्कृति र परम्परामाथि राज्यलाई आफैं हालिमुहाली गर्ने छुट दिन्छ,’ उनले भने।
कुनै पनि व्यक्ति वा समूह आफ्नो स्वामित्वमा रहेको काम गर्न जति गम्भीर र जिम्मेवार हुन्छ, त्यति नै गम्भीर सार्वजनिक काममा हुँदैन। सर्वसाधारणले प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जात्रापर्वलाई पनि राज्य मातहत ल्याएपछि त्यसको सञ्चालन स्वतः फितलो हुँदै जान्छ। राज्यबाट सञ्चालित संघ–संस्था निस्क्रिय हुँदै गएका थुप्रै उदाहरण छन्।
‘न हामीलाई गुठी संस्थान चाहिन्छ, न त प्राधिकरण,’ उनले भने, ‘हामीलाई नियन्त्रण होइन, नियमन निकाय भए पुग्छ।’
नयाँ विधेयक गुठी परम्परा सिध्याउने नियतले आएको महर्जन बताउँछन्। यसले चलिआएको परम्परा त मासिन्छ नै, गुठियारहरूबीचको एकतासमेत भाँडिने उनको भनाइ छ।
नरदेवी समाजसहित काठमाडौंका केही गुठीको सामूहिक छलफलले विधेयकका २१ बुँदामा आपत्ति जनाएको छ।
गुठीको सम्पत्ति प्राधिकरण मातहत जाने, गुठियारको हक स्वतः समाप्त हुने, प्राधिकरणबाट नयाँ गुठियार नियुक्त हुने लगायतका बुँदामा उनीहरूले आपत्ति जनाएका छन्।
उनका अनुसार अहिले चलिआएको गुठीमा समेत गुठियारहरू सजिलै नियुक्त हुन पाउँदैनन्। पहिले बुबाको मृत्युपछि मात्र छोराहरू नियुक्त हुन्थे, अहिले भने आमाबाबुसँग छुट्टिएका वा जिम्मेवारी बहन गर्न सक्ने भइसकेकालाई मात्रै गुठियार बनाइन्छ।
नयाँ विधेयकले भने यो सबै व्यवस्था भताभुंग पार्दै रितिथितिसँग असम्बन्धित व्यक्तिहरूलाई पनि गुठीमा प्रवेश खुला गर्छ। यो धर्म–संस्कृतिमाथि खेलवाड भएको उनले बताए।
‘प्राधिकरणले गुठीलाई जग्गाजस्तो लिएको छ। गुठी भनेको त सामाजिक संरचना हो, त्यहाँभित्रको एकता हो,’ उनले भने, ‘यो नै नभएपछि हामी मन्दिर आउनै परेन, नित्यपूजा गर्नै परेन। मन लागे गरे भयो, मन नलागे नगरे भयो। त्यसपछि समुदायका सदस्यहरूको न भेटघाट हुन्छ, न त छलफल। यही क्रम जारी रहे यहाँका जात्रापर्व कसले चलाउने?’
महर्जनका अनुसार नेवार समुदायमा जन्मेदेखि मृत्युसम्मै गुठी आवश्यक छ। कसैको पास्नी, ब्रतबन्ध, विवाह वा पूजाआजा भए गुठीको ठूलो भुमिका हुन्छ। त्यसमा गुठियारहरू मिलेर काम गर्छन्।
मान्छेको मृत्युपछि सि गुठी (दाहसंस्कार), सनागु गुठी (मलामी) र बिचा गुठी (श्रद्धाञ्जलि) ले काजकिरिया सम्पन्न गर्छन्।
‘गुठीमार्फत् नभेटेका नातागोता पनि हामी भेट्न पाउँछौं। हाम्रो दुःख–सुख बाँड्छौं, जात्रापर्व मनाउँछौं,’ महर्जनले भने, ‘त्यो एकता भाँड्ने अस्त्रका रूपमा विधेयक आएको छ। हाम्रो एकता चलाउन सकिन्छ कि सकिँदैन भनेर नाडी छाम्ने काम गरेको छ।’