सरकार प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार पत्रकार सम्मेलन गर्दै सुनाए। उनले सुरुमा मन्त्रिपरिषदले गरेका निर्णयहरु फटाफट सुनाए। त्यसपछि केही जिज्ञासा भए राख्न उपस्थित पत्रकारलाई समय दिए।
पत्रकारले सोधे– सरकारले विधेयक ल्याउँछ आन्दोलनलाई निम्तो दिएजस्तो हुन्छ। शान्त तलाउमा सरकारले किन ढुंगा हान्छ? इटहरीका मेयर द्वारिकालाल चौधरीले जुन अभिव्यक्ति दिनुभएको थियो, त्यो विषयमा संघीय सरकारको धारणा के छ?
मन्त्रीज्यू, सार्वजानिक खरिद नियमावलीको संशोधन छैटौं र सातौं चाँडो चाँडो आयो, सरकार दुई कदम अघि बढ्ने तीन कदम पछि सर्नेजस्तो देखियो, के विज्ञानले काम गर्यो?
पत्रकारले सोधेका प्रश्न मुसुमुसु हाँस्दै टिपिराखेका प्रवक्ता बाँस्कोटाले भने– ‘प्रश्नका लागि धन्यबाद। अरु प्रश्न छन् भने पनि सोध्न सक्नुहुन्छ।’ यसपछि उनले प्रश्नका जवाफ दिन सुरु गरे।
उनले गुठी विधेयकबाट जवाफ दिन सुरु गरे। २०६२/०६३, संविधानसभा हुँदै ०७२ मा संविधान लेखिएकोसम्म उनले भूमिका बाँधे। गुठी कमलरीजस्तै सामन्तवादको रुप भएकोले भ्यालीभित्र र भ्याली बाहिरका गुठीलाई फरक दृष्टिले हेर्नुपर्ने उनले बताए।
उनले २७ वटा कानुन संसदमा रहेको बताए। ‘गाडी किनियो हिँडाउनका लागि बाटो चाहिन्छ, त्यस्तै हो विधेयक पनि,’ उनले उदाहरण दिए। पुराना कानुन विस्थापित गर्न नयाँ कानुन ल्याउनुपरेको उनको भनाइ छ।
यसपछि प्रवक्ता बाँस्कोटा मिडिया काउन्सिल विधेयकमा प्रवेश गरे। ‘हामी लोकतन्त्रको उपभोक्ता होइनौं, संस्थापक हौं,’ सोधे, ‘कम्युनिष्ट सरकार, प्रेस यो के मेसेज दिन खोजेको ?’ उनले कुनै तलाउमा ढुंगा हान्न नखोजेको बताए।
यत्तिकैमा अर्को प्रसंग निकाल्दै भने ‘बालुवाटारको जग्गा खोजी गरियो। स्यावासी पाउनु त कता हो कता उल्टै अप्ठेरो,’ बालुवाटारको जग्गाबारे यो पटक पत्रकारले नउठाएको प्रश्नमाथि उनले यस्तो जवाफ दिए, ‘सरकार बेथिति अन्त्य गर्न खोज्दै छ।’
पहिले सरकारलाई विषय राख्न समय दिन र पछि कन्टेन्ट विषयबस्तुमाथि छलफल गर्न उनले आग्रह गरे। ‘कन्टेन्टमाथि छलफल भएपछि केही कुरा इरर रहेछ भने सच्याउन सजिलो हुन्छ’ उनले भने।
उनले उपत्यका बाहिरका गुठीका कुरा झिके। स्वर्गद्वारीको। ‘स्वर्गद्वारीमा १२, १४ सय विघा जग्गा छ, त्यो सम्पत्ति कहाँ जान्छ?’ प्रश्न गर्दै उनले थपे, ‘त्यहाँ गएर गुठी छोयो कि सरकार ढल्यो भनेर केही हुँदैन। ढल्दैन सरकार। त्यो थाहा छ।’
केही दिनअघि प्युठान पुगेका कांग्रेस नेता गगनकुमार थापाले गुठी छोएमा सरकार ढल्ने अभिव्यक्ति दिएका थिए। थापालाई लक्षित गर्दै बाँस्कोटाले सरकार नढल्ने जवाफ फर्काएका हुन्।
उनले आफूविरुद्ध लेखिएका लेखबारे पनि कुरा निकाले। ‘मलाई लेख्या कुरा तपाईंहरुलाई देखाइदियो भने पढ्न सक्नुहुन्न। मेरै अगाडि पढ्नु न त भन्यो भने तपाईंहरु यसो गर्नुहुन्छ’ निहुरिँदै उनले भने।
उनी फेरि पत्रकारले सोधेको प्रश्नमा आइपुगे। सार्वजनिक खरिद संशोधन कस्तो विज्ञान हो भन्नेमा। प्रवक्ता बाँस्कोटाको जवाफ छ, ‘यो सामाजिक विज्ञान हो। अगाडि बढ्न खोज्यो। अघि बढ्ने भन्दा पछि तान्ने वातावरण कोकोहोलो मच्चाएर आउँछ।’
इटहरी उपमहानगरपालिकाका मेयरबारे सोधेको प्रश्नको उनले चतुरो ढंगले जवाफ दिए। ‘उहाँ स्थानीय सरकार हो। कुरा नगरी केही भन्न सक्दिनँ। उहाँ पनि जनप्रतिनिधि हो। मानवीय गल्ती भएको भए रियलाइज गर्नुहोला।’
मेयरले बोलेका कुरा धेरै थाहा नभएको बताउँदै उनले रमाइलो प्रसंग झिके, भाइरलको। ‘त्यस्तो भाइरल भएको कुरा थाहा पाइनस् भन्नुहोला। अचेल भाइरल त हाम्रो दिनमा एउटा न एउटा बन्छ। दिनदिनमा भाइरल, छिनछिनमा भाइरल!’
प्रवक्ता बाँस्कोटाले स्थानीय र संघीय सरकार मिलेर अघि बढ्नुपर्ने कुरा पनि ठट्यौली पारामै भने, ‘मिल्ने, अघि बढ्ने हो। काटाकाट गरेर हुँदैन। एकछिन बाझाबाझ अनि चाटाचाट गर्ने, अघि बढ्ने धन्यवाद।’
उनलाई पत्रकारले रोके। मन्त्रीज्यू लोक सेवाबारे सरकारको धारणा के छ? यो प्रश्नको जवाफ दिनुअघि उनले भने, ‘निकै कठीन प्रश्न।’ पत्रकारले भने, ‘ढिला आयो कडा आयो।’ प्रवक्ता बाँस्कोटाले स्वरमा स्वर मिलाएर भने, ‘अँ, यो पनि भाइरल हुन्छ।’ त्यसपछि हलमा हाँसो गुञ्जियो।
अन्तिममा उनले दैनिक कामकाज चलाउन कर्मचारी चाहिने बताए। ‘डेलिभरी नदिने, अनि गीत पनि गाइरहने। सरकारलाई अयोग्य करार गराउने त ?’ उनले प्रश्न गरे, ‘यो भन्दा बढ्ता बताउनुपर्दैन होला। आँ गर्दा अलंकार शीर्षक बनाइदिनुहुन्छ, धन्यबाद।’