गुठी विधेयकको विरोधमा पाटनमा विशाल मसाल जुलुस निकालिएको छ।
शुक्रबार साँझ स्थानीय गुठियारहरूको अगुवाइमा मसाल जुलुस निकालिएको हो।
यसअघि बिहीबार पाटनमा विभिन्न प्लेकार्ड बोकेर स्थानीयले गुठी विधेयकविरूद्ध प्रदर्शन गरेका थिए। मसाल जुलुसले पाटनका विभिन्न टोल परिक्रमा गरेको थियो।
यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन्।
यसअघि काठमाडौंका गुठियारहरूसँगको छलफलपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका नाममा विज्ञप्ति सार्वजनिक गरिएको थियो। गुठियारहरूले भने मन्त्रालयको विज्ञप्तिलाई 'भ्रमपूर्ण' भन्दै आन्दोलन चर्काउने निर्णय गरेका छन्।
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरूसँग सामूहिक छलफल गर्ने भएको छ।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरूसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो।
गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सरोकारवाला निकायले सरकारलाई दबाब दिइरहेका बेला सो सम्बन्धी तथ्यहरू बाहिर ल्याउने गरी विज्ञसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।
तस्बिरहरू: