प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि पूर्व तयारीमा जुट्न मन्त्रालयका सचिव र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्।
आइतबार आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेका मुख्यमन्त्री पोखरेलले चालू वर्षको बाँकी कार्यक्रम सम्पन्न गर्दै आगामी वर्षको बजेट कार्यान्वयनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका हुन्।
‘चालू आर्थिक वर्षको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिँदै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व तयारीमा जुट्नुस्,’ प्रदेश सरकारका सचिव तथा कर्मचारीलाई सोमबार निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले भने।
चालू आर्थिक वर्षको बाँकी समयमा हुने कामको गुणस्तरमा ध्यान दिन पनि मुख्यमन्त्री पोखरेलले निर्देशन दिए। बजेट कार्यान्वयन गर्न भन्दै हतारमा काम गर्ने प्रवृत्तिले गुणस्तर कमजोर हुने र अपेक्षित लाभ लिन नसकिनेतर्फ ध्यानाकर्षण गराउँदै पोखरेलले सुरूदेखि नै बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए।
मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पुरानो कार्यविधि परिमार्जन गर्नुपर्ने भए वा नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने भए अहिले नै प्रक्रिया अघि बढाउन पनि निर्देशन दिए।
यस्तै, कार्यक्रम कार्यान्वयनको लागि स्थान छनौट गर्नुपर्ने भए असार मसान्तभित्रै टुंग्याउन पनि उनले निर्देशन दिए। आगामी आर्थिक वर्षको कार्यक्रम प्रारम्भ गर्नुअघि मातहत कार्यालय तथा निकायहरूलाई आमन्त्रण गरी सम्बन्धित मन्त्री र सचिवले प्रत्येक कार्यक्रमको महत्व, अवधारणा र कार्यान्वयन विधि सम्बन्धमा अभिमुखीकरण गराउन मुख्यमन्त्रीले सुझाव दिए।
त्यसैगरी, कार्यक्रम कार्यान्वयनको दृष्टिले सकारात्मक संगठन संस्कृतिको विकास गर्न, गरिएका कामहरूको प्रक्रिया र प्रतिफलको अभिलेखाङ्कन गर्न र अभिलेखाङ्कन र प्रतिवेदन प्रणालीलाई डिजिटलाइज्ड गर्दै जान पनि उनले निर्देशन दिए।
यसअघि आगामी वर्षको बजेटका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको बजेट लक्षित समुदायतर्फ केन्द्रित रहेको दाबी गरे।
आर्थिक मामिला मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले आइतबार कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथकिमता दिँदै ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए।
मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएकोले आठ महिनाभित्रैमा बजेट कार्यान्वयन हुने दाबी गरेका छन्। प्रादेशिक अद्यावधिक योजना बनाएका कारणले योजनाहरूलाई आधार मानेर अहिले बजेट प्रस्तुत गरेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले बजेट कार्यान्वयन हुनेमा कुनै शंका नगर्न आग्रह गरे।
चालू आर्थिक वर्षको बजेट खर्च नभएकाले पनि आगामी वर्षको बजेटको आकार बढेको स्वीकार गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले घाटाको बजेट भने नल्याएको स्पष्ट पारे। चालू आर्थिक वर्षमा २८ अर्ब १० करोडको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको लागि चालू वर्षभन्दा ८ अर्ब ३० करोड बढिको बजेट प्रस्तुत गरेको थियो।