प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरूद्ध गरेर बोल्न नदिएपछि संसद भवनबाट बाहिरिँदै मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई पाँच बजे सिंहदरबार आउन निम्तो दिए।
युरोप भ्रमण, गुठी विधेयक र समसामयिक राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउने कार्यसूची थियो। तर कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने अडान राख्दै वेल घेरेपछि बुधबारसम्मका लागि संसद स्थगित भएको छ।
कांग्रेसको अवरोधकै कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रीहरू राखेर पत्रकार सम्मेलनबाट आफ्ना कुरा राखे।
प्रधानमन्त्रीले सुरूमै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले संसदीय मर्यादा कायम राख्न नसेकेको बताए।
‘आज संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको छ,’ प्रधानमन्त्री ओलीले थपे, ‘पहिले आफू बोल्न पाउनुपर्छ भन्ने बाल हठ दुनियाँमा कहीँ पनि हुँदैन।’
लोकतान्त्रिक आन्दोलनका आफ्ना पूराना मित्र देउवा नै वेल घेर्ने कामको नेतृत्व गरेको देख्दा आफू आश्चर्यमा परेको प्रधानमन्त्रीको भनाइ छ।
‘कांग्रेसले अड्डीमात्रै लिएन वेल घेरेर संसदको कामकारबाही नै अवरूद्ध गर्यो,’ उनले भने।
उनले संसदमा पहिले प्रधानमन्त्री बोल्ने पनि बताए।
‘पहिले प्रधानमन्त्री बोल्ने हो। त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता र मर्यादाक्रमअनुसार अरु बोल्ने हो,’ उनले भने।
हरेक क्षेत्रमा निहुँ खोज्ने काम कांग्रेसले गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए।
‘कम्तीमा पनि मेरा मित्र शेरबहादुर देउवालाई संसदको मर्यादा थाहा हुनु पर्थ्यो,’ उनले भने।
सरकारविरूद्धमा घोर दक्षिणपन्थीदेखि घोर वामपन्थीसम्म लागेको आरोप प्रधानमन्त्रीको छ।
सरकारले सामाजिक न्याय र समावेशितामा जोड दिँदै आएको पनि उनले उल्लेख गरे।
गुठी विधेयकलाई भ्रमपूर्ण तवरले प्रचार गरिएको र जनमानसमा भ्रम फैलाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
‘काठमाडौं र बाहिरका गुठी फरक छ। गुठीका नाममा उपत्यका बाहिर जनता प्रताडित छन्। प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन। सञ्चालन र नियन्त्रण गर्न खोज्यो भनेर भ्रम छरियो।’
गुठी विधेयक सरोकारवालासँग छलफल गर्नुपर्ने देखिएकोले सरकारले फिर्ता लिएको प्रधानमन्त्रीले जानकारी गराए।
प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्नुभन्दा १५ मिनेटअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।
उनले आफू विदेश भएका बेला विधेयकलाई लिएर नेपालमा प्रतिक्रियावादी र लोकतन्त्र विरोधीहरूले कैंची लगाएको पनि आरोप लगाए।
सरकारले विधेयक ल्याउने बित्तिकै माइतीघर मण्डलामा विरोध हुने गरेको उनको भनाइ छ।
‘जसो गरे पनि अनवरत आन्दोलन! माइतीघर त साँच्चिकै माइतीघर पो रहेछ। अलिकति केही पर्यो कि यस्तो भयो उस्तो भयो भन्न गइहाल्ने,’ प्रधानमन्त्रीले ठट्यौली शैलीमा भने, ‘विधेयकबारे संसदमा छलफल हुन्छ। सरोकारवालासँग र विज्ञसँग छलफल भइहाल्छ।’
लोकतन्त्रमा आन्दोलन गर्न नपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
‘सानातिना कुरालाई लिएर आन्दोलन गर्नुपर्ने अहिले अवस्था छैन। संवादबाट नै समाधान खोज्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने।
युरोप भ्रमण, कांग्रेसले गरेको संसद अवरूद्ध, गुठी विधेयकमा केन्द्रित रहेर आफ्ना कुरा राखेका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन टुंग्याउनुपूर्व मिडियाबारे पनि बोले।
‘बाउलाई तिमी, हजुरबालाई पनि तिमी, आमालाई पनि तिमी,’ मिडियाले प्रयोग गर्ने भाषाबारे असन्तुष्टि राख्दै प्रधानमन्त्रीले थपे, ‘भाषाको मर्म छ। सबैलाई समान भन्ने पनि होला। हाम्रो टिभीले तपाईं भन्न जानेको छैन।’