कर्णाली प्रदेश सरकारले छोरीको खातामा एक लाख २१ हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।
प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७६/७७ को बजेटमा छोरीको बैंक खाता खोलेर रुपैयाँ जम्मा गर्ने योजना छ।
यसका लागि यो वर्ष प्रदेश सरकारले सात करोड रुपैयाँ बजेट छुट्याएको छ।
बजेट वक्तव्यमार्फत छोरी जन्मिएको अवसरमा उनको नाममा बैंक खाता खोल्ने र सुरूमा एक हजार रुपैयाँ जम्मा गरिदिने गरी ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको’ कार्यक्रमको घोषणा गरिएको छ।
उक्त खातामा प्रदेश सरकारका तर्फबाट बीस वर्षसम्म मासिक रुपमा पाँच सय रुपैयाँका दरले जम्मा गरिदिने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
यसरी जम्मा गरिएको रकम बीस वर्षसम्म सुरूको एक हजारसहित एक लाख २० हजार पुग्छ।
‘छोरीको लालनपालन र शिक्षा, दिक्षाको लागि छोरी जन्मेको अवसरमा बैंकमा खाता खोली १ हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना पाँच सयका दरले विवाह योग्य उमेर बीस वर्षसम्म जम्मा गर्ने व्यवस्था गरिएको छ,’ बजेट वक्तव्यमा भनिएको छ।
यो कार्यक्रमले लैङ्गिक विभेद, बालविवाह न्यूनीकरणसँगै छोरीको शिक्षामा हुने लगानीमा सरकारको सहयोग पुग्ने विश्वास गरिएको मन्त्री ज्वालाले बताए।
‘अहिले पनि छोरीले गर्भदेखि नै हिंसा भोग्नुपरेको छ, भ्रुणमै छोरी भए हत्या गरिदिने अवस्था कायमै छ,’ उनले भने, ‘यस्तो खालको हिंसा अन्त्य हुनुको साथै आर्थिक अभावका कारण हुने बालविवाह, उचित शिक्षाका लागि यो कार्यक्रमले सहयोग पुग्नेछ।’
उक्त कार्यक्रमले छोरा जन्माउनै पर्ने मानिसको सोचमा परिवर्तन ल्याउने अपेक्षा प्रदेश सरकारको छ। ‘छोरा जन्माउनैपर्छ भन्ने जुन मानिसहरूको सोच छ यसको अन्त्य हुनेछ, छोराका लागि छोरीमाथि हुने विभेद अन्त्य हुनेछ,’ अर्थमन्त्री ज्वालाले भने।