गुठी विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा हजारौं मानिस भेला भए।
राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक २०७५ सरकारले मंगलबार फिर्ता लिने घोषणा गरे पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार मानिसहरु विरोध प्रदर्शनमा उपस्थित भएका थिए।
मानिसका भीडले माइतीघर मण्डल खचाखच थियो। यतिधेरै मानिस उपस्थित विरोध प्रदर्शनमा अरुबेला हुने आन्दोलनमा भन्दा केही फरक दृश्य देखियो।
हामीले माइतीघर मण्डलमा बुधबार देखेका दृश्यलाई यहाँ समेटेका छौं।
प्रहरीलाई फूल उपहार!
विरोध प्रदर्शनमा लाठी, बन्दुक बोकेर आएका प्रहरीलाई प्रदर्शनकारीले फूल उपहार दिँदै हिडेका थिए। गुठी विधेयककै विरोध गर्दा अघिल्लो साता (जेठ २६ गते) प्रहरीको लाठीले धेरै गुठियार घाइते पनि भएका थिए।
तस्वीर: निशा भण्डारी/सेतोपाटी।
तिनै लाठी हान्ने प्रहरीलाई गुठी विधेयकको विरोधमा ओर्लिएका गायक योगेश्वर अमात्य फूल बाँडिरहेका थिए। उनले दिएका फूल मुसुमुसु हाँस्दै लिएका प्रहरी आफ्नो बर्दीमा फूल सजाएर राख्न व्यस्त रहे। विरोध गर्ने अमात्यको यो नौलो शैलीको चर्चा छ।
एम्बुलेन्सलाई बाटो
तस्वीर स्रोत: सामाजिक सञ्जाल।
माइतीघर मण्डलमा विरोध प्रदर्शन हुँदा सडक मानिसले भरिभराउ थियो। त्यस रुट भएर चल्ने सवारीलाई ट्राफिक प्रहरीले अन्यत्र बाटोबाट पठाएका थिए। तर विरोध प्रदर्शन चलिरहँदा साइरन बजाउँदै एम्बुलेन्स आयो। बा १७ च २५६२ नम्बरको एम्बुलेन्सलाई प्रदर्शनकारीले बाटो खाली गरिदिए।
प्रहरीलाई पानी
तस्वीर स्रोत: सामाजिक सञ्जाल।
सेतोटोपी र सेतै टिसर्ट लगाएका एक प्रदर्शनकारीले टन्टलापुर घाममा उभिएका प्रहरीलाई पानी खुवाए। सडक छेउ फुटपाथमा उभिएका हतियारधारी प्रहरीलाई उनले पानी खुवाउँदै हिडेको दृश्य पनि नौलो थियो। जेठ २६ को आन्दोलनमा प्रहरीले प्रदर्शनकारीलाई पानीको फोहराले हानेर तितरवितर पारेको थियो।
फोहोर आफैं उठाए
प्रदर्शन सकिएपछि पानीका बोत्तल, चाउचाउका खोलले सडक फोहोर भएको थियो। प्रदर्शनकारीले आफैं फोहोर उठाएर सडक चिटिक्क पारे। आन्दोलनमा उपस्थित युवायुवती प्लास्टिकको ठूलो झोलामा फोहोर संकलन गरिराखेका थिए।
तस्वीर स्रोत: सामाजिक सञ्जाल।
प्रदर्शनकारीले सभ्यताको परिचय दिएकोमा सामाजिक सञ्जालमा चर्चा छ भने बुधबारको आन्दोलनबाट सकरात्मक कुरा सिक्न पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले सुझाव दिएका छन्। राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले बाजागाजा, झाँकी पनि प्रस्तुत गरेका थिए।