सर्लाहीमा केही समययता नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुःख दिएको गुनासो प्रहरीमा आउन थालेको थियो।
सर्लाहीको बागमती नगरपालिकामा विप्लव समूहको गतिविधि बढी थियो। विप्लवका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल बागमती नगरपालिकाकै बासिन्दा हुन्। पौडेलको घर बागमती नगरपालिका वडा नम्बर २ धरहरा हो।
पौडेलले विप्लव पार्टीमा हुँदा तीन वर्षअघिदेखि नै त्यहाँ गतिविधि बढाएका थिए।
हक्की स्वभावका पौडेल नेतृत्वमा बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब चार हजार बिघा जग्गा कब्जा गरी सुकुम्बासीहरुलाई बाँडेको थियो।
वृक्षारोपण गर्न परियोजनाका पदाधिकारी जाँदा पौडेल नेतृत्वको सयौंले अवरोध गरेका थिए। यसक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको थियो।
पौडेलले पार्टीको गतिविधिमा सक्रिय हुँदै स्थानीय निकायमा धाकधम्की बढाएका थिए। स्थानीय तहको निर्वाचन भएपछि उनी यो नगरपालिकाको काममा बाधा पुर्याउने, मेयर भरतकुमार थापालाई धम्क्याउने गर्थे। चन्दा असुलीलगायतका कार्य तीव्र पारिरहेका थिए।
‘नगरपालिका खाली गराउने’ उनले एक वर्ष अघिदेखि मेयर थापालाई राजीनामा दिन दबाब दिँदै आएका थिए।
‘राजीनामा दे, नगरपालिका खाली गराउँछु भन्न थालेको त एक वर्ष नै भयो,’ मेयर थापाले सेतोपाटीसँग भने, ‘चन्दा माग्ने, दुःख दिने, जनकारबाही गर्ने भनी त्रास देखाइरहनुभएको थियो।’
प्रहरीका अनुसार केही समय पहिले पौडेलले विज्ञप्ति जारी गरेरै थापालाई जनकारबाही गर्ने चेतावनी दिएका थिए। मेयर थापाले जनउत्तरदायी भएर काम नगरेको र भ्रष्टाचार गरेको आरोप विज्ञप्तिमा लगाइएको थियो।
पौडेल थापाका चिनजानका साथी नै हुन्।
‘उहाँहरू आफ्नो पार्टीको गतिविधि गर्नुहुन्थ्यो, म नगरको गतिविधिमा सक्रिय थिएँ,’ थापाले भने, ‘पार्टीको गतिविधि बढाउन उहाँले मलाई र बागमती नगरपालिकालाई निशाना बनाउनुभएको थियो।’
सरकारले फागुन २८ गते विप्लव माओवादीलाई प्रतिबन्ध लगाउने निर्णय गर्यो। त्यसपछि माओवादीले वैशाख ५ गते बन्द आह्वान गरेको थियो। राजधानीमा जेठ १२ गते बम बिस्फोटमा परी पाँच जना कार्यकर्ताको मृत्यु भएपछि त्यसको भोलिपल्ट विप्लव माओवादीले बन्द आह्वान गरेको थियो।
त्यो बन्दमा सर्लाहीका ईश्वरपुर, हरिपुर र बागमती नगरपालिकामा बम राखिएको थियो। बम सेनाले निस्कृय पारेकाले बिस्फोट हुन पाएन। प्रहरीका अनुसार बम पौडेलकै संलग्नतामा राखिएको थियो।
अर्कातिर सर्लाहीका निर्माण व्यवसायी, स्थानीय निकाय तथा व्यापारीहरूबाट व्यापक चन्दा उठाउन थालिएको गुनासो प्रहरीमा थियो।
‘चन्दा-आतंक बढेपछि सुरक्षा निकायमा धेरै नै जनगुनासो आउन थालेको थियो,’ दुई नम्बर प्रदेश प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्का भन्छन्, ‘प्रदेश प्रमुखको निर्देशनमा यस्ता गतिविधि रोक्न हामीले अभियान नै चलाउन थालेका थियौं।’
जेठ १३ गते बम भेटिएपछि मुख्य राजमार्ग उत्तरको क्षेत्रमा प्रहरीले व्यापक ‘अप्रेसन’ चलाउन थाल्यो, जहाँ पौडेलको घर पनि छ।
प्रहरीले सूचना संकलन गर्ने, विप्लव माओवादीका कार्यकर्ता खोज्ने क्रम तीव्र पारेको थियो। प्रदेश प्रहरी, स्थानीय प्रहरीमात्र नभएर विशेष ब्युरोको टोली पौडेललगायतको खोजीमा सादा पोसाकमा हिँडिरहेको थियो।
लामो खोजीपछि बिहीबार पौडेलसहितका चार जनालाई लालबन्दी नगरपालिका–१ स्थित लखनदेवी खोलामा फेला पारेको थियो।
विप्लव कार्यकर्ताले गोली चलाएपछि जवाफी फायर गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ। सो घटनामा चार जना विप्लव कार्यकर्ता रहेकोमा ती जना फरार छन्।
‘सादा पोशाकका प्रहरीमाथि उताबाट गोली चल्यो, त्यसक्रममा प्रहरीले जवाफी फायर गर्दा दोहोरो गोली हानाहान भएको हो,’ प्रहरी उपरीक्षक खड्काले भने।
दोहोरो गोली हानाहान भनिए पनि प्रहरीतर्फ भने क्षति भएको छैन। त्यहाँ कति राउन्ड दोहोरो फायरिङ भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले बताए।
गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको छ। घटनास्थलमा विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ र अर्को अनटेस्ट मोटरसाइकल भेटिएको छ। पौडेलको शव मलंगवा अस्पताल ल्याइएको छ।
पहिलो मधेस आन्दोलन हुँदा पौडेल चुरेभावर पार्टीमा थिए। त्यसपछि उनी माओवादीबाट छुट्टिएको मोहन वैद्य समूहमा लागे। वैद्यबाट छुटेपछि उनी विप्लव समूहमा पुगेका थिए।
यसअघि प्रहरी कारबाहीमा गोली लागी घाइते भएका भोजपुरमा तीर्थ घिमिरेको गत जेठ ८ गते उपचारका क्रममा मृत्यु भएको थियो।
उनी षडानन्द नगरपालिका-२ का बासिन्दा थिए। घिमिरेलाई प्रहरीले ट्याम्के मयुङ गाउँपालिका-१ को घोत्रेखानी जंगलमा गोली हानी हानेको थियो।
उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको थियो।
यो पनि :