पूर्वाधार विकासका लागि कार्यान्वयनको वर्षका रुपमा लिँदै रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार सुरू भएको नगरपालिकाको पाँचौं नगरसभामा नगर प्रमुख चित्रबहादुर कार्कीले समृद्ध सैनामैना सुखी जनताको संकल्प साकार पार्ने अठोटसहितको नीति कार्यक्रम तय गरिएको बताए ।
कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सुसंस्कृत, समृद्ध नगर सैनामैनाको आधारलाई साकार पार्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको प्रमुख कार्कीले बताए।
नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सबैसँग सहकार्य गर्ने भन्दै प्रमुख कार्कीले नगरपालिकाले निर्दिष्ट गरेबमोजिम आर्थिक समृद्धि एवम् दिगो विकासमा लाग्नु जनप्रतिनिधिहरू एवम् कर्मचारीहरूको साझा कर्तव्य रहेको बताए।
सैनामैनाले आर्थिक वर्ष २०७५/०७६ मा लिएका नीति तथा कार्यक्रमहरू कार्यान्वयन भइरहेको भन्दै आगामी आर्थिक वर्षमा यसलाई अझ उन्नतस्तरमा कार्यान्वयन गरिने नगरपालिकाको दाबी छ।
नगर गुरुयोजना निर्माण, ठूला पूर्वाधार विकास, एकीकृत नमुना बस्ती विकास, हाटबजार स्थानान्तरण एवम् निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि, पशु, स्वरोजगार एवम् क्षमता विकासजस्ता कार्यक्रमहरू प्राथमिकतामा परेका छन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, संघीय सरकार तथा प्रदेश सरकारको सहभागितामा समपूरक अनुदान तथा विशेष अनुदानबाट, सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास, अन्तर स्थानीय तह दमकल खरीद, व्यवस्थित सडक निर्माण, हाटबजार स्थानान्तरणको लागि पूर्वाधार निर्माणजस्ता कार्यक्रम सैनामैनाको प्राथमिकतामा छन्।
नगर गुरुयोजनाको आधारमा योजनाहरूको प्राथामिकता क्रम निर्धारण गरेर क्रमश कार्यान्वयन गर्दै लगिने र आम जनजीवनस“ग प्रत्यक्ष सरोकार राख्ने भूमिको व्यवस्थित तथा वैज्ञानिक उपयोग गर्ने वातावरण तयार पार्नका लागि नगरको भू–उपयोग योजना निर्माण गर्ने कार्य अन्तिम चरणमा रहेको प्रमुख कार्कीले बताए।
त्यसैगरी, नगरपालिकाभित्रका सबै विद्यालयमा जंक फुडलाई निरुत्साहित गर्नेदेखि विद्यालय भवनमा एकै किसिमको रंगरोगन गर्न प्रोत्साहन गरिने भएको छ। बिहानी सत्रमा सञ्चालन भएका सबै विद्यालयहरूलाई दिवा सत्रमा सञ्चालन गरिने भएको छ।
नगरप्रमुख कार्कीले माध्यमिक तह पूरा गर्न नसकेका र प्राविधिक शिक्षा पढ्न चाहने युवाहरूलाई सिटीइभीटीबाट सञ्चालन गरिएका छोटो तथा लामो अवधिको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा दिइँदै आएको छात्रबृत्तिलाई निरन्तरता दिइने बताए।
नगरपालिकाले पर्राेहा स्वास्थ्य चौकीलाई उपकरणसहितको व्यवस्था मिलाउनुको साथै, नेपाली सेना र स्थानीय समुदायसँगको सहकार्यमा यसै वर्ष सर्पदंश अस्पताल निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। उपप्रमुख बिना रानाले नगरपालिकाले हरियाली प्रवद्र्धनका लागि व्यापक वृक्षरोपण गर्ने, जडिबुटी खेतीमा प्रोत्साहन गर्ने र सरसफाइका लागि समुदायलाई नै परिचालन गर्ने खालका कार्यक्रम अगाडि सारेको बताइन्।
विद्यालय सुधारको लागि विभिन्न कार्यक्रम अगाडि सारेको नगरपालिकाले नगरसभाको अवसरमा कर्मचारी र करदातासँगै नगरभित्रका सामुदायिक विद्यालयका उत्कृष्ट पाँच जना शिक्षकलाई पनि सम्मान गरेको छ।
यस्तै, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट भएको भन्दै रामापुर माविलाई नगद ५ लाख अनुदानसहित सम्मान गरिएको छ।