सरकारले दमक नगरपालिका ३, ढुकुरपानीमा करिब ३ अर्ब रूपैयाँ लगानीमा ७२ फिट अग्लो व्यापारिक कम्प्लेक्स र भ्यू टावर निर्माण गर्न खोज्दा चौतर्फी विरोध भएको थियो।
केन्द्रीय बजेटबाट निर्माण गर्ने भनिएको उक्त योजनालाई धेरैले ‘स्रोत दुरूपयोग’ का रूपमा टिप्पणी गरेका थिए।
तनहुँ, व्यास नगरपालिकामा यस्तै योजना चर्चामा छ।
स्थानीय बजेटबाट कार्यान्वयन गर्न खोजिएको यो योजनाको उपयोगिता के हो भन्नेमा प्रश्न उठेको छ।
तनहुँको व्यास क्षेत्र विकास समितिले महर्षि वेद व्यासको अग्लो मूर्ति बनाउन लागेको हो। महर्षि व्यासको जन्म तनहुँमै भएको र उनले दमौलीमा रहेको गुफामा बसेर महाभारत लेखेको किम्बदन्ती छ।
वेद व्यास आफैं कति अग्ला थिए थाहा छैन, तर यहाँ बनाइन आँटेको मूर्ति भने एक सय आठ फिट अग्लो छ। तामाबाट बनाउने भनिएको यो मूर्तिका लागि ६२ करोड रूपैयाँ खर्च हुने समितिले जनाएको छ।
व्यासको मूर्ति बनाउनु नराम्रो होइन। समितिले भनेजस्तै उनको मूर्ति प्रतिस्थापन गरेर तनहुँको व्यास क्षेत्रमा पर्यटक पनि बढ्ला। तर, कत्रो मूर्ति राख्दा कति पर्यटक ओइरिन्छन् भन्ने संसारमा कसैले अध्ययन गरेको विषय होइन।
व्यासका नाममा पर्यटक आकर्षित गर्ने हो भने मूर्तिभन्दा महत्वपूर्ण सम्पदा त व्यास गुफा नै छ। यति महत्वपूर्ण सम्पदा भएको ठाउँमा कम खर्चमा बन्ने सानो कदको मूर्ति पनि उत्तिकै आकर्षण हुन सक्छ।
कुनै पनि गाउँका लागि ६२ करोड भनेको थोरै पैसा होइन। यसले खानेपानीदेखि शिक्षा र सिँचाइका थुप्रै योजना कार्यान्वयन गर्न सकिन्छ, जसको खाँचो अग्लो कदको व्यासभन्दा अग्लै छ।
पर्यटक आउला भन्ने अनुमानमा ६२ करोड खर्च गरेर मूर्ति उभ्याउनु सही निर्णय हो कि स्रोत दुरूपयोग भनी प्रश्न उठ्नुको कारण यही हो।
विकास समिति अध्यक्ष अशोक श्रेष्ठ भने व्यास नगरपालिकाको शिवपञ्चायन क्षेत्रमा मूर्तिसँगै धर्मशाला, वृद्धाश्रम, रिसर्च सेन्टर, योग सेन्टर, पानीका कुण्ड लगायत पूर्वाधार बनाइने हुँदा यति रकम लाग्ने बताउँछन्।
‘मूर्तिको लागत करिब ३५ करोड हो, बाँकी रकमबाट अन्य संरचना बनाइनेछ,’ उनले सेतोपाटीसँग भने।
उनका अनुसार यी पूर्वाधार ६० रोपनी क्षेत्रफलको जग्गामा बन्नेछ। मूर्ति बनाउन ३५ हजार किलो तामा प्रयोग हुने उनले जानकारी दिए।
यति ठूलो योजना आँटेको समितिसँग कति बजेट छ त भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले भने, ‘योजना ठूलो छ, तर पैसा छैन। अलिअलि भएको पैसा पनि डिजाइन बनाउने कन्सल्टेन्सीलाई दिइयो।’
योजना डिजाइन गर्नमै ५० लाख खर्च भइसकेको अध्यक्ष श्रेष्ठले बताए।
व्यास नगरपालिकाबाट गत वर्ष प्राप्त १० लाख पनि कन्सल्टेन्सीलाई भुक्तानी दिएको उनको भनाइ छ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले योजना अघि बढाउन सहयोग गर्नेमा उनी आशावादी छन्। पैसा अभाव नभए आगामी चार वर्षभित्र वेद व्यासको मूर्ति बनाएर अवलोकन खुला गर्ने योजना छ।
‘विकासका धेरै काम थाती रहेका बेला मूर्ति बनाउने योजना किन प्राथमिकतामा राख्नुपर्यो? भन्ने प्रश्नमा उनले भने, ‘पर्यटक आकर्षित गर्न यो योजना लाभदायक हुनसक्छ।’
व्यास नगरपालिकाकी उपमेयर मीरा जोशीले भने बजेट दिए पनि काम नगरेकोमा असन्तुष्टि व्यक्त गरिन्।
उनका अनुसार नगर कार्यपालिका बैठकमा मेयर वैकुण्ठ न्यौपानेले यस वर्ष पनि बजेट दिने प्रस्ताव अघि सारेका छन्। ‘अस्ति बैठकमा मेयरसाबले ५० लाखजति बजेट दिने प्रस्ताव गर्नुभयो। कति बजेट दिने अहिल्यै थाहा भइसकेको छैन,’ उनले सेतोपाटीसँग भनिन्।
गत वर्ष दिएको १० लाखबाट चित्तबुझ्दो काम नभएकाले यसपटक धेरै बजेट दिने पक्षमा उनी छैनन्। ‘काम नै गर्दैनन् के बजेट दिने?’ उनले प्रश्न गरिन्, ‘गत वर्ष पनि मैले कराएपछि काम नगरेसम्म बजेट नदिने भनेर रोकिदिएका थियौं। पछि दिइयो।’
उनले व्यासको मूर्ति बनाउने योजना सुरुमा वडा नम्बर ३ बाट आएको बताइन्। मूर्ति बनाएपछि पर्यटक आउँछन् भन्ने विश्वासका साथ योजनालाई प्राथमिकता दिएको उपमेयर जोशीको भनाइ छ।
‘हामी आएको पनि दुई वर्ष पूरा भएर तीन लागिसक्यो, तै मूर्ति बनाउने कामको सुरुआत नै नगर्दा दिक्दार लागेर आउँछ,’ उनले भनिन्।