त्रिभुवन विश्वविद्यालयले सुशासन र सदाचार (गुड गभरनेन्स र एन्टी करप्सन) विषयमा पठनपाठन सुरू गर्न आवश्यक गृहकार्य थालेको छ।
त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायमा ‘गुड गभरनेन्स र एन्टी करप्सन’ विषयमा स्नातकोत्तर (एमए) पढाउन लागिएको हो।
उपकुलपति तीर्थ खनियाले पाठ्यक्रम बनाएर सरोकारवालासँग छलफल सुरू गरेको सेतोपाटीलाई जानकारी दिए।
‘पाठ्यक्रम बनाइएको छ, आवश्यक फिडब्याक लागि सरोकारवालाबाट राय सुझाव लिने काम गरिराखिएको छ,’ खनियाले सेतोपाटीसँग भने।
मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिव भुसालका अनुसार परिमार्जनसहित पाठ्यक्रम तयार गर्ने काम छिटो सकिएमा यही वर्षदेखि स्नातकोत्तर तहमा उक्त विषयको पढाइ सुरू गरिन्छ।
‘विभिन्न समूह बनाएर विषयगत पाठ्यक्रम बनाइएको छ,’ डिन भुसालले सेतोपाटीसँग भने, ‘हामीले बनाएका पाठ्यक्रम के-कस्ता भए भनेर शनिबार सरोकारवालासँग छलफल गरियो। उहाँहरूबाट आएका फिडव्याकलाई समेटेर पाठ्यक्रम परिमार्जन गर्छौं।’
परिमार्जित पाठ्यक्रम तयार हुन केही समय लाग्ने उनले बताए।
‘पाठ्यक्रममा के-कस्ता विषय राख्ने भन्नेमा व्यापक छलफल गरिराखेका छौं,’ उनले भने, ‘हामी गुणस्तरीय पाठ्यक्रम कसरी बनाउन सकिन्छ भन्नेमा प्रयत्नशील छौं।’
सरोकारवालाहरूले रिसर्च गर्न सक्ने र काम नै गर्न सक्ने जनशक्ति उत्पादन हुने खालको पाठ्यक्रम बनाउन सुझाव दिएका छन्।
‘व्यवहारिक खालको पाठ्यक्रम हुनुपर्छ भन्ने सुझाव छ,’ उनले भने, ‘सर्टिफिकेटका लागिमात्र पढाउने होइन, रिसर्च गर्न सक्ने खालका जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने सुझावलाई हामीले मनन गरेरै पाठ्यक्रम परिमार्जन गरी तयार गर्छौं।’
परिमार्जित पाठ्यक्रमलाई त्रिविले पास गरेपछिमात्रै तयार हुन्छ।
उनले पठनपाठनका लागि पाठ्यक्रम बनाउने र अन्य व्यस्थापकीय कामहरू सकिए भने यही वर्षदेखि विद्यार्थीका लागि भर्ना खुलाउने उनले बताए।
पठनपाठन सेमेस्टर प्रणालीअनुसार हुने उनको भनाइ छ।
‘अरू विषयजस्तै यसमा पनि ६०/४० कै सिष्टम हुन्छ। हरेक विषयमा ६० नम्बरको लिखित परीक्षा र बाँकीमा प्राक्टिकल,’ उनले भने। यो दुई वर्षमा चार वटा सेमेस्टर हुने कोर्स हो।
गुड गभर्नेन्स र एन्टी करप्सन हेर्ने नेपालमा जनशक्ति नभएकोले त्रिविले पठनपाठन सुरू गरे स्वदेशमै त्यस्तो जनशक्ति उत्पादन हुने उनले बताए।
‘गुड गभर्नेन्स र एन्टी करप्सनका केसहरू पनि अन्य विषय पढेकोले हेरिराखेका छन्,’ उनले भने, ‘विदेशतिर पनि यो विषयमा पढाइ हुन्छ। त्रिविमा पनि पठनपाठन सुरू गर्ने जमर्को हाम्रो छ।’