महालक्ष्मी नगरपालिका, धनकुटाका मेयर परशुराम नेपाल आइतबारदेखि सामाजिक सञ्जालमा 'हिट' छन्।
गतिलो काम गरेर होइन। सलामी लिएर, त्यो पनि टेबुलमाथि चढेर।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उम्मेदवार रहेर मेयरमा विजयी परशुरामले टेबुलमाथि चढेर सलामी लिएको तस्बिर 'भाइरल' छ। तस्बिरमा अन्य अतिथिहरू मैदानमा लहरै उभिएका छन्। धेरैले माला लगाएका छन्। मेयर भने यी सबैभन्दा अलग बीचमा टेबुलमाथि ठिंग उभिएका छन्।
यस्तो तस्बिर सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ। तर, यसरी आफूलाई अरूभन्दा अग्लो ठाउँमा उभ्याएर सलामी लिनेमा परशुराम एक्ला छैनन्।
पछिल्लो समय केन्द्रीयदेखि स्थानीय स्तरका नेताहरूमा यस्तो सलामीको 'ट्रेन्ड' नै छ, जो अरूभन्दा आफूलाई अलग देखाउन नयाँ नयाँ जुक्ति गर्छन्। कोही पिर्कालाई रातो कपडाले मोरेर त्यसैमाथि उभिन्छन् त कोही टेबुलमाथि नै चढ्छन्।
विगतमा केन्द्रीय स्तरका नेता तथा मन्त्रीहरू जिल्ला वा गाउँ भ्रमणमा जाँदा प्रहरीले सलामी दिन्थे। देश संघीयतामा गएपछि सात प्रदेश र ७५३ स्थानीय तह बन्यो। केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटा सरकार बने। गाउँमा केन्द्रको अधिकार मात्र पुगेन, सलामी संस्कार पनि पुग्यो।
पहिले केन्द्रबाट गाउँ गएका नेता तथा मन्त्रीलाई सलामी दिएजस्तै गाउँको खेलकुद कार्यक्रममा सहभागी हुन गएका गाउँपालिका/नगरपालिका प्रमुखलाई पनि सलामी दिन थालिएको छ। यसरी सलामी लिने जनप्रतिनिधिहरू एकपछि अर्को विवादमा रहँदै आएका छन्।
यसअघि ओखलढुंगाको सुनकोशी गाउँपालिकामा आयोजित खेलकुद कार्यक्रममा प्रदेशसभा सांसद मोहनकुमार खड्काले लिएको सलामीको तस्बिर पनि 'भाइरल' भएको थियो।
उनी रातो कपडा मोरेको पिर्कामाथि उभिएर सलामी लिँदै थिए। तत्कालीन एमाओवादीका पोलिटब्युरो सदस्य खड्का ओखलढुंगा प्रदेशसभा क्षेत्र (ख) मा विजयी भएका थिए।
सलामीको लहरमा प्रदेश सरकारका मुख्यमन्त्री पनि के कम!
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको सलामीको चर्चा अझै सेलाएको छैन। मुख्यमन्त्री गुरुङ लहरै उभिएका अन्य अतिथिभन्दा अग्लो ठाउँमा उभिएर सलामी लिएको तस्बिरमा देखिन्छ।
सुदूर-पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट त खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममै रातो कार्पेटमा हिँडेका थिए।
गत वर्ष माघमा दार्चुला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममा सहभागी भट्ट राजाजस्तै रातो कार्पेटमा टेकेर मञ्चमा पुगेको भन्दै उनको आलोचना भएको थियो।
मुख्यमन्त्रीसँगै कार्यक्रममा पुगेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरा पनि चर्चामा रहे।
यो घटना आलोचित हुनुको कारण रातो कार्पेट बिच्छाउनु मात्र होइन, अतिथि सत्कारकै लागि छ लाखभन्दा बढी खर्च गरिनु पनि हो।
स्थानीय तह र प्रदेशका जनप्रतिनिधि मात्र होइन, यसअघि केन्द्रका नेता तथा मन्त्रीमा पनि सलामीको मोह देखिएको थियो। सलामीकै लालसाले मन्त्री विवादमा तानिएका घटनासमेत छन्।
एमाओवादी कोषाध्यक्षसमेत रहेका कृषिमन्त्री हरिबोल गजुरेललाई गोरखामा प्रहरीले उनी बसेकै होटल मिराकलमा पुगेर सलामी दिएका थिए।
केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा कृषि मन्त्री रहेका गजुरेललाई होटलको पार्किङ स्थलमा नेपाली झन्डा गाडेर पाँच जना प्रहरीको टुकडीले सलामी दिएको थियो।
गजुरेललाई त्यस बेला प्रहरीले होटलमै पुगेर सलामी दिनुको पनि कारण छ।
त्यति बेला गोरखा पुगेका तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफूलाई आँबुखैरेनीसम्म लिन नआएको भन्दै स्थानीय प्रशासन (सिडिओ/एसपी) सँग रुष्ट भए। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले परिणाम गम्भीर हुने चेतावनीसम्म दिए।
उनी काठमाडौं फर्केको भोलिपल्टै सिडिओ बलदेव गौतमको सरुवा भयो। गौतम ४३ दिन मात्र गोरखाका सिडिओ रहे।
एमाओवादीको उक्त कदम नसेलाउँदै मन्त्री गजुरेल गोरखा पुगेपछि प्रहरीको टुकडी उनलाई सलामी दिन होटलमै पुग्यो। तत्कालीन प्रहरी प्रमुख जनकराज पाण्डेयले बहालवाला मन्त्री जहाँ बास बसेका भए पनि पहिलोपटक बाहिर निस्कँदा सलामी दिने परम्परा रहेको भन्दै बचाउ गरेका थिए।
२०७३ मंसिरमा यस्तै अर्को घटना चर्चामा आयो।
तत्कालीन सहरी विकास मन्त्री नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी आफ्नो पुख्यौली घर नुवाकोटको विदुर जाँदा प्रहरीले घरमै पुगेर उनलाई सलामी दिए।
केसीले 'राजाकै शैलीमा' सलामी लिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि त्यस बेला केसी पक्षले प्रहरी आफैंले सलामी दिएको र मन्त्रीले ग्रहण मात्र गरेको तर्क गरेका थिए।
त्यस बेला नुवाकोटमा एसपी रहेका देबबहादुर बोहराले पनि संगठनको नियमअनुसार मन्त्रीलाई सलामी दिइएको प्रतिक्रिया दिएका थिए।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री रहेका एमाओवादी नेता महेन्द्रबहादुर शाहीलाई प्रहरीले दिएको सलामीले पनि लामो समय आलोचना खेप्यो। २०७४ कात्तिकमा बिनाविभागीय मन्त्री छँदा उनले कालिकोटमा आफू बास बसेकै होटलबाहिर प्रहरीबाट सलामी लिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चा बटुलेका शाही माओवादी युद्ध लडेका तथा छ र सात नम्बर डिभिजन कमान्डरको भूमिका निर्वाह गरेका व्यक्ति हुन्।
उनले समेत राजाकै शैलीमा सलामी लिएको भन्दै आलोचना भयो। उनी कर्णालीका मुख्यमन्त्री छन्।
यसरी केन्द्रीयदेखि स्थानीय स्तरका नेतामा समेत देखिएको सलामी मोहकै पछिल्लो उदाहरण हुन्, महालक्ष्मी नगरपालिका धनकुटाका मेयर परशुराम नेपाल।
उनले सलामीको तस्बिर 'भाइरल' भएपछि आफ्नो बचाउ गरेका छन्।
असार ४ गते नगरपालिकाले आयोजना गरेको नगरस्तरीय एघारौं राष्ट्रपति रनिङसिल्ड छनौट प्रतियोगितामा विद्यार्थीले सलामी दिएको घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित गरिएको भन्दै नगरपालिकाले सोमबार विज्ञप्ति निकालेको छ।
‘कार्यक्रममा उपस्थित सबैभन्दा वरिष्ठ व्यक्ति नगरप्रमुख रहेकाले खेलकुद समितिको विशेष अनुरोधमा खेलाडी र खेलकुदलाई हौसला प्रदान गर्न सम्मान अर्पण गर्नुभएको हो,’ प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा गरिएको नकरात्मक टिप्पणीप्रति नगरपालिका दु:ख व्यक्त गर्छ। अनर्गल र भ्रम फैलाउने सूचनाको पछि नलाग्न अपिल गर्दछौं।’
नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले प्रहरीले दिने सलामीबारे नियम नै रहेको बताए। तर, क-कसलाई सलामी दिने गरिएको छ भन्ने खुलेर बताउन सकेनन्।
‘गृह मन्त्रालयले पनि सलामी क-कसलाई दिने नियम छ भन्ने माग गरिराखेको छ,’ उनले यति मात्र भने।