आर्थिक वर्ष २०७६/७७ का लागि सुर्खेतका स्थानीय तहले आ–आफ्नो बजेट ल्याएका छन्।
गुर्भाकोट नगरपालिकाबाहेक अन्य ८ वटा स्थानीय तहले कुल ४ अर्ब ४३ करोड ३८ लाख ३५ हजार रुपैयाँ बजेट ल्याएका छन्। गुर्भाकोट नगरपालिकाले भने हालसम्म बजेट ल्याएको छैन।
स्थानीय तहले ल्याएको बजेट हालसम्म ‘डल्लो’ बजेटका रूपमा नै रहेको छ। कुन/कुन योजनामा कति बजेट खर्च गर्ने भन्नेबारे स्थानीय तहहरूले शिर्षकसहित योजनागत रूपमा भने विनियोजन गरेका छैनन्।
वीरेन्द्रनगर नगरपालिकाले खानेपानी तथा सरसफाइमा नगरवासीको सहज पहुँचमा वृद्धि, कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलकतर्फ उन्मुख, उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि र विस्तार, वीरेन्द्रनगर शैक्षिक पर्यटनको गन्तव्य बन्ने आधार तयार गर्ने जस्ता मुख्य योजनाहरू बनाएर एकमुष्ट रूपमा बजेट छुट्याएको छ।
तर, यी योजनामा कुन/कुन योजनाको कुन ठाउँ, शिर्षकमा कति बजेट भनेर विनियोजन गरेको छैन। आर्थिक वर्ष ०७६/७७ का लागि नगरपालिकाले जम्मा १ अर्ब २० करोड ७९ लाख रुपैयाँ बजेट ल्याएको छ।
महिला स्वरोजगार कार्यक्रमतर्फ एक करोड, नगरस्तरीय गुरुयोजना निर्माण तथा अध्ययन अनुसन्धानतर्फ १० लाख, महिलालाई सेनेटरी प्याड वितरणका लागि २० लाख, सहरी नापी कार्यक्रमतर्फ ४० लाख, ल्याण्डफिल्ड साइट निर्माणका लागि ५० लाख, विपद व्यवस्थापनतर्फ २५ लाख, महिला स्वयमसेवक प्रोत्साहनतर्फ १५ लाख, शैक्षिक तथा पूर्वाधार सुधार कार्यक्रमतर्फ १ करोड ५० लाख, नगर कृषि प्रवर्द्धनका लागि ३५ लाख रुपैयाँ वीरेन्द्रनगर नगरपालिकाले छुट्याएको छ।
लेकवेशी नगरपालिकाको कुल बजेट ४८ करोड ४८ लाख ८० हजार रुपैयाँ रहेको छ। लेकवेशीले पनि केही मुख्य योजना बनाएर बजेट छुट्याए पनि स्थानअनुसार योजना तोकको छैन।
नगरपालिकाले पहिलो प्राथमिकतामा शिक्षा राखेको छ। जसमा शैक्षिक सुधारका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ।
नगरपालिकाका मेयर गगनसिंह सुनारले कार्यपालिकाको बैठकमार्फत् योजनागत रूपमा बजेट विनियोजन गर्ने बताएका छन्। वडाका जनप्रतिनिधिहरूले योजना ल्याउने र त्यस अनुसार बजेट विनियोजन गरिएको मेयर सुनारले बताए। लेकवेशी नगरपालिकाको बजेट असार २५ गतेभित्र पूर्णरूपमा विनियोजन गरिसक्ने जानकारी दिए।
सिम्ता गाउँपालिकाले ५९ करोड ५२ लाख ४८ हजार रुपैयाँ बजेट ल्याएको छ। सिम्ताले पनि केही मुख्य योजना बनाएर मात्र बजेट छुट्याएको छ।
उर्जा, सडक र शिक्षालाई उच्च प्राथमिकता दिएको गाउँपालिकाको बजेटमध्ये पूर्वाधार विकासका लागि ९ करोड ९१ लाख १२ हजार, विपद् व्यवस्थापनका लागि ३० लाख, संस्थागत विकासका लागि ५१ लाख ५० हजार छुट्याएको छ। अन्य आयोजना बन्ने स्थान, त्यसको शिर्षकका रूपमा भने सिम्ताको बजेट पनि ‘डल्लो’ नै छ।
‘कार्यपालिकाबाट छलफल गरेर बजेट हाउसमा लिनुपर्छ, यो प्रक्रियामार्फत् बजेट विनियोजन गर्ने समय अझ छ,’ गाउँपालिकाका अध्यक्ष कवीन्द्र कुमार केसीले भने, ‘असारको २५ देखि ३० गतेभित्र पूर्णरूपमा विनियोजन गरी डल्लो बजेट फुकाउने काम हुन्छ।’
गाउँपालिकाले सिम्ता उज्यालो कार्यक्रम, वडा कार्यालयसम्मका पहुँच मार्ग (सडक) निर्माण, शहीद ऋषि स्मृति चक्रपथ, शहीद ईन्द्र विसी द्रुतमार्ग (सिम्ताबाट कर्णाली प्रदेशको राजधानी जोड्ने सडक) लगायतलाई प्राथमिकता दिएर त्यसअनुसार बजेट छुट्याएको अध्यक्ष केसीले बताए।
भेरीगंगा नगरपालिकाले ५८ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट आगामी आर्थिक वर्षको लागि ल्याएको छ।
नगरपालिकाले पूरै बजेट हालसम्म डल्लो बनाएर राखेको छ।
नगरपालिकामा रहेका माध्यमिक तहमा निःशुल्क सेनेटरी प्याड, स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा अघि बढाउन माध्यमिक तहमा नर्सिङ कर्मचारीको व्यवस्था, छिन्चुमा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालन, छोरी लक्ष्मी बचत कार्यक्रम जस्ता मुख्य योजना बनाएर बजेट ल्याएको भेरीगंगाले पनि योजनागत रूपमा शिर्षक बनाएर भने विनियोजन गरेको छैन।
भेरीगंगा नगरपालिकाको बजेटमाथि आइतबार (असार १५ गते) बाट छलफल सुरू हुने नगरपालिकाका उपमेयर रेणु आचार्यले जानकारी दिइन्।
उनका अनुसार भेरीगंगाको बजेट असार २३ गतेसम्म पूर्णरूपमा विनियोजन भइसक्ने छ।
यीबाहेक सुर्खेतका अरु स्थानीय तहले पनि बजेट पूर्ण रूपमा विनियोजन गरेका छैनन्। चिङ्गाड गाउँपालिकाले २७ करोड ७३ लाख ३९ हजार, चौकुने गाउँपालिकाले ३४ करोड ४० लाख, बराहताल गाउँपालिकाले ४० करोड १५ लाख ८२ हजार, पञ्चपुरी नगरपालिकाले ५४ करोड ८ लाख रुपैयाँ बजेट आगामी आर्थिक वर्षका लागि ल्याएका छन् ।