प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र दमकमा ‘राष्ट्रिय महत्वको योजना’ भन्दै डेढ अर्बबढी लागतमा ‘भ्यू टावर’ निर्माण प्रक्रिया थालिएको छ। प्रधानमन्त्री ओलीले आफ्नै पहलमा ‘भ्यू टावर’लाई राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा पारेका छन्।
बहुवर्षीय योजनामा परेसँगै भ्यू टावर साकार पार्न अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेको थियो। अहिले सहरी विकास मन्त्रालयले निर्माण अघि बढाएको हो।
सहरी विकास मन्त्रालयका अनुसार बुधबार भ्यू टावर निर्माणमा परेको बोलपत्र मूल्यांकनको अन्तिम प्रक्रिया टुंगो लगाइएको छ। भ्यू टावर निर्माणको ठेकेदार चिनियाँ र नेपाली कम्पनी संयुक्त रुपमा छनौट भएका छन्।
जेसिडिआइइसी-आशिष-ओमसाई जेभीले १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ (कर बाहेक)मा ठेक्का पाएको हो। कर जोड्दा यो रकम १ अर्ब ५५ करड भन्दा धेरै हुन आउँछ। ठेक्का प्रतिस्पर्धामा न्यून कबोलेकाले उसलाई भ्यू टावरको ठेकेदार कम्पनी छनौट गरिएको मन्त्रालयले जनायो।
बहुवर्षीय र राष्ट्रिय महत्वको योजना अर्थ मन्त्रालयले बजेको स्रोतको सुनिश्चितता गरेपछि मात्रै निर्माण अघि बढ्छ। ‘अर्थले बजेको स्रोत सुनिश्चित गरेपछि ठेक्काको टुंगो लगाइएको हो,’ सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव कृष्णप्रसाद दवाडीले सेतोपाटीसँग भने, ‘अब तुरुन्तै काम अघि बढ्छ।’
उनका अनुसार तीन वर्षभित्र टावर बनाइसक्ने योजना छ। कुनै बाधा-अवरोध नहुने निश्चित भएपछि मात्र ठेक्का अघि बढाइएको दवाडीले बताए। ‘यस्तो योजनामा बाधा अवरोध नहुने निश्चित भएपछि मात्रै ठेक्का लगाइन्छ,’ उनले भने।
दमक क्षेत्रमा आर्थिक तथा पर्यटकीय गतिविधि बढ्ने सम्भावना धेरै रहेका हिसाबले ‘भ्यू टावर’ राष्ट्रिय महत्वको योजनामा परेको दवाडीले बताए।
यो प्रधानमन्त्री ओलीको ‘सपना’को योजना पनि हो। उनले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर बनाउने भनी पहिलो प्रधानमन्त्री कार्यकालमै शिलान्यास गरेका थिए। संघीय सरकार आफैंले भ्यू टावरको जिम्मा लिनेछ, प्रदेश वा स्थानीय सरकारसँग समन्वय हुँदैन।
दमक नगरपालिकाका अनुसार स्थानीय वा प्रदेश सरकारसँग भ्यू टावर निर्माणको सम्बन्ध रहने छैन। ‘यो केन्द्र सरकारकै बजेट र उसकै योजना हो,’ दमक नगरपालिकाका मेयर रोम वलीले भने, ‘स्थानीय सरकारसँग भ्यू टावर निर्माणको संलग्नता रहन्नँ।’
संघीर सरकारका ठूला योजना हेर्ने कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना झापा चन्द्रगढीमा छ। यसको फिल्ड कार्यालय दमकमा छ। जहाँबाट ईन्जिनियरहरुको टोलीले भ्यू टावरको अनुगमन गर्नेछन्। ‘सहरी विकास मन्त्रालयसँग समन्वय गरी भ्यू टावर निर्माणको कामको अनुगमन यो कार्यालयले गर्छ,’ कार्यालय प्रमुख विदुर खड्काले भने।
ओलीले पहिलोपल्ट प्रधानमन्त्री भएका बखत दमक नगरपालिका-३ ढुकुरपानीमा भ्यू टावर बनाउने भन्दै शिलान्यास गरी जग्गा जुटाउन दमक नगरपालिकासँग सहयोग मागेका थिए। दमक नगरपालिकाले भ्यू टावरका लागि अहिले पाँच बिगाहा जमिन स्थानीयबाट जुटाएको छ।
त्यही पाँच बिगाहा क्षेत्रफलमा १८ तले भ्यू टावर बनाउने लक्ष्य राखिएको वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले बताए। उनका अनुसार भ्यू टावरबाट दृश्यावलोकन गर्ने मात्र नभएर व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सेमिनार हललगायत बनाउने योजना छ।
भ्यू टावरको नाम ‘फाल्गुनन्द’ रहने सहरी विकास मन्त्रालयले जनाएको छ। उनी पूर्वका किराँत धर्मगुरु थिए। टावर ७२ मिटर अग्लो हुने छ र यसभन्दा माथि २८ मिटरको स्टिल टावर पनि रहने खड्काले बताए। २१ हजार १९७ स्क्वायरफुट जमिनमा भ्यू टावर उठाइने खड्काले जनाए।
दमक नगरपालिका–३ ढुकुरपानी विकासको दृष्टिकोणले निकै पछि परेको ठाउँ हो। ढुकुरपानी चुरेको फेदैमा छ।
दमकको सिरानमा रहेको ढुकुरपानीको ग्रामीण भेग जोड्ने मुख्य बाटो नै कच्ची छ। पूर्व-पश्चिम राजमार्गबाट उत्तर रहेको ढुकुरपानी क्षेत्रमा पाइपबाट खानेपानी पुगेको छैन। जनता ट्युबेलको पानी पिउँछन्। २०३९ सालमा स्थापना भएको दमक नरपालिकाले पछिल्ला ३६ वर्षमा त्यहाँ खानेपानीसम्म पुर्याउन सकेको छैन।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दमक नगरपालिकामा कार्यकारी अधिकृत युवराज दाहाल थिए। उनकै पालामा जग्गा जुटाउने काम भएको थियो। ओलीको निजी सचिव हुँदा दाहालले योजना तीव्र कार्यान्वयनमा तदारुकता देखाएका थिए। उनको गत फागुनमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।