असार आर्थिक वर्षको अन्तिम महिना हो। यो वर्षका लागि छुट्याइएको विकास बजेट असारभित्र खर्च भएन भने ‘फ्रिज’ हुन्छ। अर्थात् खर्च गर्न पाइन्न।
त्यसैले देशैभरि अहिले बजेट जसरी पनि सक्न 'असारे विकास'को ज्वरो चलेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार लागेपछि दैनिक करिब चार अर्ब रुपैयाँ सरकारी खाताबाट खर्च भैरहेको छ।
'असारे विकास'ले गरेको ध्वशंको एउटा उदाहरण बनेको छ- सुदूरपश्चिममा पर्ने बझाङ जिल्लाको पाटालदेव गाँउको अगासे। शुक्रबारको कान्तिपुर दैनिकमा पहिलो पटक प्रकाशितयो स्टोरीको विस्तृत हामीले खोतलेका छौं।
बझाङको पाटादेवल गाँउको अगासे खेतमा बुधबार रोपाइँ थियो।
हली, गोरु, बाउसे, रोपार खेतमा थिए। घाम लागेपछि दिउँसो गर्मी हुने भएकोले बिहानपख खेत हिल्याएर साउने कामसमेत किसानले भ्याइसकेका थिए। बियाडबाट बिउ काढेर रोपारहरूले केही गह्रामा रोपाइँ सकेका थिए।
खेत रोपाइँका लागि धवाली खोलाको पानी कुलोबाट खेतसम्म ल्याइएको थियो। मध्यान्ह १२ बजेतिर कुलोमा एक्कासी पानी सुक्यो। रोपाइँ चल्दाचल्दै कसले कुलो भाँचिदियो भन्दै किसानहरू कुलो हेर्दै खोलातर्फ लागे।
कुलो भाँचेर कसैले पानी लगेका रहेनछन्, डोजरले भत्काएको रहेछ।
किसान दाने आग्रीले सेतोपाटीसँग कुरा गर्दै भने, ‘खेत रोपाइँ चल्दै थियो, कुलो तहसनहस बनाइदिए। भर्खरै रोपेको रोपो उधिनेर बाटो खनेछन्। हाम्रो पसिना दु:ख माटोमा मिल्यो।’
डोजरले उनको खेतमात्र उधिनेन। पाटादेवलका २० जना किसानको खेत सडकको नयाँ ‘ट्रयाक’ खोल्न माटो खोतल्यो। जसका खेत डोजरले कोतर्न पाएन, उनीहरूले पनि कुलो भत्किएपछि रोपोमा पानी लगाउन पाएका छैनन्।
‘घामले रोपो सुकिसक्यो,’ उनले भने, ‘खेत पटपटी फुटेको छ। आकाशे पानी परेको छैन।’
आफूहरूलाई कुनै जानकारी नदिकन डोजर कुदाइएको, कुलो भत्काइएको उनले बताए।
‘बाटो खन्छु भनेको भए रोपाइँ गर्दैनथ्यौं,’ उनले भने, ‘फेरि कुलो भत्काउने गरी बाटो किन बनाउनु परेको थियो र?’
कुलोमात्र होइन, सडक खन्दा तीन वटा खानेपानी आयोजनामा पनि क्षति पुगेको छ। डोजरले पाइप उधिनेपछि गाउँलेले पिउने पानी पाएका छैनन्।
तल्लो पूजारी गाउँ, तिउने, कोसेडी खेत र राजकोट गाउँका बासिन्दाको खानेपानीको स्रोत सुकेको छ। तीन दिनदेखि उनीहरूले खोलाको पानी ल्याएर पिउँदैछन्।
३१ लाखको लगानीमा बनाएको तिउने राजकोट खानेपानी आयोजना, ६० लाख लगानीमा हालै निर्माण सकिएको खापर दुधिर आयोजना र ठण्डापानी पूजारी गाउँ तिउने खानेपानी आयोजनाका पाइप सडक बनाउँदा भत्किएका छन्।
‘विकास गर्न खोज्दा विनाश आइलाग्यो। गाउँमा खानेपानीको हाहाकार छ,’ नेकपाका स्थानीय नेता तथा खापर दुधिर खानेपानी आयोजनाका अध्यक्ष प्रेम आग्रीले सेतोपाटीसँग भने।
खानेपानीको स्रोत नै सुकेपछि गाउँलेहरू पाइप माग्न सदरमुकाम पुगेका छन्।
‘गाउँले लिएर पाइप माग्न सदरमुकाम आएको छु,’ आग्रीले भने।
उनले बीच बर्खा सडक खन्ने उपर्युक्त समय नभएको बताए।
‘किसानले खेत रोप्न थालेपछि सडक खन्न हुँदैनथ्यो। खन्ने भए अलि पहिल्यै खन्नुपर्थ्यो,’ आग्रीले भने, ‘खानेपानीका पाइप तोड्ने, कुलो भत्काउने काम गतिलो होइन।’
खानेपानी कहिले आउँछ, कुलोमा पानी कहिले बग्छ? किसानलाई थाहा छैन। मानो खाएर मुरी उब्जाउन काम गर्नुपर्ने बेला उनीहरू खानेपानी र कुलो मर्मतको बाटो हेर्दै बसेका छन्।
यस्तो विवेक रित्तिएको काम कसरी भयो? बाटो खन्ने निर्णय कसले गर्यो? डोजर कसले कुदायो? स्थानीय सरकारले किन किसानसँग सल्लाह गरेन? किन समन्वय गरेन?
वडा नम्बर ६ का वडाध्यक्ष तिलकबहादुर खड्काले सडक निर्माण उपभोक्ता समिति तथा किसानबीच समन्वय नहुँदा बेमौसममा कुलो भत्काउने र खानेपानीका पाइप तोड्ने काम भएको बताए।
उनले यो सडक बनाउने योजना स्थानीय सरकारको नभएर प्रदेश सरकारको भएको पनि बताए। सडक बनाउन पहिले सर्भे भएको पनि उनले बताए।
‘कुलो र खानेपानीका पाइप काटेर अहिलेनै बाटो बनाउनु नै पर्ने थिएन,’ उनले भने, ‘प्रदेश सरकारको योजना भएकाले खासै छलफल भएन।’
उपभोक्ता समितिले खानेपानीका पाइप र कुलो बनाउन गाउँलेसँग कागज भने गरिसकेको उनले जानकारी दिए।
यो दीपायल सडक खण्डलाई दाचा जोड्ने प्रदेश सरकारको योजना हो। जिल्लाका विभिन्न ठाँउबाट राजमार्ग जोड्ने सडक बनाउने जिम्मेवारी प्रदेश सरकारको हो।
किन यति हतारमा, गाँउलेसँग बिना छलफल रोपाइँ चलिरहेका बेला सडक खनिएको होला?
असार मसान्त नजिकिँदै गएकोले हतार भएको हुनसक्ने अनुमान उनले लगाए।
‘२५ गतेभन्दा पछि कार्यान्वयनमा आएका योजनाको चेक काट्न मिल्दैन नि त,’ उनले भने।
गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकायले सडक खनेकोबारे आफूलाई आधिकारीक जानकारी नआएको बताए।
‘यो हाम्रो योजना होइन प्रदेशको बजेट हो,’ उनले भने, ‘७५ लाख बजेट आएको छ भन्ने सुनेको हुँ।’
प्रदेश सरकारले गाउँपालिकाभित्र समन्वय नगरी योजना कार्यान्वयनमा ल्याउने गरेको गुनासो उनले गरे।
‘प्रदेशले आफूखसी योजना कार्यान्वयनमा ल्याउँछ। उपभोक्ता समिति गठन गर्छ, हामीलाई कुनै जानकारी दिँदैन,’ उनले भने।
गाउँलेलाई जानकारी नै नगराई र उनीहरूको सहभागिताबिना यसरी अगाडि बढ्ने विकास आयोजनाले देशैभरि कति बजेट दुरूपयोग गरेका होलान्? कति विनास गरेका होला!