नेपाली कांग्रेसले १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्न केन्द्रीय समितिमा प्रस्ताव पेश गरेको छ।
पार्टीको संघीय विधानअनुसार संरचना तयार गरेपछि महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति शेरबहादुर देउवा सकरात्मक देखिएका हुन्।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा प्रस्ताव पेश गरेका छन्।
खड्काले केन्द्रीय समितिमा छलफलका लागि पेश गरेको प्रस्तावको दुई नम्बर बुँदामा पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाउने उल्लेख छ।
‘पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने,’ खड्काले पेश गरेको प्रस्तावमा भनिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको प्रक्रिया अघि बढाउने प्रस्ताव राख्नुपर्ने अडान राखेपछि सभापति देउवा सकरात्मक देखिएका हुन्।
सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। देउवाले पार्टी विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना कार्यकाल थप गर्न सक्छन्। तर वरिष्ठ नेता पौडेल र सिटौला महाधिवेशनको पक्षमा छन्।
दिउँसो २ बजेका लागि बोलाएको बैठक साँझ केहीबेर बसेको थियो। सभापति देउवाले वैशाख २५ देखि एक महिना ७७ जिल्लामा भएको राष्ट्रिय जागरण अभियान सफल गराएको भन्दै केन्द्रीय प्रतिनिधिलाई धन्यवाद दिएका थिए।
भदौमा सुरु हुने दोस्रो चरणको जागरण अभियान अघि पार्टीको संघीय संरचनाअनुसार संगठन बनाउने तयारीमा कांग्रेस छ। नेविसंघ, तरुण दललगायत भातृ संस्थालाई पूर्णता दिने र विभागहरु गठन गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसले जनाएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यी विषयमा छलफल गर्न असार २७ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाइएको छ।
कांग्रेसले केन्द्रीय समितिमा छलफलका लागि पेश गरेका १४ प्रस्ताव यस्ता छन्-
१. नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गर्ने।
२. पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिमव्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा।
३. विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा।
४. २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने।
५. नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने।
६. केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने।
७. नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने।
८. भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा।
९. पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा।
१०. जनसम्पर्क समितिका सम्बन्धमा।
११. स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा।
१२. तनहुँ जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा।
१३. देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ।
१४. बिविध