रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले पद र शक्ति दुरुपयोग गर्दै आफ्नै पत्नीको नाममा रहेको पशुपालन फर्मलाई अनुदान दिएको खुलासापछि पाँच नम्बर प्रदेश सरकारले भुक्तानी रोकेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषक तथा उद्यमीलाई सम्भाव्यताका आधारमा अनुदान दिन सुरू गरेको थियो।
ओमसतिया गाउँपालिकामा भने अध्यक्ष केवटले पत्नी भगवतीकुमारी थरुनीको नाममा रहेको ओमसतिया पशुपालन फर्मलाई उक्त अनुदान स्वीकृत गरेका थिए।
यस्तो निर्णयले स्रोत दुरूपयोग भएको भन्दै मन्त्रालयले अनुदान भुक्तानी प्रक्रिया रोकेको हो।
प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री आरती पौडेलले व्यावसायिक कृषक तथा उद्यमीहरूका नाममा गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीको फर्मलाई अनुदान सिफारिस गरेको फेला परेपछि भुक्तानी रोकेको बताइन्।
‘ओमसतिया पशुपालन फर्मको फाइल मन्त्रालयमा आएको छ, गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीको फर्मलाई सिफारिस गरेको पाइएकाले भुक्तानी हुँदैन,’ उनले सेतोपाटीसँग भनिन्।
प्रदेश सरकारले किसानहरूसँग सम्झौता गरी अनुदान भुक्तानी गर्न जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मा पठाउँछ। ओमसतिया पशुपालन फर्मका हकमा भने गाउँपालिका अध्यक्षले आफ्नै पत्नीको फर्मलाई सिफारिस गरेको पाइएपछि भुक्तानीका लागि कोलेनिका नपठाएको मन्त्रालयका एक कर्मचारीले बताए।
उनका अनुसार ओमसतिया पशुपालनले पेस गरेको बिलसमेत सम्झौता गरिएको फर्मभन्दा बाहिरको छ।
मागमा आधारित अनुदान कार्यक्रम मन्त्रालयको हो। यसमा किसान छनौट र प्रस्ताव स्वीकृत गर्ने अधिकार मन्त्रालयले सम्बन्धित पालिकालाई नै दिएको छ। केवटले यसैको फाइदा उठाउँदै श्रीमतीका नामको पशुपालन फर्मका लागि अनुदान लिन गाउँपालिकाबाट सम्झौता गरी मन्त्रालयमा सिफारिस गरेका हुन्।
केवटले उक्त फर्मलाई गाउँपालिकाबाट ४ लाख ७५ हजार र मन्त्रालयबाट प्राप्त हुने १५ लाखसहित १९ लाख ९५ हजार अनुदान दिने निर्णय गराएका थिए।
अनुदान कार्यक्रमका लागि भगवती थरुनीले गत वैशाख २४ गते ओमसतिया पशुपालन फर्मबाट निवेदन दिए पनि केवटले भने त्यसमा माछापालन फर्म थप गरी तोक आदेश दिएका थिए।
उनको तोक आदेशबमोजिम वैशाख २७ गते गाउँपालिका र ओमसतिया पशुपालन फर्मबीच सम्झौता गरिएको थियो। आफ्नै श्रीमती र गाउँपालिकाबीच भएको उक्त सम्झौतामा अध्यक्ष केवट आफैं रोहवरमा बसेका छन्।
यो पनि हेर्नुहोस्: