रौतहटमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गएका पूर्वप्रधानमन्त्री माधव नेपालसहित नेपाल सरकारका मन्त्रीको टोली स्थानीय नभेटी फर्किएका छन्।
मन्त्रीहरूले हेलिकप्टरबाटै निरीक्षण गरेको तर भुईंमा ओर्लिएर डुबान पीडितको पीरमर्का नसुनेको भन्दै स्थानीयले दुखेसो गरे।
‘मन्त्रीको टोली आउँछ भन्ने सुनेपछि हामीले हाम्रा लागि केही लिएर आउँछन् भन्ने आश गरेका थियौं तर हाम्रा कुरा सुन्न पनि आएनन्,’ पिपरा रजवडाका सुनरदेव पासवानले भने।
डुबानमा परेका जिल्लाको अवस्था बुझ्न भन्दै पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, प्रतिनिधि सभाको विकास तथा प्रविधिक समितिकी संयोजक कल्याणी कुमारी खड्कालगायतको टोली रौतहटको गौर नगरपालिका पुगेको थियो।
उक्त टोली सेनाको हेलिकप्टरबाट गौरस्थित इन्द्रबक्स गणमा पुगेर त्यहीँबाट फर्किएको हो। मन्त्रीको टोलीले हेलिकप्टरबाटै डुबान प्रभावित क्षेत्रको अवलोकन गर्यो।
मन्त्रीहरूले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरूसँग भने त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए। स्थानीय सुरक्षा अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउनका गर्नुपर्ने तयारी सरकारले गरिरहेको बताए।
‘विपद व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय तह स्तरमा काम अगाडि बढाएको छ’ उनले भने, ‘विपदपछिको पुनर्निर्माणमा सरकार जुटेको छ।’
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बाढीका कारण दुषित पानीले स्वास्थ्यमा गर्न सक्ने असर ध्यानमा राखेर स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने आश्वासन दिएका छन्।
‘झाडापखालाजस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रलायले तयारी गरेको छ,’ उनले भने।
ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले बाढीको जोखिमका बारेमा पूर्वसूचना दिने गरेको बताए।
केहीदिन अघि लाल बकैया र बाग्मती नदी उर्लिएर बस्तीमा पसेको बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ। बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुट्दा हजारौं परिवार विस्थापित बनेका छन्।