राहत नपाएपछि रौतहटका बाढी पीडित बिचल्ली भएका छन्। विद्यालयहरुमा शरण लिएर बसेका पीडितहरुले खाना समेत पाएका छैनन्।
दुर्गा भगवती गाउँपालिकासरस्वती माविमा बस्दै आएका सयौं परिवार खाने र बस्ने समस्याले पीडित छन्। घरमा भएको लत्ताकपडासहित भएको अन्न–बाली बगाएपछि उनीहरु विद्यालको बरन्डामा बस्दै आएका छन्।
उक्त विद्यालयमा करीव तीन सय पीडित परिवार बस्दै आएका छन्। ‘खाने समस्या छ, धेरै बिरामी पर्न थालेका छन्, औषधी उपचार छैन’ पीडितले गुनासो गरे।
विद्यालयमा भैंसी, बाख्रा, गाई पनि सँगै राखिएको छ। कक्षा कोठाहरुमा बेन्च जोडेर पीडितले रात काट्दै आएका छन्। बढी प्रभावित दुर्गाभगवती गाउँपालिका तथा इशनाथ नगरपालिकामा मंगलवार साँझसम्म पीडितले राहत पाएका छैनन्।
दुर्गा भगवती गाउँपालिकाले एक ट्रक चामल वितरणको लागि ल्याए पनि पर्याप्त हुन सकेको छैन। प्रति परिवारमा २ किलोको दरले वितरण भइरहेको गाउँपालिकाले जनाएको छ।
सो गाउँपालिकाको ५ वटा वडाका अधिकांश बस्ती बाढी र डुवानबाट पूर्ण प्रभावित छन्। इशनाथ नगरपालिकाको बन्जारहा र औरया टोलमा पनि राहत पुगेको छैन।
प्रदेश सरकारले रौतहटको लागि ३ हजार त्रिपाल पठाएको छ। ३ सय त्रिपाल दुर्गाभगवतीको बडर्वा रहेकालाई र ६ सय त्रिपाल इशनाथ नपाको बन्जराहा र औरैयाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रभावित पीडित र जिल्लाको अवस्था बुझ्न उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ लगायतको टोलीले यसअघि सदमुकाम गौर नगरपालिकामा पुगेको थियो।
टोलीमा उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, विकास तथा प्रविधिक समिति संयोजक कल्याणी कुमारी खडका, पुर्व मन्त्री प्रभु साह, राजपा नेपालका संयोजक अनिल कुमार झा लगायत थिए।
हेलिकप्टरबाट रौतहटको अवस्था बुझ्न आएको सो टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरुसँग अवस्थाबारे जानकारी लिएको थियो।
गृहमन्त्री रामबहादुर थापाले विपतबाट जोगाउनका लागि गर्नु पर्ने तयारी सरकारले गरिरहेको बताए। डुवानपछि मन्त्रीहरुले हेलिकप्टरबाटै निरीक्षण गरेको र स्थालगतरुपमा पीरमर्का नसुनेको भन्दै जनस्तरमा भने आक्रोश देखिन्छ।