रुपन्देहीको गैंडहवा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्षले मनोमानी र एकलौटी ढंगले काम गरेको आरोप लगाएका छन्।
९ वटा वडा रहेको गाउँपालिकाका ७ वटा वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा न्यायिक समितिका सदस्यहरूले गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सहमतिबिना गाउँपालिकाको निर्णय नै नगरी गाउँपरिषद् गरेको आरोप लगाएका हुन्।
वडा अध्यक्षहरूले बिहीबार पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष केवटले विगतका दुई वर्षको हिसाबकिताब समेत सार्वजनिक नगरी वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको अवमूल्यन गरेको बताए।
उनीहरूले गत वर्ष इन्धनको लागिमात्र २० लाख रुपैयाँ रकम विनियोजन गरिएको भन्दै उक्त रकम कहाँ, कसरी खर्च भयो हिसाबकिताब नदेखाइएको बताए।
वडा अध्यक्षहरू रामअजोर यादव, नरेन्द्र प्रताप सिंह, सुरेन्द्र सिंह कुर्मी, प्रदीप कुमार चौधरी, तुलबहादुर पुन, चन्द्र प्रसाद गौचनलगायतले गाउँपालिका अध्यक्ष केवटले आफूहरूको सहमतिबिना गाउँपरिषद् गरी एकलौटी रूपमा बजेट विनियोजन गरेको बताए।
गैंडहवा नेकपाका अध्यक्ष दुर्गा आचार्य र नेपाली कांग्रेसका क्षेत्रीय सभापति बसीउल्लाह मुसलमानले गाउँपालिका अध्यक्षले तानाशाही प्रवृत्ति लादेको भन्दै सरकारले गाउँपालिकाहरूको अनुगमनको लागि छुट्टै संयन्त्र बनाउनुपर्ने बताए।
उनीहरूले अध्यक्ष केवटले विकास निर्माण, तालिम गोष्ठीलगायतको नाममा आर्थिक अनियमितता गर्दै आएको समेत दाबी गरे।
अध्यक्ष केवटले गाउँपालिकामा गठन गर्ने उपभोक्ता समितिहरूमा समेत अध्यक्षले हस्तक्षेप गर्दै आएको र आफू निकटका सदस्य नभएका उपभोक्ता समितिलाई समेत वेवास्ता गर्दै आएको बताए।