कैलालीको धनगढीस्थित सहिद चोकमा बिहीबार साँझ ड्याम्म केही पड्किएको आवाज आयो। स्थानीय बासिन्दा तर्सिए।
निलम होटल नजिक पड्किएकाले स्थानीयले ग्यास सिलिन्डर पड्किएको अनुमान गरे। बिस्फोट भएको होटलमा पाँच जना घाइते र घटनास्थलबाट एउटा चाइनिज पेस्तोल बरामद भएपछि बम विस्फोट भएको प्रहरीले पुष्टि गर्यो।
विस्फोटमा घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका-१४ का रामबहादुर सिंहको उपचार क्रममा बिहीबार राति मेट्रो अस्पतालमा ज्यान गयो। उनले झोलामा बोकेको विस्फोटक पदार्थ पड्किएको हो। घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।
विस्फोटमा कार्यकर्ता राजेश भनिने रामबहादुरको मृत्यु भएको विप्लव नेकपा सेती-महाकाली ब्युरो इञ्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकालेर जानकारी गराएका छन्। सिंहलाई पार्टीले सहिद घोषणा गरेको बताउँदै उनले भनेका छन्, ‘पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सिंहको मृत्यु भयो।’
घटनामा परी घाइते चार जनाको उपचार भइराखेको छ। प्रहरीका अनुसार सिंह र लक्ष्मण सेरेला विप्लव कार्यकर्ता हुन्। घटनामा परेका केशवराज पाण्डे होटल सञ्चालक, जितेन्द्र यादव कुखुरा व्यवसायी र मोविन खान वर्कसप सञ्चालक हुन्।
‘पाँचमध्ये दुई जना विप्लव कार्यकर्ता रहेछन्। एकको मृत्यु भयो,’ एसपी सुदीप गिरिले सेतोपाटीसँग भने, ‘उनीहरूले विस्फोटक पदार्थ कता लैजाँदै थिए भन्ने खुलेको छैन। अनुसन्धान गरिराखेका छौं।’
सिंहको मृत्यु भएको र लक्ष्मण पनि घाइते भएकोले प्रहरीले उपचाररत घाइते लक्ष्मणसँग अनुसन्धान सुरु गरिसकेको छैन।
‘घटनाबारे सोध्दा उहाँ (लक्ष्मण) ले केही नबोल्ने भन्नुभएको छ,’ उनले भने, ‘उपचार भइराखेकाले धेरै सोधिखोजी पनि गरिएको छैन।’
यो घटनाको दोष विप्लव समूहले सरकारलाई नै देखाएको छ। यसको सम्पूर्ण जिम्मा केपी ओली सरकारले लिनुपर्ने विज्ञप्तिमा छ।
योलगायत पछिल्ला घटनामा आफैंले बोकेको विस्फोटक पदार्थबाट विप्लव कार्यकर्ताको मृत्यु हुने गरेका छन्।
मृत्युको श्रृंखला विप्लव समूहले फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट गराएर सुरु गरेको थियो। भौतिक संरचनामा क्षति पुर्याउने र चन्दा उठाउने नाममा विप्लव समूहले गरेको विस्फोटमा लमजुङका सिंहप्रसाद गुरुङको ज्यान गएको थियो।
ललितपुरमा विस्फोट गराएको १५ दिनपछि फेरि विप्लव समूहले बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गरे। सिलिन्डर बम विस्फोटबाट मानवीय क्षति नभए पनि गुरुङको सवारी साधन र घरमा क्षति पुगेको थियो।
बसुन्धरामा विस्फोट गराएको पाँच दिनपछि फागुन ३० मा सरकारले विप्लव समूहका गतिविधि प्रतिबन्ध लगाएको हो। त्यसपछि सरकारले विप्लवका कार्यकर्तालाई देशैभरबाट गिरफ्तार गर्न थाल्यो।
प्रतिबन्ध लगाएको दुई महिनापछि प्रहरीको गोलीले विप्लवका भोजपुर कार्यकर्ता तीर्थराज घिमिरे घाइते भए। अर्को दिन उनको ज्यान गयो। राज्यपक्षबाट विप्लवका कार्यकर्ताको ज्यान गएको यो पहिलो घटना थियो। घटनापछि विप्लव समूहले विज्ञप्ति जारी गरेर ‘जनताले बदला लिने’ उल्लेख गरेका थिए।
प्रहरीको गोलीले आफ्ना भोजपुर कार्यकर्ता घिमिरेको मृत्यु भएको विरोधमा विप्लव समूहले नेपाल बन्द आह्वान गरेको थियो। जेठ १२ गते अपराह्न सवा ४ बजे अनामनगर र सुकेधारामा एकै समयमा बम विस्फोट भए। बम बनाइराखेका विप्लव कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भयो, विद्यार्थी नेता रबीन केसी घाइते भए।
सोही दिन सुकेधारामा जीवनकुमार ठाकुरले सञ्चालन गरेको शैलुङमा विस्फोट हुँदा तीन जनाले ज्यान गुमाए। सैलुङभित्रको भान्सामा रहेका विप्लव समूहका दीपेन्द्र विश्वकर्मा, गोपाल थापा मगर र कृष्ण भण्डारी निरन्तरको मृत्यु भएको थियो।
कालिकोटका दीपेन्द्र र दाङका गोपाल दुवै विप्लवको सैन्य दस्तामा रहेर काम गर्थे। गोपाल भने विप्लव समूहका मध्य कमान्ड सैन्य ब्युरो प्रमुखसमेत हुन्। गोपाल पूर्वलडाकू पनि थिए। दीपेन्द्र भने कालिकोटमै सैन्य ब्युरो एरिया इन्चार्ज थिए। बागलुङका कृष्ण भने काठमाडौं जिल्ला सदस्य हुन्।
विप्लव कार्यकर्ताको मृत्युको श्रृंखला यतिमै रोकिएन।
असार ५ गते सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरी गोली लागेर ज्यान गयो। पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हात भाँचेपछि गोली हानेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी दल राजपा र सत्तारुढ नेकपाकै सांसदले छानविन गर्नुपर्ने बताए पनि गृहमन्त्री रामबहादुर थापाले प्रहरीसँगको मुठभेडमै पौडेलको मृत्यु भएको जवाफ दिएका छन्।
मृत्युको श्रृंखला बढ्दै गए पनि सरकार र विप्लव समूहबीच वार्ता भएको छैन। सरकारले प्रतिबन्ध पनि हटाएको छैन। जिल्ला जिल्लामा विप्लव समूहमा लागेको आरोपमा पक्राउ पर्ने क्रम जारी छ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा संविधान मानेर हत्या, हिंसा छाडेर शान्तिपूर्ण बाटोमा सिके राउत जसरी नै आएपछि मात्रै विप्लवसँग वार्ता हुने बताएका थिए।